Thursday, November 13, 2014

Talakjung vs Tulke टलकजंग भर्सेस टुल्के

"टलकजंग भर्सेस टुल्के" हेरियो । ठीकै लाग्यो । बतासे कथा बोकेको चर्को मेलोड्रामा बन्ने सिनेउद्योगमा यथार्थको नजिक रहेको, स्थानीय भाषाशैली पक्रेको फिल्मलाई प्रोत्साहन गर्नु पर्छ तर फिल्म अझै राम्रो हुन सक्थ्यो जस्तो लाग्यो । लु सुनको कथा "द ट्रु स्टोरी अफ आह क्यु" को नेपाली संस्करण भनिएको यो फिल्मको कथा अनुवादमा आफ्नो गहिराइ गुमाउन पुगेको अनुभूत हुन्छ । खगेन्द्र लामिछानेले लेखेको कथामा धेरै छिद्र छन् । मुख्य कुरा त कथा सलल बगेको छैन । कमीकमजोरीको  रौचिरा विश्लेषण गर्न थाल्दा कथाको ठूलो अंश नै भन्नुपर्ने हुँदा हेर्न मजा आउँदैन, त्यसैले त्यता नलागौं । द्वन्द्वको सतही चित्रण छ कथामा । तर लामिछानेको  अभिनय उम्दा छ । पूरै बाँचेका छन् उनी चरित्रमा । अन्य कलाकारको अभिनय पनि राम्रो छ । "लुट" मा निश्चल बस्नेतको स्टाइलिस निर्देशन थियो, यसमा त्यस्तो वाह भन्न लायक खासै काम भेटिनँ । शीर्षकको सार्थकता भेटिन्न (अन्तिममा "फुली" पात्रले व्याख्या गर्न खोजे पनि त्यो कमजोर छ) । एकचोटी हेर्दा हुने तर हलबाट निस्केपछि बिर्सिइने फिल्म लाग्यो मलाई !        

Sunday, November 9, 2014

Saurabh's "Asahamati" सौरभको "असहमति"

सौरभको नयाँ पुस्तक "असहमति" पढेर सिध्याएँ ।  बुझ्नै गाह्रो ।  धेरै सूचना खाँदाखाँद हुन्छ प्रत्येक लेखमा । तैपनि यसो बुझ्न खोज्दा सौरभले वनस्पति र जीवजन्तु (फ्लोरा यान्ड फौना) लाई आधार बनाएर इतिहासको मूल्यांकन गर्ने रहेछन् । अनि शब्दको उत्पत्ति कसरी भयो होला भन्ने कुरा गम्दै कुनै पनि घटनाको प्राचीनता/अर्वाचीनता खुट्ट्याउन खोज्छन् । यो क्रममा उनी भारतवर्ष र चीनको प्राचीनता र पश्चिमको आधुनिकतालाई पुन:स्थापित गर्दछन् अनि नेपाल राज्यको विश्वसभ्यतामा योगदानको चर्चा गर्न पुग्छन् । आधुनिक समाजले भुलिसकेको राष्ट्रिय गौरवलाई सम्झाउने सौरभको प्रयास प्रशंसनीय छ । तर उनका दाबीलाई "भेरिफाइ" गर्नलाई आफ्नो अध्ययन पनि त्यति नै व्यापक हुनुपर्यो, जो मलगायत धेरैमा छैन । त्यसैले उनका लेखमा आएका पाठक प्रतिक्रिया त्यति गहन नभएका होलान् (जुन यस पुस्तकमा समावेश गरिएका छन्) । नेपालको राजनीतिक तरलताको फाइदा उठाउन खोज्दै  पश्चिमले लाद्न  खोजेको जातीय विद्वेष र त्यसको मतियार बनेका दलका नेताप्रति उनको  तीव्र कटाक्ष छ । तर यी सबै कुरा सहज तरिकाले पनि लेख्न सकिन्थ्यो होला, यस्तो "सिजोफ्रेनिक" शैली उनी किन अपनाउँछन् खै ?