हाम्रो वेदमा आउने सोमरस/सोमपान शब्दलाई मदिराको रूपमा व्याख्या गर्नेहरू शठ हुन् । अहिलेका जँड्याहाले जिस्केर सोमरस भन्ने गरे पनि सोम भनेको जाँडरक्सी वा लागुपदार्थ हैन । यो कुनै जडीबुटी पनि हैन । एकजना भारतीयले यसलाई जडीबुटी ठानेर यसको खोज गर्न गएको अनुभव समेटेर अंग्रेजीमा पुस्तक पनि निकालेको थियो । बिचरोले के हो के हो थाहा नपाएर रनभुल्लमा परेको देखिन्थ्यो पुस्तकभर । कुनै ठोस निष्कर्ष दिनसकेको थिएन त्यसले । ऋग्वेदमा आउने "यदि चेदहमपां सोमं तदा पीता सोमविन्दवो मां तीव्रगतिकाश्वोरथमिवोर्ध्व शीघ्रमगमयन्" अर्थात् यदि मैले सोमको पान गरेँ भने ती सोमका थोपाले मलाई तीव्र गतिका घोडाले रथलाई बेपत्ता कुदाएजस्तो माथितिर उडाएर लगून् भन्ने ऋचाको स्थूल र गलत अर्थ लगाएर सोम पिएपछि "ट्रिप" भएको हो भन्लान् कसैले । तर ऋग्वेदमै "सोमं मन्यते पपिवान् यत्सम्पिशन्त्योषधिम् । सोमं यं ब्रह्माणो विदुर्नतस्याश्नाति कश्चन: ।। आच्छद्विधानैर्गुपितो बार्हतै: सोम रक्षित: । ग्राव्णमिच्छ्रिण्वन्तिष्ठसि न हि ते अश्नाति पार्थिव: ।।" अर्थात्, जो मानिस जडीबुटीलाई घोटेर रस निकालेर सोमपान गर्यौँ भन्ने सोच्छन् तिनीहरूको यो भूल हो । ब्राह्मण दार्शनिक ऋषिगण जेलाई सोम भनेर अनुभूत गर्छन् वा जान्दछन् त्यसलाई त कसैले पनि खाने पिउने गर्न सक्दैन, अनुभूति मात्र गर्न सकिन्छ त्यसको । सोमको रहस्य त वेदका गूढ अर्थमा निहित छन् । सिलौटोमा घोटेर रस निकाल्दै खाने भनी बुझ्ने अदना मान्छेहरूले केही बुझेकै छैनन् । यति भन्दा भन्दै पनि पिउने कुरा त आएको हुनाले के चाहिँ पिइन्छ त भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । खास पिउने त्यो सोम जलरूप प्राणलाई तपस्यामार्फत शरीराग्निले तप्त गराएर निकालिने दिव्य पदार्थ हो र त्यसको सेवनबाट ब्रह्मानन्दको अनुभूति गर्छन् योगीजनले । समुद्रमन्थनबाट अमृत निस्केको र देवताहरूले पिएको पौराणिक कथा शरीरमन्थनबाट सोम निस्केको र त्यसको योगीहरूले पान गरेको दर्शनलाई नै कथाको आकार दिइएको हो भनी बुझ्नुपर्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment