डोरबहादुर विष्टको पुस्तक "सबै जातको फूलबारी" मा नेपालमा बसोबास गर्ने धेरैथरी जातजातिका बारेमा सामान्य परिचय दिइएको रहेछ । छेत्री, बाहुन, मगर, नेवार, किराँती राई लिम्बू, मधेशका बाहुन राजपूत अन्य जात, तामाङ, सुनुवार र जिरेल, खस, गुरुङ, चेपाङ, धाँगड, थकाली, पाँचगाउले, दनुवार माझी दरै, थारू, राजवंशी, धिमाल बोडो, सतार, मुसलमान, हिमाली र राउटेलाई यहाँ समेटिएको छ । २०३९ सालमा लेखिएको र २०५२ सालमा नयाँ संस्करण निकालिएकाले गर्दा यो पुस्तकका धेरै तथ्य पुराना भैसकेका छन् । तैपनि मोटामोटी रूपमा नेपालका विविध जातजातिका चालचलन, रहनसहन, भेषभूषा, कला संस्कृतिको प्रारम्भिक ज्ञान लिनका लागि पुस्तक उपयोगी नै छ । पंचायतकालमा लेखिएकाले होला राजा महेन्द्र र वीरेन्द्रको चर्को प्रशंसा गरिएको छ । "हामी फलानो" भन्ने शीर्षक दिएर सुरुका केही अनुच्छेद प्रथम पुरुषमा लेखिएका छन् भने त्यसपछिका चाहि तृतीय पुरुषमा । बाहुन छेत्रीको प्रभाव अरु जातिमा परेको कुरामा लेखकको चित्त बुझेको रहेनछ । विशेषगरी ब्राह्मणहरूलाई कतैकतै गाली गरेका छन् उनले त्यो चाहिँ मलाई चित्त बुझेन । अनि उनले खस भनेका पूरै अर्कै जाति हुन् अहिलेका बाहुन छेत्रीभन्दा फरक भनेका छन् । यो कुरा अचम्म लाग्यो तर यसको बारेमा आफूलाई क्यै जानकारी नभएकाले टिप्पणी गर्नु उचित हुँदैन । दलित अन्तर्गत पर्ने ठूलो संख्याका मानिसलाई पनि समेट्नुपर्थ्यो पुस्तकले ! कुनै कुनै जातिको चलन बडो चित्तबुझ्दो लाग्यो, जस्तो थकालीको "ढिगुर उठाई पूँजी संकलन गर्ने चलन" । यसले गर्दा उनीहरू व्यापारमा सफल भएका छन् र आपसी भाइचारा पनि कायम राख्न सफल भएका छन् । केही जातजातिमा देवरले भाउजु सुमर्ने चलन, एउटै महिलाले धेरै दाजुभाइसँग बिहा गर्ने चलन, बिहा गर्दा केटी घिच्याएर लाने चलन अनौठो लाग्यो । जे होस्, नेपालका जातजातिका बारेमा थोरबहुत जानकारी दिनमा यो पुस्तक सफल छ । तर दुरा, हलखोर, किसान, राजी, हायु, धुनिया, कुसवारिया, हलवाइ, सुधी, केवट, बोटेलगायतका अन्य धेरै जातजातिको परिचय भएको पुस्तक पनि आवश्यक छ । खोजेर पढ्नुपर्ला ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment