मलाई नियात्रा विधाप्रति लगाव छ किनकि यसमार्फत म आफू नपुगेको ठाउँमा टिकटै नकाटिकन लेखकसँगै कल्पनामा पुगेर भाइकेरियस प्लेजर लिन पाउँछु । त्यसैले गर्दा मैले जय छाङ्छाको नियात्रा संग्रह बादल रुँदाको जुरिच किनेर पढेँ । परराष्ट्र सेवामा काम गरेका लेखकको विभिन्न देश डुलेको अनुभव यसमा संकलित छ । अस्ट्रेलियाको तास्मेनिया, थाइल्यान्डको बैंकक, सिंगापुर, युरोपका देश जर्मनी, लक्जेम्बर्ग, स्विट्जरल्यान्ड, नेदरल्यान्डका केही सहरमा घुमेको अनुभवलाई लेखकले प्रस्तुत गरेका छन् । कुनै कुनै निबन्धमा ती सहरका बिम्ब मजैले चित्रित भएका छन् भने कुनैमा लेखकको गन्थन हावी भएकाले गर्दा दिक्कलाग्दा पनि बन्न पुगेका छन् । भाषामा कवितात्मकता र चिन्तनमा दार्शनिकता ल्याउने कोसिस गरका हुन् लेखकले तर अलि असफलै भएका हुन् जस्तो लाग्यो । प्रकृतिको दर्शन गरेपछि मानिस मौनको स्थितिमा पुग्छ, नानाभाँती गन्थन गर्न थाल्दैन भन्ने मेरो विश्वास छ तर यहाँ त्यसो भएन । सुन्दर सहरको वर्णन गर्दा पाठकले पनि त्यो सुन्दरता पान गरोस् न, लेखकका नैतिक उपदेश किन सुन्छ पाठकले ? अनि विदेशको वैभवसँग नेपालको गरिबीलाई दाँज्ने रोगबाट ग्रस्त हुन्छन् अधिकांश नियात्राकार र यी लेखक पनि त्यसको अपवाद हुनसकेका छैनन् । यात्राका क्रममा भेटिएका व्यक्तिले आफूमा कस्तो प्रभाव पारे भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । यो संग्रहमा त्यसको केही अंश त परेको छ तर त्यति सशक्त छैन । जे होस्, आफू यी ठाउँ पुगिन्छ पुगिँदैन लेखककै शब्दका पछि लागेर कल्पनामै भएपनि यी ठाउँ पुगियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment