भगवान् श्रीकृष्णको रासलीलाका अनेकौं अपव्याख्या गरिएका पाइन्छन् । यसलाई आधुनिक स्थूल मस्तिष्कले यौनक्रीडा भन्ने बुझे पनि रास भनेको सुन्दर नाच हो । रातको समयमा घर छोडेर जंगलमा श्रीकृष्णसँग विहार र उहाँको दिव्य अंगप्रत्यंगलाई अपलक निहारेको कुरालाई हामीजस्ता अदनाले बुझ्ने नै यौन भनेर होला तर पुराण तथा काव्यहरूमा यसको संकेत भेटिँदैनन् । "महाभारत" को "हरिवंश" मा (विष्णुपर्वको २० औं अध्यायमा) रास भनेको गीत गाउने, नाच्ने र वनविहार गर्ने क्रियाकलाप हो भनी उल्लेख गरिएको छ । भासको "बालचरित" मा कृष्ण र गोपिकाहरूको नाचलाई "हल्लीष" भनी चर्चा भएको छ । यो भनेको गोलाकार भएर ८, १६ वा ३२ व्यक्तिको समूह भई नाच्ने हो । आप्टेले संस्कृत शब्दकोषमा "हल्लीष" को अर्थ गीत गाउँदै गोलाकार भएर नाच्ने जसमा एकजना पुरुष र दसजनासम्म महिला संलग्न रहन्छन् भनी गरेका छन् । नृत्य ललितकलाको सर्वोच्च विधा हो किनकि नृत्यमा नर्तक र नाचको तादात्म्य हुन्छ, यी दुईको पार्थक्य हुन सक्दैन । आफूलाई भगवानमा पूर्ण समर्पण गरेका गोपीहरूले नृत्यमा प्रियतमसँगको तादात्म्य भेटेका हुन् रासमा भन्ने बुझ्छु म । (बाललीला हो रास, किशोर लीला हैन, शारीरिक अवस्था पनि त विचारणीय छ ।)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment