Monday, November 11, 2013

Roshan Sherchan's "Dhobighat Express"

रोशन शेरचनको निबन्धसंग्रह "धोबीघाट एक्स्प्रेस" पढेपछि लाग्यो उनी एक अध्ययनशील र विचारशील व्यक्ति रहेछन् । साहित्य, कला र समाजमाथि उनले आफ्ना विचार पोखेका छन् यी निबन्धहरूमा । आत्मसंस्मरण, यात्रा संस्मरण, साहित्य/चित्रकला/दर्शन चिन्तन उनका निबन्धका विषय हुन् ।

पूर्ववर्ती केही नेपाली लेखकका उनी प्रशंसक रहेछन्, विशेषगरी कवि ईश्वरवल्लभ र आख्यानकार नारायण ढकालमाथि उनले असीम शब्दश्रद्धा देखाएका छन् । तर आफूलाई मन परेको लेखकको चर्चा गर्दा उनी गहिराइमा पुगेनन् जस्तो अनुभूति भयो मलाई । जस्तो, ईश्वरवल्लभका कविताको चर्चा गर्दा उनले ती "साइकेडेलिक" कविता हुन् भनेका छन् तर त्यो भनेको ठ्याक्कै के हो भनेर विस्तारमा चर्चा गरेका छैनन् । व्यक्तित्वको विमर्शमा उद्यत रहँदा कृतित्वको गहन विश्लेषण छुटेझैँ लाग्छ । म ईश्वरवल्लभका "दुरूह" कविता किन पढौं भनेर उनले मलाई कन्भिन्स गर्न सकेनन् । त्यसैगरी सरुभक्तको शून्यवादको व्याख्या गर्न पनि उनी चुके ।

एउटा निबन्धमा  उनी आफैँले "म आलोचनात्मक यथार्थवाद को समर्थक हुँ" भनेका छन् तर यो के हो भनेर प्रस्ट्याएका छैनन् । लेखनमा "राइटर रेस्पोन्सिबल" र "रिडर रेस्पोन्सिबल" भन्ने दुई प्रवृत्ति हुन्छन् र राम्रो लेखकको चिनारी पहिलो प्रवृत्तिले दिन्छ । लेखकले आफ्नो तर्क पाठकमा स्थापना गर्न आफैँ जिम्मेवार भएर बुझाउन कोसिस गर्नुपर्ने पहिलो प्रवृत्तिको मान्यता हुन्छ । आफूले लेखेपछि जिम्मेवारी सकियो, पाठकले बुझ्नुपर्यो भन्ने दोस्रो प्रवृत्ति चाहिँ घातक हुन्छ । मैले यो प्रसंग किन उठाएको हो भने शेरचनले आफ्नो पहिलो निबन्धसंग्रह "मष्तिष्कहरूको मृत्यु" दुरूह भएर अधिक पाठकमा नपुगेकाले पछि "चम्पारण ब्लुज" र अहिले यो  किताबमा सरल/सम्प्रेषणीय बन्न खोज्दैछु भनेकाले उनीबाट बोधगम्य तथा विश्वासप्रद तर्क आउलान् भन्ने मेरो अपेक्षा रह्यो । विचारयुक्त सरल लेखन स्वागतयोग्य हुन्छ भन्ने मेरो मान्यता छ ।

"म कविता किन लेख्छु" भन्ने निबन्ध भने संग्रहकै उत्कृष्ट लाग्यो मलाई । कवितालेखनका बारेमा उनका  भावुक र बौद्धिक धारणालाई उनले मीठो भाषामा पस्केका छन् । "कविताको नैसर्गिक आशावादिताको अगाडि  जीवनको गहिरोभन्दा गहिरो दु:ख पनि कमजोर छ" जस्ता मुग्धकारी वाक्य छन् यसमा । शीर्ष निबन्ध "धोबीघाट एक्स्प्रेस" चाहिँ निबन्ध र आख्यानको सम्मिश्रण बन्न पुगेको रहेछ । आख्यानमा हात हाल्ने हो भने शेरचन सफल हुन्छन् भन्ने संकेत मैले यस निबन्धमा पाएँ किनकि पाठकलाई आख्यानको लालित्यमा विलोप गराउनसक्ने भाषा शैली मैले यसमा भेटेँ  । यात्रा संस्मरणमा पनि शेरचनको प्रतिभा मुखरित भएको छ र "कोलाज यात्रा: छ्याङ्दोर, भालुखोप र ओक्रा" मा पाठकलाई सहचारी बनाउन सफल भएका छन् उनी ।

"फेसबुक संसार र विसङ्गतिका काराभान", "शैलीको खोजीमा", "साहित्यमा विचार चिन्तन" लगायतका निबन्धमा भने उनी तुलनात्मक रूपमा कमजोर लाग्छन् तर्कमा । शेरचन साहित्यमा आफ्नै मौलिक चिन्तनतर्फ अग्रसर स्रष्टा हुन् तर अहिलेलाई भने  उनले  अर्काको विचार ल्याएर त्यसमा आफ्नो विचार मिसिएको छ भनेर टारेका छन् ।

भाषागत त्रुटि पुस्तकका कमजोरी हुन्, देवनागरी र रोमन दुवैमा गल्ती भेटिन्छन् (जस्तो पेज २३० मा) ।


एक निबन्धमा सिकारु समीक्षकले गरेको समीक्षालाई महत्त्व दिनुहुन्न भन्ने शेरचनले मजस्तो सिक्दै गरेको समीक्षकका प्रतिक्रियालाई कसरी ग्रहण गर्लान् भन्ने मलाई जिज्ञासा लागेको छ ।                                          

No comments: