"मुकुन्डो" को चर्चा गरौँ ।
यो एउटी मानसिक असन्तुलनले ग्रसित महिला, उनका पति र एउटी माता (महिला झाँक्री) का वरिपरि बुनिएको कथा हो । दीपक र सरस्वती (गौरी मल्ल) सुखी दम्पत्ती हुन् । दुईजना छोरीका साथ यिनीहरू खुसीखुसी जिन्दगी बिताइरहेका छन् । साधारण परिवार हो यो, दीपक धनी सेठकोमा सेक्युरिटी गार्डको काम गर्छन् । छोराको चाहनाले तेस्रोपटक गर्भवती भएकी छिन् सरस्वती । उनी धर्मकर्ममा विश्वास राख्छिन् । एउटा साधु अनि लङ्गडो फूलबेचुवाको सुझावमा माता त्रिपुराको दर्शन र आराधना गरेर उनी छोरै पाउँछिन् तर अल्पायुमै त्यो छोरो मर्छ । त्यसपछि सरस्वतीको दिमागी असन्तुलन देखिन थाल्छ । दीपक समस्या समाधानका लागि माताजी गीता (मिथिला शर्मा) को शरण पर्छन् । माताको आफ्नै समस्या छ । उनी आफ्नो पति अल्पायुमै मरेपछि पतिको आत्मा चढेर झाँक्री बनेकी हुन् र उनी पराभौतिक ईश्वरीय तत्त्वसँगको सम्बन्धभन्दा पनि मानावीयताको धरातलमै रमाउन चाहन्छिन् । उनी दीपक र सरस्वतीप्रति आकर्षित हुँदै जान्छिन् र उनीहरूको घर आउने जाने गर्छिन् । दीपकमा सायद उनी पतिको छवि देख्छिन् । सरस्वती उनीसँग कुरा गर्न पाएर खुसी नै हुन्छिन् र दीपक पनि आफ्नी पत्नी सामान्य हुँदै गएकोमा खुसी हुन्छन् । एकदिन दीपक र गीता जात्रा हेर्न जान्छन्, सरस्वती वाक्वाक आयो भनेर जान्नन् । राति अबेला फर्केपछि सरस्वती दीपकसँग अर्को आइमाइमा आसक्त भएको भन्दै झगडा गर्छिन् । उनमा पागलपन चढ्दै जान्छ । उनीहरू फेरि माताकोमा जान्छन् र त्यहाँ आश्चर्यचकित पार्ने घटना हुन्छ ।
महिलाको सूक्ष्म मनोविश्लेषण गरिएको यस्तो बहुआयामी चलचित्र नेपालीमा त खासै बन्दैनन् । सरस्वतीलाई गर्भवती भएपछि हुने तनाव (पोस्टपार्टम डिप्रेसन) त छँदै थियो त्यसमाथि पनि अझ त्यो छोरा मर्दा भएको पीडाले मानसिक रोगी नै बनाउँछ । समाजमा मानसिक रोगलाई अझै अस्वाभाविक नै मानिन्छ । यो चलचित्रमा मानसिक रोगलाई धामी झाँक्रीको अभ्यासरूपी पछौटे संस्कारको आवरणमा दर्साइएको छ र यो बडा राम्रो उपलब्धि मान्नुपर्छ । महिलालाई हुने यस्तो मानसिक समस्या समाजले बुझ्न नसकेर झन् गाह्रो पारिरहेको हुन्छ । चलचित्रमा पनि दीपकले आफ्नी पत्नीको समस्या बुझ्दैन, सासूले त झन् दुष्ट व्यवहार गर्छिन् । पीडितलाई नै दोष दिने प्रवृत्ति (ब्लेमिङ्ग द भिक्टिम) लाई चित्रण गरिएको देखिन्छ । असहाय स्थितिकी महिलाको राम्रो प्रस्तुति गरिएको छ । अनि झाँक्री महिलामा सुपरइगो र इडको द्वन्द्वजनित मानसिकताको समेत आकर्षक चित्रण पाइन्छ । उनीसँग बस्ने पुजारी उनलाई आफ्नो बाटो नछोड्न भनिरहन्छन् तर उनी पुरुषप्रति आकर्षित छिन् । सामान्यताको मुकुन्डोमा लुकेको गम्भीर मानसिक असामान्यतालाई यो चलचित्रले देखाएको छ । चलचित्रका अन्य कुरा गर्दा, क्लोज अप सटहरूको बाहुल्य छ चलचित्रमा, पात्रको महत्त्व उजागर गरेको तथा भाव भंगिमालाई नजिकबाट अवलोकन गरेको देखिन्छ । आइरनीको प्रयोगसमेत गजबले गरेका छन् निर्देशकले । भौतिकवादी कम्युनिस्ट पार्टीको चिह्न हँसिया हतौडाका पर्चामुनि पात्रहरूले धार्मिक कार्य गरेका दृश्य दोहोरिरहन्छन् ।
फिल्ममा कमजोर पक्ष पनि छन् । संवाद संप्रेषणीयता नेपाली चलचित्रको ठूलो कमजोरी हो र यसमा पनि त्यही समस्या छ । असहज र अप्राकृतिक लाग्छन् पात्रहरूले संवाद भन्ने तरिका । अनि फिल्मको क्लाइमेक्समा समस्या छ । दुई सशक्त नारी पात्रबीचको द्वन्द्वलाई अवतरण गर्ने तरिका अल्लि चित्तबुझ्दो लागेन । हतारमा सकेको जस्तो देखिन्छ । काठमाडौंको तान्त्रिक रहस्यमयतालाई फिल्मले पक्रेको छ तर केही बिम्ब बारम्बार दोहोरिरहँदा यो विदेशीलाई पूर्वीय एक्जोटिक कुरा देखाउन बनाएको चलचित्रजस्तो लाग्न पुग्छ । यसका बाबजुद समग्रतामा कुरा गर्नुपर्दा यो एक उत्कृष्ट चलचित्र हो भन्ने मेरो ठम्याइ छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment