Sunday, February 23, 2014

Male-female dynamics

आदिम कालको इतिहास पढ्दा अनेकौं रमाइला तथ्य फेला पर्दैछन् । आदिम समाजमा लोग्नेमानिस महिलासँग डराउने र उनको अधीनमा हुने रहेछ । लियोनर्ड श्लाइनको पुस्तक "सेक्स, टाइम यान्ड पावर" मा उल्लेख भएअनुसार महिलामा हुने मासिक रक्तश्राव तथा गर्भधारणको रहस्य बुझ्न नसकेर पुरुष उनीसँग त्रसित हुने कुरा लेखेको छ । रक्तश्रावका बेला यौनसंपर्क गर्दा रगतले लतपत भएको आफ्नो लिंग देखेर पुरुष भयभीत हुन्थ्यो किनकि उसमा रहेको लिंगच्छेदन (कास्ट्रेसन) को डरलाई यसले मजबुत बनाउँथ्यो । उसले लिंगलाई सन्तानोत्पादन अंगको रूपमा नबुझेर आनन्दप्रदायक अंगको रूपमा बुझ्थ्यो र यो आनन्दस्रोतलाई गुमाउन चाहँदैनथ्यो । आफूले वीर्यरोपण गरेर महिलाको पेटमा भ्रूण बन्न पुगेको नबुझ्ने पुरुषले महिलाप्रति डरमिश्रित श्रद्धा राख्थ्यो अनि त्यतिखेर जैविक पिताको खासै महत्त्व पनि थिएन । महिलाले पुरुषलाई सजिलै इन्कार गर्न सक्थे । श्लाइनका अनुसार आफ्नो वीर्यको महत्त्व थाहा पाएदेखि नै पुरुषले महिलामाथि आधिपत्य जमाउन थाल्यो र आफ्नो सन्तान भनी विचार/रखवाली गर्न थाल्यो । पहिला आफू डरमा बसेको बदला पुरुषले अहिलेसम्म पनि महिलासँग लिइरहेको छ भन्छन् श्लाइन । महिलामाथिका अत्याचारमध्येको सबभन्दा दुर्दान्त अपराध बलात्कारको उद्देश्य यौनतृप्‍ति मात्र होइन, सन्तानप्राप्ति मार्फत पुरुषत्व स्थापित गर्नु हो भनी "द एनाटोमी अफ भायलेन्स" भन्ने पुस्तकमा एड्रियन रायनले समेत उल्लेख गरेका छन् । तर यसमा सन्तानप्राप्तिको सुनिश्चितताको शतप्रतिशत सम्भावना हुने त हैन ।

No comments: