Sunday, February 23, 2014

Yagyagaad Bhawati Parjanya

श्रीमद्भगवद्गीतामा आउने "यज्ञाद्भवति पर्जन्य:" को अर्थ के हुन्छ ? स्थूल रूपमा बुझ्दा त यज्ञ गर्दा त्यसबाट निस्केको धुँवाबाट बादल बन्छ र वर्षा हुन्छ भन्ने अर्थ लाग्ला । सानातिना यज्ञले बादल बन्लान् त ? यो अवैज्ञानिक जस्तो लाग्यो । बादलै बन्न त संसारभर एकैचोटि यज्ञ गर्न पर्ला नि ! (हुन त जापानले ध्वस्त भएको हिरोसिमा नागासाकीमा यज्ञ गरेर हराभरा बनाउनलाई भारत र नेपालबाट ब्राह्मण लग्ने कुरा पनि चलाएको थियो उहिले, पछि त्यो त्यत्तिकै सेलायो ।) यहाँ आधिभौतिक अर्थ लगाउनु श्रेयस्कर नहोला । हरिशंकर जोशी नामक विद्वानले यसको आध्यात्मिक योगपरक अर्थ निकालेका छन् । उनका अनुसार प्रत्येक तत्त्वमा प्रतिपल यज्ञ चलिरहेको हुन्छ ब्रह्माण्डीय स्तरदेखि सूक्ष्म स्तरसम्म । हाम्रो शरीरमा पनि चल्ने यो यज्ञाग्नि कहिल्यै निभ्दैन । मनरूपी हृदयको आकाशमा प्राणरूप जलमा रहेको वडवाग्नि जस्तो सतत जलिरहने अग्निका कारण निस्केको बाफबाट बन्छन् स्वच्छ निर्मल बादलरूपी यो स्थूल शरीर जसको पछाडि छ सूर्यरूपी चमकिलो आत्मज्ञानको ज्योति । यो अर्थ विचारणीय लाग्यो मलाई ।

No comments: