Tuesday, November 26, 2013

Social meanings of nursery rhymes

छोरीलाई अचेल नर्सरी राइममा चित्त लागेकाले बजाइदिने गरेको छु । ती अंग्रेजी राइमका शब्दमा यसो विचार गर्दा तिनका सामाजिक सन्दर्भका अर्थ निकाल्न सकिन्छ जस्तो लाग्यो । अहिले बोर्डिङ पढ्ने सबैजसो बच्चाले यी राइम सुनेकै हुनाले यसको चर्चा गर्नु उपयुक्त नै  ठहर्ला । "ज्याक यान्ड जिल वेन्ट अप द हिल" ले १८ औं शताब्दीको बेलायती समाजका गरीब परिवारमा बालबालिकले श्रम गर्नुपर्ने कुरालाई इंगित गरेको हुनसक्छ । पानी खोज्न डाँडा चढ्नुपर्ने र पानीको भारी बाल्टिन बोक्दा सन्तुलन बिग्रेर लडी ज्याकको टाउको फुट्ने कारुणिक अवस्थालाई यो राइमले दर्साएको हुनसक्छ । यही सन्दर्भमा एउटा कुरा याद आयो । "हान्सल यान्ड ग्रेटल" को सुप्रसिद्ध  कथामा सौतेनी आमाको दबाबमा बुवाले हान्सल र ग्रेटललाई जंगलमा मर्न छोडेको प्रसंग छ । १४ औं शताब्दीमा युरोपमा अनिकाल आएर हाहाकार मच्चेको थियो र आमाबाले आफ्नो सन्तान पाल्न नसकेर जगलमा मर्न छोड्थे रे । अब आमाको छवि त ममतामयी हुनाले आफ्ना सन्तानलाई उनले त्यागेको भन्ने कुरा समाजले नपचाउने हुनाले क्रूर सौतेनी आमाको सिर्जना गरेको हुनसक्छ भनी अनुसन्धाताले बताएका छन् । फेरि राइमकै कुरामा फर्कँदा "चब्बी चिक्स, रोजी लिप्स" भन्ने राइमले गोरी केटीको सौन्दर्यलाई मापदण्ड बनाएको छ । भुक्क परेका गाला, राता ओठ, नीला आँखा, घुम्रेको कपाल, गोरो अनुहार भएकी विद्यार्थीलाई शिक्षकले मन पराउने (नम्बर धेर दिने?) भनिएको छ । युरोपेली सौन्दर्यलाई मानक बनाइएको र साम्राज्यवादसँगै भित्रिएको अंग्रेजी राइमको निहितार्थ शासित देशका बालबालिकाका लागि अनौठो कुरा हुन्थ्यो होला । अरु राइमका बारेमा पनि यसरी विश्लेषण गर्न सकिन्छ । 

No comments: