Sunday, February 23, 2014

On Kishor Pahadi's "Mugdha Symphony"

किशोर पहाडी दाइको "मुग्ध सिम्फोनी" भित्रका कथाले साधारण मान्छेका जीवनभोगाइलाई सरल तरिकाले प्रस्तुत गरेका छन् । छोटा कलेवरका यी कथामा बालबालिकाका दु:खपीडा, पुरुष महिला सम्बन्ध, यौनका आयाम, देशको बेथिति, गरिबका कष्ट, मातापितासँग सन्तानको सम्बन्ध लगायतका विषय परेका छन् । पहाडीका पहिलेका कथा मैले पढेकाले तीसँग तुलना गर्दा मलाई यहाँ संग्रहित कथा फितला लागे । विषय र प्रस्तुतिमा नावीन्य भेटिनँ मैले । पुरानै पाराका कथा छन् । पहाडीको विशेषता भनेको पात्र र परिवेशप्रति पाठकमा करुणा र सहानुभूति जगाउन सक्नु हो । यी कथामा पनि त्यो विशेषता त पाइन्छन् तर ती भावको उत्थान केही कमजोर लाग्छन् । अझ पहाडीको हास्यचेत त गजबकै लाग्छ मलाई र यी कथाहरूमा त्यसको अभाव खट्क्यो । कथानकका तार्किक शृंखला मिलेका जस्ता लागेनन् (प्रसंग फेरिएका जानकारी पाइन्नन्) र घटनाहरू अत्यन्तै मसिनो धागोमा बाँधिएका लागे । सम्पादनको कमीले पनि यसो हुन पुगेको होला । सम्पादनकै कुरा गर्दा वाक्यहरू टुक्रिएका छन् कतिपय ठाउँमा जसको औचित्य साबित हुँदैन । "संज्ञा" भन्ने कथाले मेरो हृदय स्पर्श गर्‍यो भने अन्य कथाले सम्भावनामात्र देखाए । "संज्ञा" मा वृत्त र रेखाका दार्शनिक चर्चा मन परे । "कथा अनन्त" मा अनन्त किन यति धेरै क्रूर छ आफ्नो छोरोप्रति भन्ने कुरा खुल्दैन । "फेसबुक" मा जुही थापाको कथालाई अनुवाद मात्र गरिएको छ, आफ्नो व्याख्या छैन । "मुग्ध सिम्फोनी" भनेको के हो ? सिम्फोनी आफैँ मुग्ध छ कि श्रोता सिम्फोनीमा मुग्ध छ ? कि त्यो कथावाचक घर मुग्ध छ सिम्फोनीमा ? "समय सहचर" मा आएको "त्यस्तो अँध्यारो भएपनि टाङ्टाङ टुङ्टुङको आवाज चाहिँ प्रस्ट आइरहेको थियो" भन्ने आशयको वाक्य अचम्मको छ । अँध्यारोमा आवाज सुन्न त के व्यवधान होला र ?

No comments: