अश्विन संघीको अंग्रेजी उपन्यास "द कृष्ण की" (कृष्ण साँचो) अतीतमुखी हिन्दु अवधारणालाई पुनर्पुष्टि गर्ने थ्रिलर उपन्यास हो । वर्तमान र भविष्यभन्दा हाम्रो अतीत नै महान् थियो र हाम्रा पुर्खाले अहिले देखिएका वैज्ञानिक चमत्कार पहिल्यै गरिसकेका थिए तथा सबै कुराको स्रोत भारतीय सभ्यता नै हो भन्ने दाबी यो उपन्यासले गर्छ । यो दाबी सत्य हुनसक्छ तर अतीतमोह तथा वर्तमानप्रति उदासी हामी हिन्दुको कमजोरी हो भन्ने लाग्छ मलाई । अतीतका गौरवशाली आविष्कारको वर्तमानमा कसरी सदुपयोग गर्ने भन्नेमा हाम्रो ध्यान जानु जरुरी छ, न कि स्तुतिगानमा आफूलाई सीमित गर्नु । भगवान् कृष्णको स्यमन्तक मणिमा न्युक्लियर क्षमता थियो र त्यो अहिले कहाँ छ भन्ने खोज उपन्यासको चुरोका रूपमा रहेको छ । गलत हातमा पर्दा यसले विनाश ल्याउने हुनाले उपन्यासका असल पात्र इतिहासका प्राध्यापक रविमोहन सैनी, प्रहरी निरीक्षक राधिका सिंह र सहायक निरीक्षक राठौरले खराब पात्र सर खान, प्रिया, तारक वकिल र सुनिल गर्गलाई रोक्ने प्रयास गर्नुमा उपन्यासको द्वन्द्व केन्द्रित छ । तारक वकिललाई माताजी उर्फ प्रियाले कल्की अवतारका रूपमा लिई भगवान् कृष्णको अस्तित्व खोजी गर्ने अतीतमुखी प्रवृत्तिका छेदी, कुरकुडेलगायतका वैज्ञानिकहरूको हत्या गर्न लगाउँछे । सैनीमाथि यी हत्याको गलत आरोप लाग्छ र उसले आफूलाई पछि निर्दोष साबित गर्छ । घटनाहरू गुजरात, राजस्थान, कैलाश मानसरोवर, सोमनाथ, आग्रालगायतका स्थानमा हुन्छन् । तीव्र गतिले घटनाक्रम विकसित हुन्छन् तर बीचबीचमा सैनीका लामा लेक्चरले स्पिडब्रेकरको काम गर्छन् र यी लामा गफलाई अन्य पात्रले समेत मन पराउँदैनन् । लेखकले अनुसन्धान त मजैले गरेका रहेछन् उपन्यास लेख्नका लागि । पढुन्जेल पट्यार लाग्दैन र अनेकौं तथ्य पनि थाहा पाइन्छ । शब्द उलटपुलट गर्ने एनाग्राम प्रयोग गरिएको छ । "द दा भिन्ची कोड" उपन्याससँग अत्यधिक मिलेकोले चाहिँ लेखकको बेइमानी झल्कियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment