मण्डला नाटकघरमा चलिरहेको नाटक "मितज्यू" हेरेर आइयो । ठीकै मात्र लाग्यो । एकजना किराँती र अर्को माझी पात्रले बुढेसकालमा आफ्ना जवानीका दिन सम्झेको बारेमा बनेको हो यो नाटक । कथा खासै छैन । जवानीमा असाध्यै क्रोधी हर्कबहादुर चेम्जोङले जाँड खाएको सुरमा रामबहादुर माझीसँग झगडा गरेर काटमार गर्न लाग्दा उनीहरूभन्दा जेठा अच्छाबहादुरले दुवैलाई मित बन्न लगाउँछन् र उनीहरू सदाका लागि साथी बन्छन् । दुवैले बिहा गर्दैनन् । बुढेसकालमा पनि काम गरिरहन्छन् । उनीहरूबीचको सम्बन्धका आयाम फराकिला छैनन् । "मेल बन्डिङ" का गहिराइ पाइन्नन् यिनमा । एक अर्कालाई कुनै प्रकारको सम्बल प्रदान गर्ने कुरालाई नाटकमा गौण बनाइएको छ । अनि विजातीय सम्बन्धका डाइनामिकलाई नाटकले खोतल्न सकेको छैन । हर्कलाई आफूले मन पराएकी केटी मनमाया नपाएकोमा पीर छ तर रामबहादुरको इच्छा प्रस्ट छैन । आफू मरेर गएपछि अरुले आफ्नो सम्झना राखून् भन्ने उनीहरूको कामना छ र त्यसका लागि उनीहरू भउते परियारको सहयोगमा च्याब्रुङ र नाउ बनाउन कस्सिएका छन् । नाटकमा पूर्वीय नेपालको किराती संस्कृति (नाच, भेषभूषा, बोलीचाली)यथार्थपरक तवरले देखाइएको छ । हास्यचेतले पूर्ण छ नाटक । किराँती पुरुषहरू लाहुरे बन्न जाने कुरालाई पनि उठाइएको छ । तर यी सबै पक्षलाई एकजूट गर्ने बलियो कथा भने नाटकमा नहुनाले मलाई यसले त्यति आकर्षित गर्न सकेन । मंच परिकल्पना भने राम्रो लाग्यो । पहाडका थुम्काको आभास दिन्छ मंचले ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment