१०० वटा किताब लेखिसकेका डिन कून्ट्जको लामो उपन्यास "फ्रम द कर्नर अफ हिस आइ" मा सस्पेन्स, थ्रिल, जादुयी यथार्थवाद, क्वान्टम फिजिक्सको ककटेल भैकन पनि कथाको गति अल्लि स्लो नै लाग्यो । पाठकलाई बाँधेर राख्ने कला यसमा खासै भेटिएन । त्यसैले मलाई यो उपन्यास सक्न बेर लाग्यो । तर चरित्रविकास चाहिँ गजब लाग्यो यसमा । प्रत्येक पात्रको ब्याकग्राउन्ड मसिनोगरी केलाइएको पाएँ । जुनियर केन भन्ने क्रूर हत्याराले एउटी महिला सेराफिमलाई बलात्कार गरेर भाग्छ । पछि उसले आफ्नी पत्नी नाओमीलाई टावरबाट खसाएर मार्छ तर यो दुर्घटना भएको भन्ने पार्छ र अझ सरकारबाट क्षतिपूर्ति समेत पड्काउँछ । टम भ्यानेडियम भन्ने पुलिसले उसको पिछा गर्छ । बलात्कृत सेराफिमबाट एन्जल भन्ने छोरी जन्मिन्छे पराभौतिक शक्ति लिएर र उसलाई सेराफिमकी बहिनी सेलेस्टिनाले पाल्छे । अर्कातर्फ एकजना दयालु महिला एग्निसले बार्थोलोम्युलाई जन्म दिन्छिन् तर अस्पताल पुर्याउने क्रममा एग्निसका पति जोइ सडक दुर्घटनामा मर्छ । बार्थोलोम्यु पनि पराभौतिक शक्तिको मालिक हुन्छ तर तीन वर्षको उमेरमा उसको आखामा क्यान्सर देखिएर आँखा झिक्नपर्ने हुन्छ । त्यो क्रूर हत्यारा केनलाई बार्थोलोम्यु भन्ने मान्छे मेरो शत्रु हो र मैले मार्नुपर्छ भन्ने भान परेर त्यै मात्र धून लिएर खोज्दै हिँड्छ तर यो बालक नै हो आफ्नो अभीष्ट भन्ने पछि मात्र थाहा पाउँछ । क्लाइमेक्स अलि दमदार लागेन । मोटामोटी कथा यति हो तर अन्य धेरै चरित्र र उपकथानक छन् उपन्यासमा । केनले हत्ते गरेर बार्थोलोम्युलाई मार्न खोजेको त मलाई कंसले कृष्णको डर मानेर रातोदिन चिन्तना गरेको र अरु बच्चा मारेको जस्तै लाग्यो । उपन्यासले असल र खराबबीचको चिरन्तन द्वन्द्वको कथा बोकेको छ । लेखक आफूले जानेका कुराको चर्चा रमाई रमाई गर्छन् उपन्यासमा जसले गर्दा यसको गति धीमा हुन पुग्छ । कतिपय कुरा त सम्पादन गरेको भए हुन्थ्यो । तर उपन्यासमा यदाकदा आउने इन्साइटहरू भने मलाई मन पर्यो । विशुद्ध सस्पेन्स र थ्रिल खोज्ने पाठकलाई चाहिँ यसले निराश बनाउन सक्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment