Sunday, December 1, 2013

Govinda Bartaman's "Hariyo Cycle"

गोविन्द वर्तमानको निबन्ध संग्रह "हरियो साइकल" पढेपछि उनको व्यक्तित्वलाई नजिकैबाट चिन्ने अवसर मिलेको अनुभूति भयो । यात्रासंस्मरण, बाल्यकालीन/किशोरकालीन सम्झना, साहित्य/सिनेमा/ललितकलामाथि उनका दृष्टिले पनि प्रकारान्तरमा उनको व्यक्तित्वलाई नै पाठकसमक्ष पुर्याइरेको भान भयो । सामाजिक न्यायका पक्षधर भई कट्टर वामपन्थी धारणाबाट चाहिँ आफूलाई अलग्याएका वर्तमानले शोषक वर्गका प्रतिनिधि र दुईमुखे चरित्रका व्यक्तिमाथि तीखो प्रहार गरेका छन् । किशोरकालमा कम्युनिस्ट हुँदा कांग्रेस वा राजतन्त्रनिकट ठानिएका विशिष्ट लेखक/कलाकारको बारेमा लहडमा नराम्रो धारणा राखेका वर्तमानले तिनको सान्निध्यमा आफूलाई पुनर्मूल्यांकन गरेबाट उनको लचिलोपना तथा प्रौढता झल्कन्छ । उनको अन्तर्यमा चिहाउनका लागि "एउटा किशोरको एक्लोपन" जस्तो निबन्ध सहायक हुन्छ जहाँ उनले आफ्नो अन्तर्मुखी व्यक्तित्वको व्याख्या गरेका छन् । अत्यन्तै कम साथीसंगाती बनाएका वर्तमानले तिनै मित्रहरूलाई आफ्ना लेखमा घरिघरि दोहोर्याएका छन् भने आफ्नो घर रहेको चावहिलको इलाकालाई उनले धेरै निबन्धमा सेट गरेका छन् । पिताप्रति उनको धारणा त्यति प्रियकर थिएन जस्तो लाग्छ केही निबन्ध पढ्दा । शीर्ष निबन्ध "हरियो साइकल" मा पिताले आफूलाई मरणासन्न स्थितिबाट बचाएको घटनालाई पनि उनले निरपेक्ष तवरले वर्णन गरेका छन् । विचारको पृष्ठभूमिलाई देखाउने निबन्ध "विचारका डोबहरूमाथि" मा वर्णित श्रीधरबाप्रति भने उनमा श्रद्धा देखा पर्छ । श्रद्धाकै कुरा गर्दा केही साहित्यकारका मृत्युमा शब्दश्रद्धाञ्जलि दिने क्रममा उनी तिनीहरूमध्ये कसैको बारेमा गहिरो विश्लेषण गर्न पुग्छन् भने कसैको बारेमा सतही कुरा गर्छन् । उनका नियात्रा अलि साधारण लागे । लाङटाङ यात्राको लामो नियात्रामा अनावश्यक वर्णन भरमार छ र उनले अघिल्लो पुस्तक "सोह्र साँझ" मा देखाएको व्यक्तिसंवेदना खोतल्ने कला यसमा पाइएन । पुस्तकको सम्पादन तथा पुनर्लेखन हुन नपाउँदै उनको मृत्यु भएकाले यसो हुनगएको हुनसक्छ । मृत्युको पूर्वाभाष उनलाई भएको कुरा "हरियो साइकल" मा परेको छ जहाँ उनले बारम्बार पुकारा गर्छन्, "मलाई मुक्ति देऊ !" सरल भाषाशैलीमा आफ्ना कुरा प्रस्ट भन्नसक्ने लेखकका रूपमा वर्तमानप्रति मेरो श्रद्धा छ तर उनका केही निबन्ध अझ कलात्मक हुनसक्थे भन्ने मलाई लागिरह्यो । भाषिक अशुद्धताले समेत रसभंग गरेका छन् कतिपय निबन्धमा ।

No comments: