मोहन मैनालीको नियात्रा पुस्तक "उपल्लो थलो" ले गोर्खा जिल्लाका माथिल्ला दुर्गम भूभागमा बस्ने नेपालीहरूको जीवनशैली, संस्कृति, दु:खसुख आदिको बारेमा सरल तरिकाले वर्णन गरेको छ । त्यहाँका बासिन्दाको समस्याका बारेमा भिडियो खिचेर "आँखीझ्याल" भन्ने कार्यक्रममा देखाउने र "टिम्बर टु तिब्बत" भन्ने डकुमेन्ट्री पनि बनाउने हिसाबमा मैनाली अन्य सहकर्मीहरूसँग तीनचोटि त्यता गएका बेला देखेका कुरा यहाँ वर्णित छन् । पूलपुलेसा, बाटो, संचारको अभावले यो क्षेत्र देशबाटै अलग जस्तो भएको छ । दुर्गम क्षेत्रका तिनै समस्या नेपालभर छन् । पशुपालन र काठ व्यापार यहाँका मुख्य पेशा रहेका छन् । तर औषधोपचारको अभावमा पशु मर्ने र किसानलाई रोजीरोटीकै अभाव हुने रहेछ । नेपाल र तिब्बतका बीच हुने व्यापार विनिमयमा आश्रित छन् यहाँका बासिन्दा । तर यसमा व्यापार घाटा छ किनकि नेपालबाट दु:ख गरेर लगेको महंगो काठ उता बेचेर थोरै मात्र अन्न आउने रहेछ । यही कारण तीव्र वनफँडानी समेत भैरहेको छ । वनफँडानीको राजनीतिक अस्थिरतासँग गहिरो सम्बन्ध छ भनी मानवशास्त्री ज्यारेड डायमन्डले भनेको कुरा यहाँ याद आउँछ । यही अस्थिरतामा जन्मेको माओवादी सशस्त्र विद्रोहको छाँया यो भेगका मानिसमा समेत परेको छ र उनीहरू त्रस्त छन् । छेवाङ ग्याल्जेनजस्ता राम्रो काम गर्ने तर फरक आस्थाका मानिसले माओवादीको डर मान्नुपर्ने स्थिति छ । जातीय भेदभाव चरम रूपमा रहेको यो ठाउँमा सरकारको उपस्थिति न्यून छ । सरकारी कर्मचारीहरू काम नगरी भाग्ने, सदरमुकामतिरै बसिरहने तर तलब चाहिँ लाजै पचाएर थाप्ने कुप्रवृत्ति छ । अझ गाउँगाउँमा खोप लगाउन गएका स्वास्थ्य कर्मचारीले दिउँसै बेस्सरी रक्सी धोकेर खोपै नलगाएको विवरण पढ्दा कन्सिरी तातेर आउँछ । गाउँलेहरूका अनेक समस्या पढ्दा टीठ र सहानुभूति जागेर आउँछ । यी यावत् विकृतिका बाबजुद त्यस ठाउँको सौन्दर्य मनोहारी छ र मैनालीले यसको वर्णन धक फुकाएर गरेका छन् । लुम्ला खोलाको छेउमा फुलेका फूलहरूको वर्णनदेखि लिएर लार्के भञ्ज्याङ र नारायण तालका विवरण मीठो तवरले दिइएको छ । लेक लागेर लार्के भञ्ज्याङमा आफ्नो र साथी ध्रुवको मृत्युको प्रतीक्षा गरेको र पछि उद्धार भएको रोमान्चकारी अनुभूति मैनालीले सशक्त रूपमा शब्दमा पोखेका छन् । पुस्तकको अन्तिम भागमा मानसरोवर जाँदाको यात्रानुभूति र नेपाल/भारत/तिब्बत सीमानामा हुने बाघको चोरीसिकारी र व्यापार, सहतुसको अवैध व्यापारको वर्णन पनि रमाइलो छ । पुस्तकको कमजोरी चाहिँ हिज्जेमा देखियो । गतिलो भाषा सम्पादक भेटिएनछ । तर मैनालीले सरल र सहज भाषा प्रयोग गरेको अनि बीचबीचमा गजबका ईक्षण गरेको प्रशंसनीय छ । जस्तो पेज ९२ मा दुईटा भेडाको लडाइँको वर्णन गर्दै उनी भन्छन्, "लड्ने भेडाहरूले पनि आफू लड्दा अरूलाई दु:ख दिएका थिएनन् । लडाइँबाट टाढा बस्न खोज्नेले बढी भुक्तमान खप्नु पर्ने मान्छेको जस्तो थिएन त्यो लडाइँ ।" देशमा चलेको द्वन्द्वमा अनाहक पिल्सिएका सर्वसाधारणको अवस्थाको कति राम्रो तस्बिर खिचेका मैनालीले ? यो नेपालीको पढ्न छुटाउन नहुने पुस्तक हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment