Saturday, November 9, 2013

Bhupeen's "Chaubees Reel"




भूपिनजीको निबन्ध संग्रह "चौबीस रिल" मा जीवनका विभिन्न घटनाका संस्मरणलाई काव्यिक पारामा प्रस्तुत गरिएको पाएँ । कविताका सम्बन्धमा उनको धारणा, कविमित्रहरूको संगत, कविता सुनाउन गरिएका भ्रमण, घरपरिवारका पुराना घटना, पढाइका स्मरण, ईश्वर/जीवन/जगत् प्रतिका धारणा, विभिन्न स्थानका यात्रा संस्मरण यो पुस्तकमा अटाएका छन् । लेखक यात्रा संस्मरणमा अधिक खुलेका छन् । यात्रामा आफूसँगै पाठकलाई समेत डुलाउन सफल भएका छन् । अन्नपूर्ण आधारशिविर, पुट्टपर्ती, बेङ्लोर र पोन्डिचेरीका नियात्रा पढ्दा आनन्दानुभूति भयो । गहन चिन्तन गर्ने प्रयास गरिएका निबन्ध भने तुलनात्मक रूपमा कमजोर लागे । "सांस्कृतिक बिम्ब", "अस्तित्व", "नदी र जीवन", "हत्यारा सोच", "जीवन: साझा बसको अन्तिम सिट" मा शब्दशिल्प मात्र भेटेँ मैले, चिन्तनको गहिराइ पाइनँ । आफूलाई मन परेका लेखक साहित्यकारका नामावलि र तिनका केही रचनाको कोरा फेहरिस्तमा सीमित लागेधेरजसो निबन्धहरू । भाषामा बेजोड पकड भएका लेखकको चिन्तन र तार्किक सामर्थ्य त्यही स्तरको होस् भन्ने मेरो आग्रह रह्यो । त्यति कन्भिन्सिङ लागेनन् उनका तर्कहरू । उनले गरेको कलाको पूजन ईश्वरको अस्तित्वलाई नकारेपछि जन्मिएको शून्यतालाई भर्ने मोडर्निस्ट प्रयास हुनसक्छ । कलाले सामाजिक हितका लागि भौतिक योगदान गर्न नसकेको पीडा भने लेखकले राम्ररी उधिनेका छन् (जस्तो, "सांग्रिलाको हृदय" मा बुधेको वर्णन) । "भोकको संगीत" मा करुणा उत्पन्न गराउने उनको प्रयास बाउ छोराको नचाहिँदो अडानले भुत्ते बनाएको अनुभव भयो मलाई । पुस्तकमा तथ्य र भाषामा दुवैमा धेरै कमजोरी भेटेँ मैले । "कवच" लाई कवज भनेका लगायत भाषिक कमजोरीको त लामै सूची तयार हुन्छ, अझ अंग्रेजी शब्दलाई देवनागरीमा लेख्दा त हास्यास्पद शब्द बन्न पुगेका छन् । भाषा हेर्ने विमलजीको तीखो दृष्टि यता नपुगेकोमा मलाई आश्चर्य लाग्यो । कुनै कुनै बिम्ब पनि नमिलेका रहेछन् । जस्तो, पेज ९२ मा "हाम्रो आशाको सानो द्वीप आइसक्रिमझैँ पग्लन थाल्यो" । एक त दीप भन्न खोजेको द्वीप भयो होला त्यसमाथि दीप पनि त पग्लदैन, मैन हुनुपर्ने हो । अनि तथ्यगत त्रुटिमा चाहिँ पेज १०८ मा "भियतनाम युद्धमा स्वयं अमेरिकाद्वारा सोभियत सेनाको विरुद्ध हतियार सुम्पिएको भनिएको बिन लादेन" । लादेन त अफगानिस्तानमा रसियनहरूसँगको युद्धमा पो थियो । त्यसैगरी बारीमा उभ्याइने बुख्याँचालाई पपेट भनिएको छ । अर्को संस्करणमा यसलाई सुधार्नु जरुरी छ । तर्कलाई माझ्न र चिन्तनको गहिराइमा अझ गोता खेल्न लेखकले श्रम गर्नुपर्ने मेरो निष्कर्ष रह्यो भने भाषा शैली चाहिँ प्रशंसायोग्य लाग्यो ।

No comments: