कृष्ण धरावासीको चर्चित कथा "झोला" मा आधारित त्यही नामको चलचित्र आज हेरियो । निर्देशक यादव भट्टराईले आजभन्दा १०० वर्षअघिको नेपाली समाजमा रहेको विधवा महिलालाई सती जान बाध्य पारिने कुप्रथाको बारेमा चलचित्र बनाउन राम्रो अनुसन्धान गरेर अनि उम्दा लोकेसन छानेर गरेको मेहनत प्रशंसायोग्य लाग्यो । तत्कालीन अवस्थाको समाज, मान्छेका लवाइखवाइ, घरका बनोटलाई अहिलेको समयमा विश्वासिलो तवरले उतार्नु चानचुने कुरा हैन । धागोले सिएका लबेदा, चोला, गुन्यू, टोपीहरूले त्यतिखेरको पहिरनलाई झल्काउँछन् । फुसको छाना भएका माटाका घर, नाङ्गै खुट्टा हिँड्ने मान्छे जस्ता कुराको सूक्ष्म अध्ययन गरिएको रहेछ । त्यो समाजको "फील" नआउला भनेर गाउँको वाइड सट नलिइकन घटनाका आवश्यक दृश्य मात्र खिचिएको छ । सिनेमाटोग्राफी राम्रो लाग्यो । पहाडका घना जंगललाई जोड दिएर खिचिएको छ । यसले जंगलको विरानमा अमानवीय कृत्य हुन्छन्, जंगली कानुन चल्छ भन्ने प्रतीक बोक्छ जस्तो लाग्छ । त्यस्तै साँघुरा बाटालाई पनि घरीघरी देखाइनुले तत्कालीन समाजका साँघुरा चिन्तनलाई प्रतिबिम्बित गरेको हुनसक्छ । कलाकारहरूको अभिनय राम्रो छ । गरिमा पन्तले सती जान बाध्य बनाइएकी नारीको भूमिकालाई न्याय गरेकी छिन् तर उनको अभिनय क्षमताको अझै बढी सदुपयोग हुनसक्थ्यो भन्ने लाग्यो । लक्ष्मी गिरीको अभिनय पनि तारिफयोग्य छ तर उनले लामा संवादमा उपदेश गरेको चाहिँ चित्त बुझेन अनि अल्लि बढी रोनाधोना भयो । बालकलाकारको अभिनय एकदुई ठाउँमा (जस्तो, भात खान बस्दा आमालाई सम्झेर रोएको लगायतमा) अब्बल छ भने अन्यत्र चाहिँ कमजोर छ । धरावासी र उनकी पत्नीले भने राम्रो अभिनय गर्न सकेनन्, कृत्रिम लाग्यो उनीहरूको डाइलग डेलीभरी तर उनीहरू व्यवसायिक कलाकार नभएकाले यो स्वाभाविक हो । फिल्म "स्लो" छ । कतिपय दृश्यलाई अनावश्यक तन्काइएको छ । कथानक चलचित्रभन्दा पनि डकुमेन्ट्रीजस्तो लाग्छ घरीघरी । विदेशीलाई हाम्रो संस्कृति देखाउने हिसाबमा मात्र खिचेका होलान् कतिपय सन्दर्भ भन्ने लाग्यो । तर नेपालमा बन्ने चलचित्रहरूको दाँजोमा यस्तो गम्भीर र यत्तिको गुणस्तरको चलचित्र बन्नुलाई सकारात्मक उपलब्धिकै रूपमा लिएँ मैले । हेर्न सिफारिस गर्दछु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment