Sunday, February 23, 2014

Remembering Lord Krishna and Rukmini in Valentine's day

आज भ्यालेन्टाइन डे भन्छन्, प्रेम दिवस रे । प्रेमका लागि दिवस नै चाहिने त होइन तर बजारले उपहारलगायतका सामान बेच्नलाई यसको भरपूर उपयोग गरिरहेछ । उहिल्यै भ्यालेन्टाइन भन्ने पादरीले प्रेमका लागि बलिदान दिएको सम्झनामा मनाइने भनिएको यो दिवसमा हाम्रा पौराणिक ग्रन्थमा आएका प्रेमप्रसंग सम्झिनु वाञ्छनीय लाग्दैछ मलाई ।

श्रीमद्भागवतको दशमस्कन्धको उत्तरार्धको ५२ औं अध्यायमा रुक्मिणीले भगवान् श्रीकृष्णलाई एकब्राह्मणमार्फत पठाएको प्रेमसन्देश सातवटा श्लोकमा उल्लेखित छ । भगवानको रूप, गुण, शीलको महिमा सुनेपछि रुक्मिणीमा पलाएको प्रीतिलाई यी श्लोकले प्रकट गरेका छन् । पहिलो श्लोक हेरौं :

श्रुत्वा गुणान् भुवनसुन्दर शृण्वतां ते
निर्विश्य कर्णविवरैर्हरतोङ्गतापम् ।
रूपं दृशां दृशिमतामखिलार्थलाभं
त्वय्यच्युताविशति चित्तमपत्रपं मे ।।३७।।

अर्थात्, हे संसारकै सुन्दरतम प्रभु ! हजुरका गुण, जसले सुन्ने मानिसहरूको कानको बाटो भएर हृदयमा प्रवेश गरी प्रत्येक अंगका ताप तथा जन्मजन्मान्तरका जलनलाई शीतल बनाउँछन् अनि त्यो रूपसौन्दर्य, जुन जीवका आँखाका लागि चारै पुरुषार्थका फल एवं स्वार्थ परमार्थ सबै हुन्, ती गुण र त्यो रूपका बारेमा सुनेर प्रिय अच्युत ! मेरो चित्त लाज, सरम सबैलाई त्याग गरी हजुरमा नै प्रवेश गरिरहेको छ ।

त्यसैगरी अन्य श्लोकमा शिशुपालसँग जबर्जस्ती विवाह गर्न लागिएकी रुक्मिणीजीले भगवानलाई पुकार्दै आफूसँग विवाह गर्नका लागि बिन्ती गर्नुभएको छ ।

यो सन्देश सुनेपछि भगवान् भन्नुहुन्छ : (५३ अध्यायमा)
तथाहमपि तच्चित्तो निद्रां च न लभे निशि ।।२।।

अर्थात्, जसरी रुक्मिणी मलाई चाहन्छिन् त्यसैगरी म पनि उनलाई चाहन्छु । मेरो चित्त उनमा नै लागिरहन्छ । मलाई रातमा निद्रा पनि लाग्दैन ।

प्रेमस्वरूप भगवान् र रुक्मिणीजीको यो प्रीतिप्रसंग आजका दिनमा सान्दर्भिक छ ।

No comments: