Friday, October 11, 2013

Alice Munro "The Royal Beatings"

नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोका कुनै पनि रचना अहिलेसम्म पढ्ने मौका पाइएको थिएन । उपन्यासको बोलबाला भएका बेला कथा लेखिरहेर यो विधालाई उच्चता प्रदान गरिरहन मुनरोले ठूलो योगदान पुर्याएकी रहिछन् । हिजै मैले उनका उत्कृष्ट कथाहरूको संग्रह "एलिस मुनरोज बेस्ट" र "डियर लाइफ" डाउनलोड गरेँ । क्यानाडाकै अर्की सशक्त लेखिका मार्गरेट याटवुडले पुस्तकको भूमिकामा मुनरोको रचना त लेखकहरूको मापदण्डकै रूपमा रहेको छ भनी दाबी गरेकी छिन् । "यस्तो पनि कथा हुन्छ, कथा लेख्नु त मुनरोले जस्तो" भनी सिर्जनात्मक लेखनका प्राध्यापकले विद्यार्थीहरूलाई भन्छन् रे । मैले मुनरोको कथा "द बियर केम ओभर द माउन्टेन" मा आधारित फिल्म "अवे फ्रम हर" हेरेको थिएँ केही वर्षअघि । वृद्धावस्थामा देखापर्ने डिमेन्सिया र अल्झाइमरजस्ता रोगले एक दम्पत्तिको सम्बन्धमा ल्याउने प्रभावसम्बन्धी थियो त्यो कथा । मुनरोका कथाको यो एउटा थिम नै रहेछ । हिजै मैले उनको "द रोयल बिटिङ्स" भन्ने कथा पढेँ । हिंसालाई दार्शनिक पारामा प्रस्तुत गरिएको रहेछ । रोज भन्ने पात्रको बुवाले रोजकी सौतेनी आमाको प्रेरणामा रोजलाई बेस्सरी पिटेको र ओल्ड म्यान टाइडले आफ्ना छोराछोरी पिटेको र उसलाई गाउँका मानिसले मर्नेगरी पिटेको र यो सबै क्रियाबाट रोजमा उठेका पीडा बोकेको छ यो कथाले । रोज वृद्धा भएपछि उसको सम्झनामा यी घटनावली आउँछन् । कथा कारुणिक छ । अनि मुनरोले प्रयोग गर्ने वाक्यले गहन अर्थवत्ता बोक्दा रहेछन् । अरु पनि कथा पढेर विस्तारमा चर्चा गर्नुपर्ला ।

No comments: