काठमाडौं सहर साँघुरिएर वातावरणीय समस्याको चपेटामा पर्दै गएपनि उपत्यका वरपरका डाँडाहरू प्रकृतिको आनन्द लिनेहरूका लागि अझै पनि उचित गन्तव्यका रूपमा रहिनैरहेका छन् । पदयात्रा गरेर ती डाँडामा रहेका गाउँजंगल जानु शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभप्रद छन् भन्ने मान्यताका साथ अस्ति शनिवार हामी चारजना सीतापाइलामाथिका भीमढुंगा, थाप्ले, भीरकोटतिरका गाउँमा एक दिनका लागि घुम्न निस्कियौं । रोशन शेरचन दाइ र प्रभाकर गौतमजीसँग बिहिवारै गरेको सल्लाहअनुसार त्यो क्षेत्र हाम्रो गन्तव्य निर्धारित भएको थियो र विमल आरोहीजीले पनि जाने इच्छा देखाएपछि हामी चारजना भयौं यात्राका सहभागी ।
प्रभाकरजीसँग बिहान पौने आठमा नयाँ बानेश्वर चोकमा भेटी उहाँको मोटरसाइकल चढेर न्युरोड गइयो । केही बेरमा रोशन दाइ पनि मोटरसाइकलमा आउनुभयो । त्यसपछि विमलजीको डेरामा दुवै मोटरसाइकल राखेर पैदलै हिँड्न थाल्यौं गन्तव्यतर्फ । स्वयम्भू चोकमा दुई किलो सुन्तला किनेपछि सीतापाइला चोक पुगेर भीमढुंगातिर सोझियौँ हामी । नेपाली साहित्यका विषयमा हामी गफ गर्दै हिँड्दै थियौं । एउटा पसलमा हल्का चिया चमेना गरेपछि भीमढुंगा लाग्ने उकालो उक्लियौं । पिच बाटो सकिएर अब कच्ची बाटो सुरु भएको थियो । बाटामा भेटिएका मानिसहरूसँग बाटो सोध्दै अघि बढ्यौं हामी । निकैबेर हिँडेपछि एउटा विशाल ढुंगा देखियो । सायद त्यही नै हो कि भीमढुंगा ? त्यहाँ एकछिन सुस्ताउने हेतुले बस्दा सुन्तला छोडाउन थाल्यौं । गफका सिलसिला जारी नै रहे ।
एकछिनपछि फेरि बाटो लाग्न थाल्यौं । केही माथि पुगेपछि बाटोबाट पूर्वतर्फ टाढा दृष्टि फ्याँक्दा विशाल उपत्यका देखियो । आकाश खुलेकाले गर्दा उपत्यका टाढासम्म देखिएको थियो । त्यही बाटोको किनारमा तोरीबारी पनि देखियो र त्यहाँ फोटो खिच्ने लोभ संवरण गरिरहन सकेनौं हामीले । त्यसपछि अघि बढ्दै जाँदा कहिले ठाडो उकालो आउँथ्यो भने कहिले तेर्सो बाटो पनि आउँथ्यो । साना जंगलबाट आएको शीतल पवनले मनमस्तिष्कमा आनन्दको संचार गरिरहेकै थियो । जाँदाजाँदै अलि उकालोमा हामीले अप्रत्याशित रूपमा पश्चिमतर्फ तरेली परेका डाँडा, सानासाना गाउँवस्ती र प.....र हिमशृंखला देख्यौं । सबैको मुखबाट सामूहिक रूपमा वाह निस्कियो । क्यामराले काम पाए केही समयका लागि । यति छिटै यस्तो मनोरम दृश्य अवलोकन गर्न पाइएला भन्ने हामी कसैले पनि अपेक्षा नगरेकोले पनि होला त्यो दृश्यपान हाम्रा लागि आनन्दको स्रोत बनेको । माथि नीलो आकाश, बादलका केही आवारा टुक्राहरू, चमकदार सूर्य, चिसो बयार, हरिया जंगल र गाउँवस्ती अनि दृष्टिको अन्तिम सीमामा ठडिएको अन्नपूर्ण मनास्लु हिमशृंखला । अद्भुत !
यस्तो स्वर्गीय आनन्दबाट विमुख हुन नचाहेपनि यात्रा अघि बढाउनैपर्ने भएकाले हामी उकालो लाग्यौं । हिँड्दै बीचमा केही क्षण थकाइ मार्दै माथि जाँदा हामी थाप्ले पुगेछौं । चुनाव प्रचारका कार्यक्रम चल्दै थियो त्यहाँ । हामीलाई पनि गाउँलेहरूले कुनै दलको कार्यकर्ता भन्ठानेछन् । हामी शनिवारको बिदाको सदुपयोग गर्ने पदयात्री हौं भनी बतायौं । सबैलाई भोक लाग्दै गरेको तथा थकाइ पनि लागेको अनुभूति हुन थालेपछि एउटा पसलमा गयौं । त्यो पसलकी तामाङनी दिदीसँग चाउचाउ किनेर खान थाल्यौं । रोशन दाइले फुलमकै ल्याउनुभएको रहेछ अनि प्रभाकरजीले गुन्द्रुकको अचार । ती पनि झिकेर खान थाल्यौं । आहा, गुन्द्रुकको अचार कस्तो स्वादिलो लाग्यो मलाई त ! अमिलो, नून ट्वाक्क मिलेको अनि लसून र डल्ले खुर्सानीले स्वाद बढाएको । प्रभाकरजीले गजब बनाउनुहुँदो रहेछ अचार त । बाटामा दालमोठ किनेका थियौं, त्यो पनि मिसायौं । चिउरा त छँदैथियो । थपीथपी खाएँ मैले । रोशन दाइ र प्रभाकरजीले चाहिँ स्थानीय छ्याङ पनि खानुभयो ।
हामीले पसलमा खाँदै गर्दा अरु गाउँले पनि आए । रोशन दाइले नेपालका धेरै भूभागमा वातावरणविज्ञ भएर घुम्नुभएकाले होला जोसँग पनि छिट्टै घुलमिल हुन सक्नुहुँदोरहेछ । अनि त गाउँलेहरूसँग गफका सिलसिला सुरु भइगए नि । चुनाव मुखमा भएकाले त्यसैको गफ भयो । गाउँलेहरू नेतासँग आक्रोशित थिए र जसले पक्की बाटो ल्याउँछ गाउँमा त्यसैलाई भोट दिने हो भन्दैथिए । एकजना तामाङनी अलि हाजिरजवाफी रहिछन्, रोशन दाइसँग उनको रमाइलो जुहारी चल्यो । एक घन्टा लगभग त्यतै बित्यो ।
नारायणको मन्दिर र गुफा घुम्नलायक ठाउँ हुन् त्यहाँका भनी स्थानीयहरूले बताएपछि मलाई गुफा जान मन लाग्यो र साथीहरूलाई उक्साएँ । तर त्यो ठाउँ एक त साह्रै एकान्तमा रहेछ अनि जाने बाटो पनि अलि डरलाग्दो रहेछ त्यसमाथि हामी बाटो पनि अल्मलिएछौं । त्यसैले त्यता जाने योजना रद्द गरेर भीरकोटतिर लाग्यौं । त्यताको उचाइबाट काठमाडौं हर्दा मजा आउने रहेछ । विमान अवतरण गरेको दृश्य रमाइलो लाग्यो ।
भीरकोटमा कोदो टिपेर घाममा सुकाउन राखिएको रहेछ भने फापर खेतमा लहलहाउँदै रहेछ । खेतमा काम गरिरहेका गाउँलेको दृश्य देखियो । एकछिन दृश्यपान गरेपछि हामीले बाटो ततायौं । साहित्य, संगीत, राजनीतिका गफ यात्राभरि जारी नै रहे । बाटो सोध्दैसोध्दै गएपनि हामी त झुक्किएछौं र मान्छे नहिँड्ने बाटो पो समात्न पुगेछौं । हराइयो अब । कसलाई सोध्ने, कोही देखा पर्दैन ! अब जे पर्ला पर्ला भनेर अघि बढ्यौं । लुगाभरि कुरो टाँसिएर दुम्सी भयौं हामी त । उकालोमा बुट्यान समात्दै चढ्दै गाउँवस्ती खोज्न थाल्यौं । भेटियो पनि गाउँ । एउटा घरमा गएर स्थानीयलाई हामीले बाटो देखाइदिन भन्यौं र उनीहरूले अलि वरसम्म हामीलाई ल्याइपुर्याए ।
तल एउटा पसल रहेछ जहाँ स्थानीयहरू भेला हुँदा रहेछन् । हामी त्यहाँ सुस्ताउन थाल्यौं अनि केही खानपान पनि गर्यौं । पसलेले भटमास साँधेर ख्वाए । केही नमिसिएको शुद्ध स्थानीय खानेकुराको स्वाद कति मीठो ! थपीथपी खाएँ मैले । कालो चिया पनि पिइयो । छ्याङ खानेले फेरि एकएक डबका थपे । अघि हामीलाई पसलसम्म ल्याइदिने गाउँलेले पनि छ्याङको सुरमा बाह्र सत्ताईस हाँक्न थाले । खासै नपढेका तर अनुभवको खानी भएका गाउँलेको तर्कशक्ति देखेर हामीले रमाइलो मान्यौं ।
अब त ढिलो हुन थाल्यो हौ ! हिँडिनहाले त घर पुगिन्न आज भन्ने भयो र हामी काठमाडौंतिर सोझियौं । डाँडाको टुप्पोमा टाँसिएको अस्ताउँदो सूर्य हेर्दै हामी ओरालो झर्न थाल्यौं । तल देखिएका खेतका गह्रा कति मनोरम ! हिँड्दाहिँड्दै झमक्क साँझले छोपिगो । पाइला अलि छिटो चालौं न भनेको टनटनी दुख्छ पो । थाहै नपाई थुप्रो पो हिँडिएछ । चाल त सुस्त नै हुने भो । पूर्वतिर माथि आँखा सोझिँदा चतुर्दशीको चन्द्रमा देखियो । नयनाभिराम लाग्यो ।
बाटामा गफ गर्दै जाँदा एउटो माइक्रोबस फुत्त छुटिगएछ । हिँडेरै सीतापाइलासम्म पुग्नुपर्ने भयो । सीतापाइला पुगेपछि रोशन दाइ सार्वजनिक यातायात चढेर जाने भन्न थाल्नुभयो र हामी छुट्टियौं । बाँकी रहेका हामी तीनजना चाहिँ विमलजीको डेरासम्म हिँडेर गयौं । त्यहाँ मोटरसाइकल झिकेर विमलजीसँग बिदाबादी हुँदै प्रभाकरजीको पछाडि बसेर नयाँ बानेश्वर आइपुगेपछि म ओर्लिएँ र घरतिर आएँ । घर पुग्दा त रातिको आठ बजिसकेको थियो । लगभग आठ घन्टा पो हिँडिएछ त । शरीर जतिसुकै शिथिल भएपनि मन चाहिँ यो पदयात्राका कारण चंगा नै थियो । सुमधुर सम्झनामा सुरक्षित छ हाम्रो यो यात्रा । अब आउने दिनमा पनि यस्ता यात्रा गर्ने नै छौं हामी ।

No comments:
Post a Comment