शारदा शर्माको मुक्त
आलेखसंग्रह "अग्निस्पर्श" पढिरहँदा तर्कको सूक्ष्मता, भाषाको कोमलता र अध्यात्मको
तलस्पर्शिताले मुग्ध बनायो । समाज र जीवनमा भोगिरहिएका सत्यहरूको दृष्टान्त पक्रेर
अध्यात्मको भावभूमिमा प्रवेश गर्ने यी आलेख गम्भीर साहित्य रुचाउने पाठकका लागि गतिला
बौद्धिक खुराक बन्नपुगेका छन् । जम्मा ३८ वटा आलेख रहेका छन् पुस्तकमा । नारीको अवस्था,
कविताको उच्चता, नैतिकताका ह्रासजनित आधुनिक अवस्था, बौद्धदर्शनको व्यावहारिकता, ओशोको
ध्यानविधि तथा विद्वत्ताका परिचर्चा, नेपालका विडम्बनायुक्त राजनीति लगायतका विषयहरू
समेटिएका छन् यी चिन्तनहरूमा । आलेख पढ्दा यस्तो अनुभूति हुन्छ, शारदा शर्मा आफ्नो
वर्तमान जीवनप्रति सन्तुष्ट छैनन् । एककिसिमको सम्झौताको कुरूपता छ जीवनमा । उनको
"विवाह एक प्रेमरहित सम्झौता हो" भन्ने आशयका वाक्य पढ्न पाइन्छ केही लेखमा
। त्यसैले त उनी ईश्वर स्मरण, मोक्ष चिन्तन
र अध्यात्म परिशीलनका कुरा दोहोर्याउँछिन् आफ्ना यी रचनामा । यो एक वाक्यले उनको परिलक्ष्यलाई
प्रस्ट्याउँछ, "हरक्षण मृत्युका पन्जाभित्र रहेको सौन्दर्यमय जीवनको स्वप्नवत्
अल्प आनन्दको सीमा अतिक्रमण गरेर असीम सच्चिदानन्दतर्फ
जाने बाटो म खोजिरहेकी छु ।" नारीमुक्ति आन्दोलनमा लागेकालाई यो पलायनवादी सोच
लाग्नसक्छ, यही संसारमा संघर्ष नगरेर पराभौतिकताको
खोज गर्ने भनेर । त्यसो त शर्माको नारीप्रतिको "इसेन्सियलिस्ट" विचार
"स्वास्नीमान्छेको जन्मजात स्त्रीभाव भनेको कोमल, प्रेमपूर्ण, मातृवत् भाव हो"
भन्ने वाक्यांशमै झल्केको छ । यी भावबाट इतर हुने नारीहरू उनका शब्दप्रहारका निशाना
बनेका छन् । मलाई प्राय: सबै आलेख मन परे पनि आत्मबोधतर्फको आन्तरिक यात्रा भौतिक तीर्थयात्राभन्दा
महान् हुन्छ भन्ने सन्देश बोकेको "तीर्थयात्रा'
चाहिँ विशेष मन पर्यो । मान्छेको असन्तोषी
प्रवृत्तिमाथिको उनको व्यङ्ग्य र धन्यताको
उनको आग्रहले प्रभावित पार्यो मलाई, वेदको झल्को पाएँ मैले यसमा । "वास्तवमा संसारमा नयाँपन त एउटा
आभास मात्रै हो जीवनको, जुन हाम्रा स्पर्शले नै समाप्त हुने गर्छ" र "उपलब्धप्रति
कृतज्ञता र अहोभावले जीवनलाई आनन्दमय बनाउँछ" जस्ता वाक्य अत्यन्त सान्दर्भिक
छन् अहिलेको युगका लागि । आलेखहरूमा भाषिक अशुद्धताले भने केही रसभंग गरेको अनुभूति
हुन्छ । जस्तो, संन्यासलाई सन्यास भनिएको छ,
त्रस्तलाई त्रस्त्र । यी कमजोरीलाई पन्छाउने
हो भने यो एक उत्कृष्ट पुस्तक हो भन्न मलाई कुनै आपत्ति छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment