प्रख्यात उपन्यासकार समरसेट ममको महान् कृतिमा आधारित सन् १९४६ मा आएको श्यामश्वेत अंग्रेजी चलचित्र "द रेजर्स एज" ले लगभग साढे दुई घन्टाको स्क्रिन टाइममा उपन्यासका घटनावलिलाई त समेट्न सकेको छ तर आत्मालाई भने मारेको छ । ममको यो उपन्यासले प्रथम विश्वयुद्धमा मृत्युलाई समीपबाट देखेको एक योद्धाले गरेको अस्तित्वको खोजलाई दार्शनिक र मर्मस्पर्शी तवरले वर्णन गरेको थियो । यही खोजका कारण आफ्नी प्रेमिकालाई छोडेर पेरिसको चरम भौतिक संसार र पछि भारतमा एक योगीको सान्निध्यमा रहेर जीवनका मूलभूत प्रश्नको उत्तर पाएको छ उपन्यासको नायक ल्यारीले । भारतको पवित्र भूमिमा ज्ञान प्राप्त गरेपछि योगीको सल्लाहबमोजिम ल्यारी संसारमा फर्केर निःस्पृह भई कर्म गर्ने संकल्प लिन्छ र दुःखमा परेकाको उद्धारमा लाग्छ तर उसलाई माया गर्नेले नै उसको काममा बाधा पुर्याउँछन् । यो गहन कथाको विशेषता नै आध्यात्मिक खोज हो तर फिल्मले यो सारलाई पछाडि पारेर ल्यारी र इसाबेलको प्रेम अनि अमेरिका र पेरिसका धनीहरूले गर्ने तडकभडकमा बढी जोड दिएकाले मलाई खासै सन्तुष्टि दिएन । टाइरन पावर र जिन टियर्नीजस्ता गुडलुकिंग सुपरस्टारले यो फिल्मलाई गम्भीर कलाभन्दा पनि मनोरञ्जक मेनस्ट्रिम चलचित्रमा सीमित गरेका छन् । "द रेजर्स एज" मेरा लागि विश्वकै महानतम उपन्यासमध्येको एक हो तर यसमाथि बनेको यो फिल्मले मलाई निराश बनायो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment