Tuesday, November 26, 2013

Social meanings of nursery rhymes

छोरीलाई अचेल नर्सरी राइममा चित्त लागेकाले बजाइदिने गरेको छु । ती अंग्रेजी राइमका शब्दमा यसो विचार गर्दा तिनका सामाजिक सन्दर्भका अर्थ निकाल्न सकिन्छ जस्तो लाग्यो । अहिले बोर्डिङ पढ्ने सबैजसो बच्चाले यी राइम सुनेकै हुनाले यसको चर्चा गर्नु उपयुक्त नै  ठहर्ला । "ज्याक यान्ड जिल वेन्ट अप द हिल" ले १८ औं शताब्दीको बेलायती समाजका गरीब परिवारमा बालबालिकले श्रम गर्नुपर्ने कुरालाई इंगित गरेको हुनसक्छ । पानी खोज्न डाँडा चढ्नुपर्ने र पानीको भारी बाल्टिन बोक्दा सन्तुलन बिग्रेर लडी ज्याकको टाउको फुट्ने कारुणिक अवस्थालाई यो राइमले दर्साएको हुनसक्छ । यही सन्दर्भमा एउटा कुरा याद आयो । "हान्सल यान्ड ग्रेटल" को सुप्रसिद्ध  कथामा सौतेनी आमाको दबाबमा बुवाले हान्सल र ग्रेटललाई जंगलमा मर्न छोडेको प्रसंग छ । १४ औं शताब्दीमा युरोपमा अनिकाल आएर हाहाकार मच्चेको थियो र आमाबाले आफ्नो सन्तान पाल्न नसकेर जगलमा मर्न छोड्थे रे । अब आमाको छवि त ममतामयी हुनाले आफ्ना सन्तानलाई उनले त्यागेको भन्ने कुरा समाजले नपचाउने हुनाले क्रूर सौतेनी आमाको सिर्जना गरेको हुनसक्छ भनी अनुसन्धाताले बताएका छन् । फेरि राइमकै कुरामा फर्कँदा "चब्बी चिक्स, रोजी लिप्स" भन्ने राइमले गोरी केटीको सौन्दर्यलाई मापदण्ड बनाएको छ । भुक्क परेका गाला, राता ओठ, नीला आँखा, घुम्रेको कपाल, गोरो अनुहार भएकी विद्यार्थीलाई शिक्षकले मन पराउने (नम्बर धेर दिने?) भनिएको छ । युरोपेली सौन्दर्यलाई मानक बनाइएको र साम्राज्यवादसँगै भित्रिएको अंग्रेजी राइमको निहितार्थ शासित देशका बालबालिकाका लागि अनौठो कुरा हुन्थ्यो होला । अरु राइमका बारेमा पनि यसरी विश्लेषण गर्न सकिन्छ । 

Monday, November 18, 2013

Thaple Bhirkot Hiking

काठमाडौं सहर साँघुरिएर वातावरणीय समस्याको चपेटामा पर्दै गएपनि उपत्यका वरपरका डाँडाहरू प्रकृतिको आनन्द लिनेहरूका लागि अझै पनि उचित गन्तव्यका रूपमा रहिनैरहेका छन् । पदयात्रा गरेर ती डाँडामा रहेका गाउँजंगल जानु शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभप्रद छन् भन्ने मान्यताका साथ अस्ति शनिवार हामी चारजना सीतापाइलामाथिका भीमढुंगा, थाप्ले, भीरकोटतिरका गाउँमा एक दिनका लागि  घुम्न निस्कियौं । रोशन शेरचन दाइ र प्रभाकर गौतमजीसँग बिहिवारै गरेको सल्लाहअनुसार त्यो क्षेत्र हाम्रो गन्तव्य निर्धारित भएको थियो र विमल आरोहीजीले पनि जाने इच्छा देखाएपछि हामी चारजना भयौं यात्राका सहभागी ।

प्रभाकरजीसँग बिहान पौने आठमा नयाँ बानेश्वर चोकमा भेटी उहाँको मोटरसाइकल चढेर न्युरोड गइयो । केही बेरमा रोशन दाइ पनि मोटरसाइकलमा आउनुभयो । त्यसपछि विमलजीको डेरामा दुवै मोटरसाइकल राखेर पैदलै हिँड्न थाल्यौं गन्तव्यतर्फ । स्वयम्भू चोकमा दुई किलो सुन्तला किनेपछि सीतापाइला चोक पुगेर भीमढुंगातिर सोझियौँ हामी । नेपाली साहित्यका विषयमा हामी गफ गर्दै हिँड्दै थियौं । एउटा पसलमा हल्का चिया चमेना गरेपछि भीमढुंगा लाग्ने उकालो उक्लियौं । पिच बाटो सकिएर अब कच्ची बाटो सुरु भएको थियो । बाटामा भेटिएका मानिसहरूसँग बाटो सोध्दै अघि बढ्यौं हामी । निकैबेर हिँडेपछि एउटा विशाल ढुंगा देखियो । सायद त्यही नै हो कि भीमढुंगा ? त्यहाँ एकछिन सुस्ताउने हेतुले बस्दा सुन्तला छोडाउन थाल्यौं । गफका सिलसिला जारी नै रहे ।

एकछिनपछि फेरि बाटो लाग्न थाल्यौं । केही माथि पुगेपछि बाटोबाट पूर्वतर्फ टाढा दृष्टि फ्याँक्दा विशाल उपत्यका देखियो । आकाश खुलेकाले गर्दा उपत्यका टाढासम्म देखिएको थियो । त्यही बाटोको किनारमा तोरीबारी पनि देखियो र त्यहाँ फोटो खिच्ने लोभ संवरण गरिरहन सकेनौं हामीले । त्यसपछि अघि बढ्दै जाँदा कहिले ठाडो उकालो आउँथ्यो भने कहिले तेर्सो बाटो पनि आउँथ्यो । साना जंगलबाट आएको शीतल पवनले मनमस्तिष्कमा आनन्दको संचार गरिरहेकै थियो । जाँदाजाँदै अलि उकालोमा हामीले अप्रत्याशित रूपमा पश्चिमतर्फ तरेली परेका डाँडा, सानासाना गाउँवस्ती र प.....र हिमशृंखला देख्यौं । सबैको मुखबाट सामूहिक रूपमा वाह निस्कियो । क्यामराले काम पाए केही समयका लागि । यति छिटै यस्तो मनोरम दृश्य अवलोकन गर्न पाइएला भन्ने हामी कसैले पनि अपेक्षा नगरेकोले पनि होला त्यो दृश्यपान हाम्रा लागि आनन्दको स्रोत बनेको । माथि नीलो आकाश, बादलका केही आवारा टुक्राहरू, चमकदार सूर्य, चिसो बयार, हरिया जंगल र गाउँवस्ती अनि दृष्टिको अन्तिम सीमामा ठडिएको अन्नपूर्ण मनास्लु हिमशृंखला । अद्भुत !

यस्तो स्वर्गीय आनन्दबाट विमुख हुन नचाहेपनि यात्रा अघि बढाउनैपर्ने भएकाले हामी उकालो लाग्यौं । हिँड्दै बीचमा केही क्षण थकाइ मार्दै माथि जाँदा हामी थाप्ले पुगेछौं । चुनाव प्रचारका कार्यक्रम चल्दै थियो त्यहाँ । हामीलाई पनि गाउँलेहरूले कुनै दलको कार्यकर्ता भन्ठानेछन् । हामी शनिवारको बिदाको सदुपयोग गर्ने पदयात्री हौं भनी बतायौं । सबैलाई भोक लाग्दै गरेको तथा थकाइ पनि लागेको अनुभूति हुन थालेपछि एउटा पसलमा गयौं । त्यो पसलकी तामाङनी दिदीसँग चाउचाउ किनेर खान थाल्यौं । रोशन दाइले फुलमकै ल्याउनुभएको रहेछ अनि प्रभाकरजीले गुन्द्रुकको अचार । ती पनि झिकेर खान थाल्यौं । आहा, गुन्द्रुकको अचार कस्तो स्वादिलो लाग्यो मलाई त ! अमिलो, नून ट्वाक्क मिलेको अनि लसून र डल्ले खुर्सानीले स्वाद बढाएको । प्रभाकरजीले गजब बनाउनुहुँदो रहेछ अचार त । बाटामा दालमोठ किनेका थियौं, त्यो पनि मिसायौं । चिउरा त छँदैथियो ।  थपीथपी खाएँ मैले । रोशन दाइ र प्रभाकरजीले चाहिँ स्थानीय छ्याङ पनि खानुभयो ।
हामीले पसलमा खाँदै गर्दा अरु गाउँले पनि आए । रोशन दाइले नेपालका धेरै भूभागमा वातावरणविज्ञ भएर घुम्नुभएकाले होला जोसँग पनि छिट्टै घुलमिल हुन सक्नुहुँदोरहेछ । अनि त गाउँलेहरूसँग गफका सिलसिला सुरु भइगए नि । चुनाव मुखमा भएकाले त्यसैको गफ भयो । गाउँलेहरू नेतासँग आक्रोशित थिए र जसले पक्की बाटो ल्याउँछ गाउँमा त्यसैलाई भोट दिने हो भन्दैथिए । एकजना तामाङनी अलि हाजिरजवाफी रहिछन्, रोशन दाइसँग उनको रमाइलो जुहारी चल्यो । एक घन्टा लगभग त्यतै बित्यो ।

नारायणको मन्दिर र गुफा घुम्नलायक ठाउँ हुन् त्यहाँका भनी स्थानीयहरूले बताएपछि मलाई गुफा जान मन लाग्यो र साथीहरूलाई उक्साएँ । तर त्यो ठाउँ एक त साह्रै एकान्तमा रहेछ अनि जाने बाटो पनि अलि डरलाग्दो रहेछ त्यसमाथि हामी बाटो पनि अल्मलिएछौं । त्यसैले त्यता जाने योजना रद्द गरेर भीरकोटतिर लाग्यौं । त्यताको उचाइबाट काठमाडौं हर्दा मजा आउने रहेछ । विमान अवतरण गरेको दृश्य रमाइलो लाग्यो ।
भीरकोटमा कोदो टिपेर घाममा सुकाउन राखिएको रहेछ भने फापर खेतमा लहलहाउँदै रहेछ । खेतमा काम गरिरहेका गाउँलेको दृश्य देखियो । एकछिन दृश्यपान गरेपछि हामीले बाटो ततायौं । साहित्य, संगीत, राजनीतिका गफ यात्राभरि जारी नै रहे । बाटो सोध्दैसोध्दै गएपनि हामी त झुक्किएछौं र मान्छे नहिँड्ने बाटो पो समात्न पुगेछौं । हराइयो अब । कसलाई सोध्ने, कोही देखा पर्दैन ! अब जे पर्ला पर्ला भनेर अघि बढ्यौं । लुगाभरि कुरो टाँसिएर दुम्सी भयौं हामी त । उकालोमा बुट्यान समात्दै चढ्दै गाउँवस्ती खोज्न थाल्यौं । भेटियो पनि गाउँ । एउटा घरमा गएर स्थानीयलाई हामीले बाटो देखाइदिन भन्यौं र उनीहरूले अलि वरसम्म हामीलाई ल्याइपुर्याए ।

तल एउटा पसल रहेछ जहाँ स्थानीयहरू भेला हुँदा रहेछन् । हामी त्यहाँ सुस्ताउन थाल्यौं अनि केही खानपान पनि गर्यौं । पसलेले भटमास साँधेर ख्वाए । केही नमिसिएको शुद्ध स्थानीय खानेकुराको स्वाद कति मीठो ! थपीथपी खाएँ मैले । कालो चिया पनि पिइयो । छ्याङ खानेले फेरि एकएक डबका थपे । अघि हामीलाई पसलसम्म ल्याइदिने गाउँलेले पनि छ्याङको सुरमा बाह्र सत्ताईस हाँक्न थाले । खासै नपढेका तर अनुभवको खानी भएका गाउँलेको तर्कशक्ति देखेर हामीले रमाइलो मान्यौं ।
अब त ढिलो हुन थाल्यो हौ ! हिँडिनहाले त घर पुगिन्न आज भन्ने भयो र हामी काठमाडौंतिर सोझियौं । डाँडाको टुप्पोमा टाँसिएको अस्ताउँदो सूर्य हेर्दै हामी ओरालो झर्न थाल्यौं । तल देखिएका खेतका गह्रा कति मनोरम ! हिँड्दाहिँड्दै झमक्क साँझले छोपिगो । पाइला अलि छिटो चालौं न भनेको टनटनी दुख्छ पो । थाहै नपाई थुप्रो पो हिँडिएछ । चाल त सुस्त नै हुने भो । पूर्वतिर माथि आँखा सोझिँदा चतुर्दशीको चन्द्रमा देखियो । नयनाभिराम लाग्यो ।

बाटामा गफ गर्दै जाँदा एउटो माइक्रोबस फुत्त छुटिगएछ । हिँडेरै सीतापाइलासम्म पुग्नुपर्ने भयो । सीतापाइला पुगेपछि रोशन दाइ सार्वजनिक यातायात चढेर जाने भन्न थाल्नुभयो र हामी छुट्टियौं । बाँकी रहेका हामी तीनजना चाहिँ विमलजीको डेरासम्म हिँडेर गयौं । त्यहाँ मोटरसाइकल झिकेर विमलजीसँग बिदाबादी हुँदै प्रभाकरजीको पछाडि बसेर नयाँ बानेश्वर आइपुगेपछि म ओर्लिएँ र घरतिर आएँ । घर पुग्दा त रातिको आठ बजिसकेको थियो । लगभग आठ घन्टा पो हिँडिएछ त । शरीर जतिसुकै शिथिल भएपनि मन चाहिँ यो पदयात्राका कारण चंगा नै थियो । सुमधुर सम्झनामा सुरक्षित छ हाम्रो यो यात्रा । अब आउने दिनमा पनि यस्ता यात्रा गर्ने नै छौं हामी ।              

Saturday, November 16, 2013

Ashwin Sanghi's "Chanakya's Chant"

"Chanakya's Chant" by Ashwin Sanghi tells parallel stories of historical figure Acharya Chanakya and his wily ways to unite scattered India under the rule of Chandragupta Maurya in the past and Gangasagar Mishra's usage of political machinations to establish Chandini Gupta to the post of the premier of modern India. In fact, Mishra is supposed to be the modern incarnation of Chanakya while Chandini  of Chandragupta. There are plenty of political conspiracies carried out by the politicians, some believable some not, to ascend to the throne. I don't want to give away the story but will suffice to say that I had a guilty pleasure reading the intrigues in the form of Saam, Daam, Danda, Bhed presented in the novel. But I remained skeptic about the easy political coups carried out by Gangasagar and his cohorts in modern India. The writer has carried out good research into ancient India and also into the caste/religion-based politics of modern India to pull off a political thriller and also has proved that he possesses a big brain. Literary tropes like parallelism, chiasmus, allusion and others are employed dexterously. However, the writer is guilty of trying to pass off Hindi words like "machaan" and "mor" as Sanskrit and he likes to repeat the phrase "had seen better days" every now and then. I believe Nepali politics also needs someone like Acharya Chanakya to get rid of the current mess but unfortunately there are ill-advising Shakunis only at the moment. 

Monday, November 11, 2013

Roshan Sherchan's "Dhobighat Express"

रोशन शेरचनको निबन्धसंग्रह "धोबीघाट एक्स्प्रेस" पढेपछि लाग्यो उनी एक अध्ययनशील र विचारशील व्यक्ति रहेछन् । साहित्य, कला र समाजमाथि उनले आफ्ना विचार पोखेका छन् यी निबन्धहरूमा । आत्मसंस्मरण, यात्रा संस्मरण, साहित्य/चित्रकला/दर्शन चिन्तन उनका निबन्धका विषय हुन् ।

पूर्ववर्ती केही नेपाली लेखकका उनी प्रशंसक रहेछन्, विशेषगरी कवि ईश्वरवल्लभ र आख्यानकार नारायण ढकालमाथि उनले असीम शब्दश्रद्धा देखाएका छन् । तर आफूलाई मन परेको लेखकको चर्चा गर्दा उनी गहिराइमा पुगेनन् जस्तो अनुभूति भयो मलाई । जस्तो, ईश्वरवल्लभका कविताको चर्चा गर्दा उनले ती "साइकेडेलिक" कविता हुन् भनेका छन् तर त्यो भनेको ठ्याक्कै के हो भनेर विस्तारमा चर्चा गरेका छैनन् । व्यक्तित्वको विमर्शमा उद्यत रहँदा कृतित्वको गहन विश्लेषण छुटेझैँ लाग्छ । म ईश्वरवल्लभका "दुरूह" कविता किन पढौं भनेर उनले मलाई कन्भिन्स गर्न सकेनन् । त्यसैगरी सरुभक्तको शून्यवादको व्याख्या गर्न पनि उनी चुके ।

एउटा निबन्धमा  उनी आफैँले "म आलोचनात्मक यथार्थवाद को समर्थक हुँ" भनेका छन् तर यो के हो भनेर प्रस्ट्याएका छैनन् । लेखनमा "राइटर रेस्पोन्सिबल" र "रिडर रेस्पोन्सिबल" भन्ने दुई प्रवृत्ति हुन्छन् र राम्रो लेखकको चिनारी पहिलो प्रवृत्तिले दिन्छ । लेखकले आफ्नो तर्क पाठकमा स्थापना गर्न आफैँ जिम्मेवार भएर बुझाउन कोसिस गर्नुपर्ने पहिलो प्रवृत्तिको मान्यता हुन्छ । आफूले लेखेपछि जिम्मेवारी सकियो, पाठकले बुझ्नुपर्यो भन्ने दोस्रो प्रवृत्ति चाहिँ घातक हुन्छ । मैले यो प्रसंग किन उठाएको हो भने शेरचनले आफ्नो पहिलो निबन्धसंग्रह "मष्तिष्कहरूको मृत्यु" दुरूह भएर अधिक पाठकमा नपुगेकाले पछि "चम्पारण ब्लुज" र अहिले यो  किताबमा सरल/सम्प्रेषणीय बन्न खोज्दैछु भनेकाले उनीबाट बोधगम्य तथा विश्वासप्रद तर्क आउलान् भन्ने मेरो अपेक्षा रह्यो । विचारयुक्त सरल लेखन स्वागतयोग्य हुन्छ भन्ने मेरो मान्यता छ ।

"म कविता किन लेख्छु" भन्ने निबन्ध भने संग्रहकै उत्कृष्ट लाग्यो मलाई । कवितालेखनका बारेमा उनका  भावुक र बौद्धिक धारणालाई उनले मीठो भाषामा पस्केका छन् । "कविताको नैसर्गिक आशावादिताको अगाडि  जीवनको गहिरोभन्दा गहिरो दु:ख पनि कमजोर छ" जस्ता मुग्धकारी वाक्य छन् यसमा । शीर्ष निबन्ध "धोबीघाट एक्स्प्रेस" चाहिँ निबन्ध र आख्यानको सम्मिश्रण बन्न पुगेको रहेछ । आख्यानमा हात हाल्ने हो भने शेरचन सफल हुन्छन् भन्ने संकेत मैले यस निबन्धमा पाएँ किनकि पाठकलाई आख्यानको लालित्यमा विलोप गराउनसक्ने भाषा शैली मैले यसमा भेटेँ  । यात्रा संस्मरणमा पनि शेरचनको प्रतिभा मुखरित भएको छ र "कोलाज यात्रा: छ्याङ्दोर, भालुखोप र ओक्रा" मा पाठकलाई सहचारी बनाउन सफल भएका छन् उनी ।

"फेसबुक संसार र विसङ्गतिका काराभान", "शैलीको खोजीमा", "साहित्यमा विचार चिन्तन" लगायतका निबन्धमा भने उनी तुलनात्मक रूपमा कमजोर लाग्छन् तर्कमा । शेरचन साहित्यमा आफ्नै मौलिक चिन्तनतर्फ अग्रसर स्रष्टा हुन् तर अहिलेलाई भने  उनले  अर्काको विचार ल्याएर त्यसमा आफ्नो विचार मिसिएको छ भनेर टारेका छन् ।

भाषागत त्रुटि पुस्तकका कमजोरी हुन्, देवनागरी र रोमन दुवैमा गल्ती भेटिन्छन् (जस्तो पेज २३० मा) ।


एक निबन्धमा सिकारु समीक्षकले गरेको समीक्षालाई महत्त्व दिनुहुन्न भन्ने शेरचनले मजस्तो सिक्दै गरेको समीक्षकका प्रतिक्रियालाई कसरी ग्रहण गर्लान् भन्ने मलाई जिज्ञासा लागेको छ ।                                          

Saturday, November 9, 2013

Bhupeen's "Chaubees Reel"




भूपिनजीको निबन्ध संग्रह "चौबीस रिल" मा जीवनका विभिन्न घटनाका संस्मरणलाई काव्यिक पारामा प्रस्तुत गरिएको पाएँ । कविताका सम्बन्धमा उनको धारणा, कविमित्रहरूको संगत, कविता सुनाउन गरिएका भ्रमण, घरपरिवारका पुराना घटना, पढाइका स्मरण, ईश्वर/जीवन/जगत् प्रतिका धारणा, विभिन्न स्थानका यात्रा संस्मरण यो पुस्तकमा अटाएका छन् । लेखक यात्रा संस्मरणमा अधिक खुलेका छन् । यात्रामा आफूसँगै पाठकलाई समेत डुलाउन सफल भएका छन् । अन्नपूर्ण आधारशिविर, पुट्टपर्ती, बेङ्लोर र पोन्डिचेरीका नियात्रा पढ्दा आनन्दानुभूति भयो । गहन चिन्तन गर्ने प्रयास गरिएका निबन्ध भने तुलनात्मक रूपमा कमजोर लागे । "सांस्कृतिक बिम्ब", "अस्तित्व", "नदी र जीवन", "हत्यारा सोच", "जीवन: साझा बसको अन्तिम सिट" मा शब्दशिल्प मात्र भेटेँ मैले, चिन्तनको गहिराइ पाइनँ । आफूलाई मन परेका लेखक साहित्यकारका नामावलि र तिनका केही रचनाको कोरा फेहरिस्तमा सीमित लागेधेरजसो निबन्धहरू । भाषामा बेजोड पकड भएका लेखकको चिन्तन र तार्किक सामर्थ्य त्यही स्तरको होस् भन्ने मेरो आग्रह रह्यो । त्यति कन्भिन्सिङ लागेनन् उनका तर्कहरू । उनले गरेको कलाको पूजन ईश्वरको अस्तित्वलाई नकारेपछि जन्मिएको शून्यतालाई भर्ने मोडर्निस्ट प्रयास हुनसक्छ । कलाले सामाजिक हितका लागि भौतिक योगदान गर्न नसकेको पीडा भने लेखकले राम्ररी उधिनेका छन् (जस्तो, "सांग्रिलाको हृदय" मा बुधेको वर्णन) । "भोकको संगीत" मा करुणा उत्पन्न गराउने उनको प्रयास बाउ छोराको नचाहिँदो अडानले भुत्ते बनाएको अनुभव भयो मलाई । पुस्तकमा तथ्य र भाषामा दुवैमा धेरै कमजोरी भेटेँ मैले । "कवच" लाई कवज भनेका लगायत भाषिक कमजोरीको त लामै सूची तयार हुन्छ, अझ अंग्रेजी शब्दलाई देवनागरीमा लेख्दा त हास्यास्पद शब्द बन्न पुगेका छन् । भाषा हेर्ने विमलजीको तीखो दृष्टि यता नपुगेकोमा मलाई आश्चर्य लाग्यो । कुनै कुनै बिम्ब पनि नमिलेका रहेछन् । जस्तो, पेज ९२ मा "हाम्रो आशाको सानो द्वीप आइसक्रिमझैँ पग्लन थाल्यो" । एक त दीप भन्न खोजेको द्वीप भयो होला त्यसमाथि दीप पनि त पग्लदैन, मैन हुनुपर्ने हो । अनि तथ्यगत त्रुटिमा चाहिँ पेज १०८ मा "भियतनाम युद्धमा स्वयं अमेरिकाद्वारा सोभियत सेनाको विरुद्ध हतियार सुम्पिएको भनिएको बिन लादेन" । लादेन त अफगानिस्तानमा रसियनहरूसँगको युद्धमा पो थियो । त्यसैगरी बारीमा उभ्याइने बुख्याँचालाई पपेट भनिएको छ । अर्को संस्करणमा यसलाई सुधार्नु जरुरी छ । तर्कलाई माझ्न र चिन्तनको गहिराइमा अझ गोता खेल्न लेखकले श्रम गर्नुपर्ने मेरो निष्कर्ष रह्यो भने भाषा शैली चाहिँ प्रशंसायोग्य लाग्यो ।

Friday, November 8, 2013

Dean Koontz's "From the Corner of His Eye"

१०० वटा किताब लेखिसकेका डिन कून्ट्जको लामो उपन्यास "फ्रम द कर्नर अफ हिस आइ" मा सस्पेन्स, थ्रिल, जादुयी यथार्थवाद, क्वान्टम फिजिक्सको ककटेल भैकन पनि कथाको गति अल्लि स्लो नै लाग्यो । पाठकलाई बाँधेर राख्ने कला यसमा खासै भेटिएन । त्यसैले मलाई यो उपन्यास सक्न बेर लाग्यो । तर चरित्रविकास चाहिँ गजब लाग्यो यसमा । प्रत्येक पात्रको ब्याकग्राउन्ड मसिनोगरी केलाइएको पाएँ । जुनियर केन भन्ने क्रूर हत्याराले एउटी महिला सेराफिमलाई बलात्कार गरेर भाग्छ । पछि उसले आफ्नी पत्नी नाओमीलाई टावरबाट खसाएर मार्छ तर यो दुर्घटना भएको भन्ने पार्छ र अझ सरकारबाट क्षतिपूर्ति समेत पड्काउँछ । टम भ्यानेडियम भन्ने पुलिसले उसको पिछा गर्छ । बलात्कृत सेराफिमबाट एन्जल भन्ने छोरी जन्मिन्छे पराभौतिक शक्ति लिएर र उसलाई सेराफिमकी बहिनी सेलेस्टिनाले पाल्छे । अर्कातर्फ एकजना दयालु महिला एग्निसले बार्थोलोम्युलाई जन्म दिन्छिन् तर अस्पताल पुर्याउने क्रममा एग्निसका पति जोइ सडक दुर्घटनामा मर्छ । बार्थोलोम्यु पनि पराभौतिक शक्तिको मालिक हुन्छ तर तीन वर्षको उमेरमा उसको आखामा क्यान्सर देखिएर आँखा झिक्नपर्ने हुन्छ । त्यो क्रूर हत्यारा केनलाई बार्थोलोम्यु भन्ने मान्छे मेरो शत्रु हो र मैले मार्नुपर्छ भन्ने भान परेर त्यै मात्र धून लिएर खोज्दै हिँड्छ तर यो बालक नै हो आफ्नो अभीष्ट भन्ने पछि मात्र थाहा पाउँछ । क्लाइमेक्स अलि दमदार लागेन । मोटामोटी कथा यति हो तर अन्य धेरै चरित्र र उपकथानक छन् उपन्यासमा । केनले हत्ते गरेर बार्थोलोम्युलाई मार्न खोजेको त मलाई कंसले कृष्णको डर मानेर रातोदिन चिन्तना गरेको र अरु बच्चा मारेको जस्तै लाग्यो । उपन्यासले असल र खराबबीचको चिरन्तन द्वन्द्वको कथा बोकेको छ । लेखक आफूले जानेका कुराको चर्चा रमाई रमाई गर्छन् उपन्यासमा जसले गर्दा यसको गति धीमा हुन पुग्छ । कतिपय कुरा त सम्पादन गरेको भए हुन्थ्यो । तर उपन्यासमा यदाकदा आउने इन्साइटहरू भने मलाई मन पर्‍यो । विशुद्ध सस्पेन्स र थ्रिल खोज्ने पाठकलाई चाहिँ यसले निराश बनाउन सक्छ ।

Tuesday, November 5, 2013

Majid Majidi's "Baran"

आफ्ना रचनाद्वारा मानवीय सम्बन्धका सूक्ष्म डाइनामिकको प्रदर्शन गरेर प्रेक्षकको हृदयमा कारुण्यको उदय गराउन सफल इरानी निर्देशक माजिद माजिदीको २००१ मा आएको चलचित्र "बरान" ले प्रेमकथाको परिभाषालाई नयाँ उचाइ दिएको अनुभव हुन्छ । अफगानिस्तानमा अनवरत युद्धको समस्या आएपछि छिमेकी मुलुक इरानमा शरण लिन पुगेका मानिसले थोरै पैसामा कठोर मेहेनत गरेर पेट पाल्नुपर्ने हुन्छ । स्थानीय गरीब इरानी कामदारहरूले ती शरणार्थीको रिस गर्छन् । एउटा भवन निर्माण भैरहेको ठाउँमा नजफ भन्ने अफगानी कामदार घाइते भएपछि उसको ठाउँमा उसको सन्तान रहमत काम गर्न आउँछ । लतीफ भन्ने स्थानीय युवकले रहमतको रिस गर्छ जब उसको चिया बनाउने सजिलो काम रहमतलाई दिइन्छ । सुरुमा रहमतका विरुद्ध अनेकौं उपद्रो गरेपनि एकदिन रहमत त केटी पो रहिछे भन्ने थाहा पाएपछि लतीफमा बरान (उर्फ रहमत) प्रति प्रेम पलाउँछ र बरानको जिन्दगी सहज बनाउन उसले ठूलो त्याग गर्छ । बरानले फिल्मभर एक शब्द पनि बोल्दिन तर उ लाटी भने हैन ।  बिलकुलै नयाँ कलाकारलाई लिएर माजिदीले एक सुन्दर कथा बुनेका छन् र उनीहरूको काम प्रशंसनीय छ । प्राकृतिक प्रकाशको प्रयोग गरेर पेन्टिङको जस्तो उदात्त कला पस्कन सफल माजिदीले कवितात्मक पारामा राजनीतिक टिप्पणी गरेका छन् । सशक्त बिम्ब माजिदीको विशेषता नै हो र यसमा पनि हिलोमा गाडिएको बरानको पाइला र लतीफको त्यसप्रतिको मुस्कान लामो समयसम्म दर्शकको मनमा गडिरहन्छ । गरिबीको दु:खद कथामा समेत हास्य मिसाउन सफल छन् माजिदी । यो  कुनै पनि हालतमा हेर्न  छुटाउनै नहुने फिल्म हो ।             

Saturday, November 2, 2013

Sharada Sharma's "Agnisparsha"

शारदा शर्माको मुक्त आलेखसंग्रह "अग्निस्पर्श" पढिरहँदा तर्कको सूक्ष्मता, भाषाको कोमलता र अध्यात्मको तलस्पर्शिताले मुग्ध बनायो । समाज र जीवनमा भोगिरहिएका सत्यहरूको दृष्टान्त पक्रेर अध्यात्मको भावभूमिमा प्रवेश गर्ने यी आलेख गम्भीर साहित्य रुचाउने पाठकका लागि गतिला बौद्धिक खुराक बन्नपुगेका छन् । जम्मा ३८ वटा आलेख रहेका छन् पुस्तकमा । नारीको अवस्था, कविताको उच्चता, नैतिकताका ह्रासजनित आधुनिक अवस्था, बौद्धदर्शनको व्यावहारिकता, ओशोको ध्यानविधि तथा विद्वत्ताका परिचर्चा, नेपालका विडम्बनायुक्त राजनीति लगायतका विषयहरू समेटिएका छन् यी चिन्तनहरूमा । आलेख पढ्दा यस्तो अनुभूति हुन्छ, शारदा शर्मा आफ्नो वर्तमान जीवनप्रति सन्तुष्ट छैनन् । एककिसिमको सम्झौताको कुरूपता छ जीवनमा । उनको "विवाह एक प्रेमरहित सम्झौता हो" भन्ने आशयका वाक्य पढ्न पाइन्छ केही लेखमा ।  त्यसैले त उनी ईश्वर स्मरण, मोक्ष चिन्तन र अध्यात्म परिशीलनका कुरा दोहोर्याउँछिन् आफ्ना यी रचनामा । यो एक वाक्यले उनको परिलक्ष्यलाई प्रस्ट्याउँछ, "हरक्षण मृत्युका पन्जाभित्र रहेको सौन्दर्यमय जीवनको स्वप्नवत् अल्प  आनन्दको सीमा अतिक्रमण गरेर असीम सच्चिदानन्दतर्फ जाने बाटो म खोजिरहेकी छु ।" नारीमुक्ति आन्दोलनमा लागेकालाई यो पलायनवादी सोच लाग्नसक्छ, यही  संसारमा संघर्ष नगरेर पराभौतिकताको खोज गर्ने भनेर । त्यसो त शर्माको नारीप्रतिको "इसेन्सियलिस्ट" विचार "स्वास्नीमान्छेको जन्मजात स्त्रीभाव भनेको कोमल, प्रेमपूर्ण, मातृवत् भाव हो" भन्ने वाक्यांशमै झल्केको छ । यी भावबाट इतर हुने नारीहरू उनका शब्दप्रहारका निशाना बनेका छन् । मलाई प्राय: सबै आलेख मन परे पनि आत्मबोधतर्फको आन्तरिक यात्रा भौतिक तीर्थयात्राभन्दा महान् हुन्छ भन्ने सन्देश बोकेको  "तीर्थयात्रा' चाहिँ विशेष मन पर्यो । मान्छेको असन्तोषी  प्रवृत्तिमाथिको उनको व्यङ्ग्य  र धन्यताको उनको आग्रहले प्रभावित पार्यो मलाई, वेदको झल्को पाएँ  मैले यसमा । "वास्तवमा संसारमा नयाँपन त एउटा आभास मात्रै हो जीवनको, जुन हाम्रा स्पर्शले नै समाप्त हुने गर्छ" र "उपलब्धप्रति कृतज्ञता र अहोभावले जीवनलाई आनन्दमय बनाउँछ" जस्ता वाक्य अत्यन्त सान्दर्भिक छन् अहिलेको युगका लागि । आलेखहरूमा भाषिक अशुद्धताले भने केही रसभंग गरेको अनुभूति हुन्छ । जस्तो,  संन्यासलाई सन्यास भनिएको छ, त्रस्तलाई त्रस्त्र । यी  कमजोरीलाई पन्छाउने हो भने यो एक उत्कृष्ट पुस्तक हो भन्न मलाई कुनै आपत्ति छैन ।                                    

Friday, November 1, 2013

Movies "Into the Mind" and "The Purge"

"इन्टु द माइन्ड" हिमाच्छादित पहाडहरूबाट स्किइङ गर्ने सहासी युवकहरूको आश्चर्यलाग्ने क्रियाकलाप समेटिएको सुन्दर चलचित्र रहेछ । सिनेमाटोग्राफी, एडिटिङ (हिउ हुँदा र नहुदाका पर्वतीय जंगलको दृश्य मिश्रण) विस्मयकारी छ । कथा क्यै नि छैन । अत्यन्त सहासी काम गर्नलाई शरीरमात्र बलियो भएर पुग्दैन, दह्रो दिमाग नि हुनुपर्छ भन्ने सन्देश होला फिल्मको । विशेषगरी क्यानाडाको ब्रिटिस कोलम्बिया अनि विश्वका अन्य पहाडमा स्किइङ गर्ने दृश्य सुरुसुमा त मज्जा लाग्छ तर हेर्दै जाँदा त्यै मात्र दोहोरिएकाले झर्को लाग्छ । कर्म छिरिङ लामाले माने घुमाको मोटिफ अनि जोसेफ क्याम्पबेलको "द हिरो विथ अ थाउजेन्ड फेसेस" भन्ने किताबबाट सापटी मागिएका च्याप्टरले फिल्मलाई दार्शनिक बनाउन खोजेका भएपनि कथासथा क्यै नभकाले गर्दा पूरै हेर्दा खासै मजा आएन । प्रकृतिको सुन्दरता र भयावहता र मानिसको सहास भने राम्ररी देखाइएको छ । नेपालका पनि दृश्य छन्, बौद्धनाथतिरका । अनि अर्को फिल्म "द पर्ज" को कथा कन्सेप्ट राम्रो लाग्यो तर एक्जेक्युसन झुर लाग्यो । अमेरिकामा धेर हिंसा बढेकाले गर्दा वर्षको एक दिन १२ घन्टाका लागि साँझ ७ देखि भोलिपल्ट बिहान ७ सम्म जसले जे हिंसा गरे पनि छुट दिने व्यवस्था गरेको हुन्छ सरकारले सन् २०२२ मा । विशेषगरी गरिबहरू यसको सिकार बनिरहेका हुन्छन् । एउटा धनी मान्छेको परिवार पनि आफ्नो घरमा छिरेर सुरक्षित भएर बसिरहेको बेलामा छोरोले एउटा कालो मानिसलाई घाइते अवस्थामा गुहार माग्दै कराएको देखेपछि घरमा छिराउँछ र यसले गर्दा त्यो घरमाथि आक्रमण हुन्छ । फिल्ममा देखाइएको अतिशय रक्तपातले वाक्कै लगाउँछ । अमेरिकामा बढिरहेको हिंसामाथि व्यङ्ग्य गर्न बनाइएको भएपनि मान्छेलाई मारेको धेर देखाइएकाले यो एउटा औसत दर्जाको फिल्म मात्र बन्न पुगेको छ ।