थिएटर भिलेजमा देखाइएको महिला हुनुको अनुभवसम्बन्धी अंग्रेजी (नेपाली र हिन्दी भाषा पनि बीचबीचमा रहेको) नाटक "टेलिङ अ टेल : किचन ड्रामाज" हेरियो । केही समयअघि अर्चना थापाको सम्पादनमा निस्किएको पुस्तक "टेलिङ अ टेल" मा सन्निहित विभिन्न नेपाली नारीका जीवन भोगाइका कथालाई डेबोरा मेलोराले नाटकमा उतारेकी हुन् । दुई भाग (याक्ट) मा रहेको र दुई घन्टा अवधिको यो नाटकमा दसवटा कथा प्रस्तुत भएका थिए । तिनैतिनै कलाकारले विभिन्न कथामा अभिनय गरेका थिए । "टेलिङ अ टेल" किताब नपढेकाले नाटक हेर्दा कतिपय कथा बुझ्न गाह्रो भयो । "किपिङ अप अपियरेन्सेस" भन्ने कथाले देखाउन खोजेको कुरा बुझ्नै सकिनँ मैले । सगुना शाह दिदीको कथा "मेमोआर अफ अ सानो महारानी यान्ड र पेन विदिन" चाहिँ पढेको भएर पनि होला अनि सगुना दी, राजकुमार पुडासैनी, बिना गुरुङलगायतको बेजोड अभिनयका कारण घतलाग्दो बन्नपुगेको छ । गैरव्यवसायिक कलाकार भइकन पनि सगुना दीले राम्रो अभिनय गर्नुभयो । सायद आफ्नै जीवन कहानीमा उहाँलाई सजिलो भएको होला । पीडालाई बखुबी उतार्नुभयो अभिनयमा । स्मृति रविन्द्रनको कथा "मदर्स" चाहिँ नाटकभरिकै सबभन्दा उत्कृष्ट कथा लाग्यो र पागल हजुरआमाको भूमिका निर्वाह गर्ने बिना गुरुङले अत्यन्तै प्रशंसनीय अभिनय गरिन् । मलाई त सन्न भएर आयो उनको अभिनय हेरेर । अर्को मन परेको कथा आभा एलीको "सेकेन्डह्यान्ड लाइज" हो । बिनिता बरालले पीडित पत्नी र दिव्यदेव पन्तले पीडक पतिको भूमिका गजबले देखाए । तर पति किन पीडक हुन पुग्यो भन्ने चाहिँ नखुलेकोमा असन्तोष लाग्यो । अन्य कथा ठीकठीकै लागे तर भन्नैपर्दा "चुंगी इन युएस" चाहिँ सबभन्दा कमजोर लाग्यो । महिलाको अनुभवभन्दा पनि आप्रवासीको अनुभव बढी पस्किने यो कथा अनावश्यक लामो र बोरिङ रह्यो । "माइ फर्स्ट डिसिजन" ले पनि निराश गर्यो । सूत्रधारले कथा सुनाउने कन्सेप्ट ठीकै हो तर कतिपय सूत्रधारले बोर गरे, स्टिल्टेड यान्ड स्टिफ डायलग डेलिभरीमार्फत । माथि नाम परेकाबाहेक अन्य कलाकारको अभिनय ठीकै लाग्यो (राजकुमार पुडासैनीले नेपाली पाराको अंग्रेजी बोलेर तथा घरीघरी उलजुलूल हर्कत गरेर हँसाए) । धेरैथरी कथामा आएर कन्फ्युज्ड नभई संवाद कण्ठ पारेर अनेक मुद्रा तथा भावका अभिनय देखाउनु चुनौतीपूर्ण काम हो र यसका लागि अभिनेताहरूले गरेको मेहेनतको प्रशंसायोग्य छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment