Monday, December 16, 2013

Sharada Sharma's "Samayako Tasweer"

शारदा शर्माको पछिल्लो पुस्तक "समयको तस्वीर" अखबारमा पूर्वप्रकाशित लेखहरूको सँगालो मात्र  भएकाले हल्का निराशा छायो ममा । धेरजसो लेख पहिल्यै पढिसकेकाले नयाँ किताब किन्नुको औचित्य साबित हुन सकेन जस्तो लाग्यो । सबभन्दा धेरै "कान्तिपुर" दैनिकमा प्रकाशित यी लेखले राजनीति, साहित्य, अध्यात्म दर्शन, बेरोजगारी, मृत्‍युलगायतका विषयलाई छोएका छन् ।

यी लेखहरू पढ्दा मानवीय सीमितता शर्माको लेखोटको सार हो जस्तो देखिन्छ । "म जान्दिनँ" र  "मैले बुझेको छैन" जस्ता सीमास्वीकारोक्तिहरू धेरै लेखमा पाइन्छन् । जस्तो, "गुरुवन्दना" भन्ने लेखमा "हामी प्राय: एउटै गुरुमा पूर्णता खोज्ने गर्छौं र पटकपटक निराश हुने गर्छौं ।" (पेज १९०) यो वाक्यले मानवको सीमा बुझ्नुपर्ने तर मानवले आफ्नो सीमा नाघ्ने कोसिस गर्ने कुरालाई सुन्दर तरिकाले बताइएको छ । अनि संसारको सीमा नाघ्ने    शर्माको मोक्षाकांक्षा त पूर्वप्रकाशित पुस्तक "अग्निस्पर्श" मा देखिएकै हो । यहाँ पनि "डाडुको चेतना" भन्ने लेखमा "डाडुभन्दा माथि उठ्ने पात्रता मलाई कहिले उपलब्ध हुन्छ?" भन्ने प्रश्नले यो भाव मुखरित गरेको छ । ज्ञानलाई अन्तर्यमा समाहित गर्न नसकेको व्यक्तिका लागि प्रयुक्त डाडुको रूपक मजाको लाग्यो । यस्तो अलंकार चेत अन्य वाक्यमा पनि पाइन्छन् ।

मानवीय पीडालाई बिम्बित गर्ने शर्माको कला "नयाँ मेच" भन्ने लेखमा सफल देखिन्छ जब उनी आफ्ना मामा घनश्यामको दुर्घटनामा निधन भएपछि अस्पतालमा पुग्दा पछि माइजु आएर गरेको विलापको वर्णन गर्छिन् । "उहाँ रुन थाल्नुभयो" मात्र भन्दा पाठकमा  सहानुभूतिपूर्ण करुणा  उत्पन्न नहुन सक्छ तर "मेरो राजा ! मलाई छोडेर कहाँ जानुभयो नि मेरो राजा ? तपाईंलाई केही भएकै छैन" (पेज १४०) भनेर विस्तारमा वर्णन गर्दा घना कारुण्य उत्पन्न हुन्छ । आह्लादकारी वाक्य धेरै छन् लेखहरूमा (विमोचनमा डा. सुधा त्रिपाठीले "मन्त्र वाक्य" भनेको अतिशयोक्ति हैन) । "रचनात्मक गफ" भन्ने लेखमा आएको "अनुपयुक्त जागिरले कतिपय मान्छेको रचनात्मकतालाई पनि समाप्त पार्छ" (पेज २३५) भन्ने कुरा मैले अहिले ठ्याक्कै अनुभव गरिरहेकाले मलाई एकदमै छोयो यसले ।  

"छायाँ राजनीति" शीर्षक खण्डमा   राखिएका लेखमा नेपालको बुझिनसक्नुको राजनीतिलाई एक सचेत नारी र राजनीतिकर्मीकी पत्नीको आँखाबाट अवलोकन गरिएको छ । मलाई यी टिप्पणीहरू अल्लि स्थूल लागे र त्यति मन परेनन् किनकि मैले शर्माको छवि गहिरो लेख्ने स्रष्टाका रूपमा बनाइसकेको छु । अखबारमा छिटोछिटो लेख बुझाइहाल्नुपर्ने भएकाले सर्सर लेखेर पठाइएको हुनसक्छ, पुस्तकमा राख्न छनोट गर्दा विचार पुर्याएको भए हुन्थ्यो जस्तो लागिरह्यो । तर कांग्रेस नेताकी पत्नी भएर पनि आफ्नो स्वतन्त्र विचार अभिव्यक्त गर्न नहिच्किचाउने र मताग्रह नराख्ने उनको दृढता प्रशंसनीय लाग्यो । नरहरिजी चाहिँ बढी नै दोहोरिए लेखहरूमा । दोस्रो खण्ड "शब्दसौन्दर्य" का निबन्ध भने तुलनात्मक रूपमा मन परे किनकि तिनमा चिन्तन र अध्यात्मको गहिराइ  भेटिन्छ । आफूले पढेका पुस्तक र सुनेका प्रवचनको सार खिच्न सक्ने तथा जीवनोपयोगी शिक्षा ग्रहण गर्नसक्ने   उनको प्रतिभा नमनीय छ । शर्मा तर्कलाई सुललित गद्यमा प्रस्तुत गर्ने बलशाली लेखिका हुन् ।

No comments: