स्वस्थानीको कथामाथि चर्का बहस हुन थालेका छन् अचेल । नारीको शोषण गर्ने शिक्षा दिन्छ यसले भनेर यसको विरोध गर्छन् एकथरी भने यसको विरोधका नाममा धर्म संस्कृतिमाथि आक्रमण गर्न हुन्न भन्छन् अर्काथरी । (आस्थाका ग्रन्थलाई तार्किक कसीमा राखेर बहस गर्नु सकारात्मक नै हो ।) नारीप्रति अभद्र भाषा ("मायाले तुल्याइएकी स्वास्नीलाई बाटामा मिल्काई आएँ") र कठोर नैतिक आचरणको अपेक्षा ("लोग्नेलाई खान नदिई आफैँ खाने आइमाईले लोग्नेको रगत खाएको जस्तो हो") लाई किमार्थ जायज मान्न सकिन्न । पतिले पत्नीको सतत शारीरिक र मानसिक परीक्षा लिइरहने अनि पति आफू चाहिँ जतिसुकै अपराध गरेपनि पूज्य नै रहने आशयका कथाहरूले नारीप्रतिका विभेदलाई छताछुल्ल पार्छन् । यसो किन भयो भने यस्ता ग्रन्थ लेख्ने पुरुष नै थिए र उहिलेको समाजको मान्यतालाई उनीहरूले देवकथामा आरोपित गरेका हुन् । अझ नारीशक्तिप्रति भारतवर्षीय पुरुषको मान्यता सदा विभाजित छ । देवीको ममतामयी वत्सल छविका साथसाथै रौद्र स्वरूपलाई सामन्जस्य गर्न यताका पुरुषलाई सधैं हम्मे परेको देखिन्छ । आफू बुझ्ने भएपछि बालकले माताको वत्सल स्वरूपलाई निष्क्रिय मानेर पितासँग आत्मसात गर्ने अनि डरलाग्दो स्वरूपलाई चाहिँ नियन्त्रण गर्ने सोच विकसित गर्छ भनी भारतीय मनोविश्लेषकहरूको निष्कर्ष छ । यही नियन्त्रणको सोचले शोषणकारी विचारलाई जन्म दिन्छ । स्थूल रूपमा हेर्दा कथानकको सीमित समयावधिमा नारीमाथिका धार्मिक/नैतिक शोषणलाई, दु:ख दिएको कुरालाई स्वस्थानीका कथाले दर्साउँछन् र यसैलाई आलोचकहरूले पक्रेको देखिन्छ तर पछि ती नारीहरू "आनन्दले रहँदा भए" लाई कसैले वास्ता गरेको पाइन्न । खैर, देवीको आख्यान पनि पुरुषले बनाएका हुनाले शक्तिशाली नारीको शोषणरहित कथाको अभाव भएको हो । यसमा नीरक्षीर विवेक अपनाउनु आवश्यक छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment