"टिन्कर टेलर सोल्जर स्पाइ" जासुसी उपन्यासका प्रख्यात लेखक जोन ले कारको उपन्यासमा बनेको शीतयुद्धकालीन कथामा बनेको चलचित्र हो । ब्रिटिस जासुसी संस्थामा रहेको तर रुसका लागि काम गर्ने धोकेबाज जासुसलाई पत्ता लगाउने कथा बोकेको यो चलचित्र एकदम जटिल र बोझिल भएकाले मैले एक त सबै कुरा बुझ्नै सकिँन अनि पटक्कै मजा लिन पनि सकिँन । कालो, धमिलो, चिसो वातावरण पूरै चलचित्रभरि नै व्याप्त हुनाले एकरत्ति रमाइलो लागेन । जासुसी उपन्यासको राम्रो ज्ञान भएकाहरूले बुझ्छन् यसलाई, मैले त बुझिँन र मलाई राम्रो लागेन ।
Sunday, March 4, 2012
Film Review "A Separation" and "Tinker Tailor Soldier Spy"
बिदेशी चलचित्रको अस्कर जित्न सफल "अ सेपरेसन" गहन अर्थवत्ताले सम्पन्न सुन्दर कलात्मक चलचित्र हो । इरानी उच्चमध्यम वर्गको एक परिवारको यो कथाले पूरै इरानी समाजकै बारेमा गम्भीर टिप्पणी गरेको छ । नादेर र सिमिनका बीचमा फाटो आएपछि उनीहरू तलाकको स्थितिमा पुग्छन् । सिमिनलाई आफ्नी छोरीको राम्रो भविष्यका लागि इरान छोड्न मन लागेको छ भने नादेर आफ्ना बूढा बिरामी बाउलाई छोडेर बिदेश जान चाहँदैनन् (आमा मरिसकेकी छिन् सायद नादेरको) । न्यायाधीशले तलाकका लागि सिमिनले राखेको तर्क खारेज गरिदिन्छन् र तलाक लिन दिँदैनन् । सिमिन माइतमा बस्न थाल्छिन् । उनले आफ्नी छोरीलाई सँगै लान चाहन्छिन् तर उनीहरूकी ११ वर्षीया छोरी बा आमाका बीच फाटो नआओस् भन्ने इच्छा राख्ने भएकाले बासँगै बस्छिन् किनकि त्यसो गर्दा आमाले छोडेर जान्नन् भन्ने उनको अनुमान छ । पत्नीले छोडेर गएपछि नादेरले पत्नीकै सिफारिशमा एउटी काम गर्ने महिला राख्छिन् तर ती काम गर्ने महिलाका कारण नादेर ठूलो समस्यामा पर्छन् । गर्नुपर्ने काम राम्ररी नगरेको रिसका कारण नादेरले ती महिलालाई दिएको धक्काले उनको गर्भ तुहिन्छ र नादेरले व्यक्तिहत्याको आरोप खेप्नुपर्छ । योपछि के हुन्छ भन्ने जान्नका लागि चलचित्र नै हेर्नुहोला । एउटा पति र पत्नीका बीचको फाटो (सेपरेसन) मात्र नभएर नयाँ र पुरानो पुस्ता, धनी र गरीब, धर्म र व्यवहार, कानुनको मर्म र शब्दका बीचमा रहेको फाटोमाथि पनि टिप्पणी गरेका छन् चलचित्रका निर्देशक अस्गर फर्हादीले । तर सबैभन्दा बढी वर्गविभेदकै बारेमा टिप्पणी गरिएको छ यसमा । घरमा काम गर्न राखिएकी महिलाका जुत्ता बनाउने पतिले उच्च वर्गका नादेरमाथि देखाएको आक्रोशले इरानी समाजमा व्याप्त वर्गविभेदको सूक्ष्म चित्र देखाएको छ । यो चलचित्रलाई यादगार बनाउन यसको सिनेमाटोग्राफीले समेत ठूलो योगदान पुर्याएको छ । महान् निर्देशक ओर्सन वेलेस र अकिरा कुरोसावाको प्रभाव यो चलचित्रको क्यामेरा यांगलमा देख्न पाइन्छ । डिप फोकस फोटोग्राफीको पद्धतिमा रहँदै वेलेसको तरिका अपनाइएको छ अनि पात्रको महत्त्वलाई उजागर गर्न अर्को पात्रले अझ क्यामेराको भिजन अब्स्ट्रक्ट गर्ने काम गरिएको छ तथा क्यामेरालाई कुनै दृश्य हेर्ने व्यक्तिको पछाडि लगेर त्यो व्यक्तिसँगै दृश्य देखाउने कुरोसावाको तरिकालाई यसमा पच्छ्याइएको छ । सबै कलाकारले यसमा अब्बल अभिनय गरेका छन् । सिमिनको भूमिका खेल्ने लैला हतामी त अनुपम सुन्दरी नै हुन् र उनले अभिनय पनि दमदार गरेकी छिन् । यसका सबै पात्रले एक न एकचोटि झूट बोलेकाले कोहीमाथि पनि विश्वास गर्न सकिन्न । कुरोसावाको "रासोमोन" जस्तो कसको विश्वास गर्ने भन्नेमा नै दर्शकलाई समस्या हुन्छ । तर पात्रहरूप्रति सहानुभूति नै जाग्छ दर्शकको । अनि रासोमोनकै प्रभावमा परेर यो चलचित्रको सुरुवातमा न्यायाधीशसमक्ष पेश भएका नादेर र सिमिनले आफ्नो कुरा राख्छन् तर न्यायाधीशलाई देखाइँदैन, आवाजमात्र सुनाइन्छ । दर्शक नै न्यायाधीश हुनुपर्नेछ । चलचित्रका सबै पक्ष सबल भएकाले यो उत्कृष्ट बन्न पुग्यो र प्रतिष्ठित पुरस्कारको हकदारसमेत बन्यो । कुनै हालतमा पनि हेर्न नछुटाउनुहोला ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment