Wednesday, October 9, 2013

Miyazawa Kenji's Nine Stories for Children and the Novella "Night of the Milky Way Railway"

जापानी भाषाको चित्रात्मक लिपि हुनाले पनि होला यो भाषाका कवि साहित्यकारले बिम्बसँग मजाले खेल्न सक्छन् । चित्रमै सोच्ने लेख्ने भएकाले होला जापानी हाइकुहरूले त्यति सशक्त बिम्ब बोक्ने गरेका । अन्य भाषामा लेखिएका हाइकु त एकछेउ पनि हुन्नन् तिनको तुलनामा । जापानी भाषाबाट अन्यमा अनुवाद गर्दा त्यो बिम्ब हराउन पुग्छ । तर जापानी भाषा नजानेकाले त्यहाँको साहित्य आस्वादनका लागि अनुवादको सहारा लिनैपर्यो । महान् जापानी साहित्यकार केन्जी मियाजावाका  नौवटा बालकथा र एउटा लघुउपन्यासलाई हाम्रा कवि क्षेत्रप्रताप अधिकारीले अनुवाद गरेका रहेछन्, "आकाशगंगा यात्रा" शीर्षकमा । अनुवाद झुर छ । नेपालीमा त्यति प्रयोग नहुने हिन्दी र संस्कृतका शब्द बेस्सरी हालेका छन् अनुवादकले । जस्तो, यो अनुच्छेदले के भन्न खोजेको हो ?

"वास्तविक सौन्दर्य अनम्य र शिलाभव हुँदैन । मान्छेहरू अंगसंयोगको कुरा गर्छन् । तर अंगसंयोगको चेतनासम्म उपस्थित भए त भैहाल्यो नि !"

यस्ता अप्ठ्यारा वाक्य प्रशस्त छन् पुस्तकमा । अनि हर्जाना तिर्ने, मुलम्मा चढाउने जस्ता नेपालीमा खासै प्रयोग नहुने शब्द पनि बग्रेल्ती छन् । मैले त्यो लघुउपन्यास 銀河鉄道の夜 (नाइट अफ द मिल्की वे रेलवे) अंग्रेजी अनुवादमा समेत पढेँ । त्यो अनुवाद पनि धेरै राम्रो त होइन । अनुवाद गाह्रै कुरा हो । झन् बिम्बात्मक भाषाबाट अर्को भाषामा लाँदा त बिम्बै कता हरायो कता (लस्ट इन ट्रान्स्लेसन) । अनुवादक आफैँ कवि भएकाले कथाका बीचमा आउने कविताहरूको अनुवाद कवितात्मक नै गर्लान् भन्ने आशा गरेको तर ठाडो गद्यात्मक अनुवादमै झारा टारेछन् ।

जे होस्, नराम्रो अनुवाद भएपनि मियाजावाका कथा र उपन्यास चाहिँ उत्कृष्ट नै रहेछन् । जादुमयी, गम्भीर र दार्शनिक लागे कथाहरू । जनावर, प्रकृति, बोटबिरुवा, निर्जीव पदार्थलाई समेत पात्र बनाएर मियाजावाले गहिरा कुरा गरेका छन् बालकथाको आडमा । उनी प्रखर बौद्ध उपासक र कट्टर शाकाहारी रहेछन् । दयाभाव, करुणा र अहिंसा उनका कथाका विषय हुन् । "नामेतोको पहाडका भालु" मा एउटा सिकारीले भालु मार्छ र क्षमाप्रार्थना गर्छ, "मैले आफ्नो जीविका चलाउन तिमीलाई मार्नुपरेको हो ।" अर्को एउटा भालुलाई मार्नलाग्दा त्यो भालुले मलाई अहिले नमार, म दुई वर्षपछि आफैँ तिम्रोअघि लास बनेर आउँछु भन्छ र वाचा पूरा गर्छ । करुणाको कस्तो भव्य प्रदर्शन ! "अनेकौं आदेशको चमेनागृह" शीर्षकको कथामा व्यवसायिक   सिकारीहरू एउटा विचित्र रेस्टुराँमा पुग्छन् जहाँ मानिसको परिकार बनाउने गरिन्छ । "बैगुनी मुसो" भन्ने कथामा खोरभित्र पारिएको मुसोको इतिवृत्तलाई खोर, कुचो, न्याउरीमुसो, त्यै मुसो, थामको माध्यमले बताइएको छ । यस्तै अन्य कथा पनि बिम्बात्मक र सशक्त छन् ।

लघुउपन्यास "आकाशगंगा यात्रा" मा परोपकार र करुणाको मीठो कथा उनिएको छ बालसुलभ कल्पनाको सेरोफेरोमा । बौद्धदर्शन, क्रिस्चियन धर्मका मान्यता, अन्तरिक्ष विज्ञानका प्रसंग, मृत मानिससम्बन्धी पारलौकिक विश्वास समेटिएकाले सबै कुरा त मैले बुझिनँ तर अरुको भलाइका लागि काम गर्नुपर्छ भन्ने सन्देश दिएको छ यसले । घटनाक्रम चमत्कारी छन् । शिल्प उत्कृष्ट छ ।

मियाजावाका रचना पढ्दा एककिसिमको अलौकिक आनन्दको अनुभूति भयो । 

No comments: