Sunday, December 1, 2013

Appraising the play "Court Martial"

"कोर्ट मार्सल" नाटक हेरियो । सेनाका एक उच्चपदस्थ अधिकारीको हत्या तथा अर्का अधिकारीको हत्याप्रयासको आरोप लागेका जवान (सवार) राम बहादुरको मुद्दामा बसेको सैनिक अदालतको कारबाहीको कथा बोकेको यो नाटक सशक्त विषय तथा अभिनयका लागि सराहनीय बन्न पुगेको छ । पक्ष विपक्षका वकिलका जिरहले इन्टेन्स बनाएको घटनाक्रम क्रमशः बढ्दै जाँदा सेनाभित्रका सामन्ती सोच तथा संस्कार, आफूमातहतका जवानमाथि उच्च अधिकारीले गर्ने दुव्र्यवहार, जातभातको कुसंस्कारजन्य विभेद आदिका पर्दा खुल्दै जान्छन् र अदालती कारबाहीको जिम्मेवारीमा बसेका अधिकारीहरूको अवधारणामा परिवर्तन आउँदै जान्छ । प्रत्येक नयाँ घटनाक्रममा दर्शकहरू बाँधिदै जान्छन् र सुपात्रप्रतिको सहानुभूतिमा तरंगित हुन्छन् । सबै कलाकारको काम उच्चकोटिको छ । अनुशासन कायम राख्ने कर्नेल रूपक सिंह (राजेश हमाल), सत्यका दार्शनिक पक्षको चर्चा गर्ने प्रतिरक्षक वकिल क्याप्टेन विजय पोख्रेल (सुवास थापा), नाटकका भिलेन भन्न सकिने क्याप्टेन जिबी राणा (कर्मा शाक्य) र रामबहादुर (विशेषगरी उनको त्यो कारुणिक क्रन्दन) को अभिनय विशेष नोटेबल लाग्यो भने अन्यको पनि अब्बल नै छ । क्रोधको इमोसनले नाटकमा महत्त्वपूर्ण स्थान ओगटेको छ र क्रोधातिरेकमा केही संवाद चर्का बन्नपुगेका छन् । संवादविहीन अवस्थामा पनि सबै पात्रका मुखमुद्राले संचार गरिरहेको गजब लाग्यो । नाटकमा एकपछि अर्का तनावयुक्त घटना आउँछन् र तनाव चुलीमा पुगेपिच्छे पाँच दस मिनेटको ब्रेक लिएर दृश्य बदलिन्छ । तीव्र तनावलाई कम गर्न हास्यका क्षण पनि देखा पर्छन्, विशेषगरी बिएस राणाले हँसाउँछन् । नाटकमा संवाद कण्ठ पार्नु जटिल काम हो र आज कलाकारहरू शब्दमा झुक्किएर चिप्लिएका थिए कैयौंचोटि । सानातिना त्रुटिका बाबजुद मलाई घटनाक्रममा डुबाउन सफल भएकाले मेरो दृष्टिमा यो एक उत्कृष्ट नाटक हो र निर्देशक अनुप बराल तथा पूरा टिम प्रशंसाका हकदार छन् ।

No comments: