आफ्ना रचनाद्वारा मानवीय सम्बन्धका सूक्ष्म डाइनामिकको प्रदर्शन गरेर प्रेक्षकको हृदयमा कारुण्यको उदय गराउन सफल इरानी निर्देशक माजिद माजिदीको २००१ मा आएको चलचित्र "बरान" ले प्रेमकथाको परिभाषालाई नयाँ उचाइ दिएको अनुभव हुन्छ । अफगानिस्तानमा अनवरत युद्धको समस्या आएपछि छिमेकी मुलुक इरानमा शरण लिन पुगेका मानिसले थोरै पैसामा कठोर मेहेनत गरेर पेट पाल्नुपर्ने हुन्छ । स्थानीय गरीब इरानी कामदारहरूले ती शरणार्थीको रिस गर्छन् । एउटा भवन निर्माण भैरहेको ठाउँमा नजफ भन्ने अफगानी कामदार घाइते भएपछि उसको ठाउँमा उसको सन्तान रहमत काम गर्न आउँछ । लतीफ भन्ने स्थानीय युवकले रहमतको रिस गर्छ जब उसको चिया बनाउने सजिलो काम रहमतलाई दिइन्छ । सुरुमा रहमतका विरुद्ध अनेकौं उपद्रो गरेपनि एकदिन रहमत त केटी पो रहिछे भन्ने थाहा पाएपछि लतीफमा बरान (उर्फ रहमत) प्रति प्रेम पलाउँछ र बरानको जिन्दगी सहज बनाउन उसले ठूलो त्याग गर्छ । बरानले फिल्मभर एक शब्द पनि बोल्दिन तर उ लाटी भने हैन । बिलकुलै नयाँ कलाकारलाई लिएर माजिदीले एक सुन्दर कथा बुनेका छन् र उनीहरूको काम प्रशंसनीय छ । प्राकृतिक प्रकाशको प्रयोग गरेर पेन्टिङको जस्तो उदात्त कला पस्कन सफल माजिदीले कवितात्मक पारामा राजनीतिक टिप्पणी गरेका छन् । सशक्त बिम्ब माजिदीको विशेषता नै हो र यसमा पनि हिलोमा गाडिएको बरानको पाइला र लतीफको त्यसप्रतिको मुस्कान लामो समयसम्म दर्शकको मनमा गडिरहन्छ । गरिबीको दु:खद कथामा समेत हास्य मिसाउन सफल छन् माजिदी । यो कुनै पनि हालतमा हेर्न छुटाउनै नहुने फिल्म हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment