Sunday, March 4, 2012

Book Review "Steve Jobs"

स्टिभ जब्सको जीवनी पढिसिध्याएँ । वाल्टर आइज्याक्सनले जब्सको समग्र जीवनी मीठो पारामा प्रस्तुत गरेका छन् । जीवनीलेखनमा प्राय: स्तुतिवाद हावी हुने गर्छ तर यसमा सन्तुलन कायम गरिएको पाएँ । जब्सको बहुलट्ठी व्यवहारको पनि उल्लेख गरिएको छ भने उनका महानतालाई पनि बताइएको छ । जब्स अल्लि साइको नै मान्छे रहेछन् : कसैले जे नयाँ कुरा ल्याएपनि "बकवास" भन्दिने, आफूले भनेजस्तो भएन भने रोइदिने, जोसँग पनि चर्काचर्की बाझिदिने । तर यो सबै उनले राम्रो वस्तु मात्र उत्पादन होस्, साधारणमा मानिसले चित्त नबुझाउन् भन्नका लागि गरेका रहेछन् र मानिसको सिर्जनात्मक प्रतिभालाई उजागर गर्न उनी खप्पिस रहेछन् । त्यसैले त उनको संस्था याप्पलका उत्पादन म्याक, आइपोड, आइफोन र आइप्याडले धेरै मानिसको आकर्षण खिच्न सफल भएको । प्रविधिमा कलालाई स्थान दिनुपर्ने सौन्दर्यशास्त्री चिन्तन बोकेकाले याप्पलका उत्पादनले बजार पिटेका हुन् । हुन त मैले अहिलेसम्म याप्पलका कुनै पनि उत्पादन प्रयोग गरेको छुइनँ तर जब्सको जीवनी पढेपछि तिनमा मेरो रुचि बढेको छ । जब्स युवाकालमा भारत आएर नीम करौली बाबाको संगतमा बसेका रहेछन् र आध्यात्मिक चिन्तनमा उनको रुचि जीवनभर रह्यो । जेन दर्शनबाट पनि प्रभावित भएको हुनाले उनी वस्तुमा जेनको समता र शान्ति कायम राख्न जोड दिन्थे । तर उनी आफैँ चाहि शान्त व्यक्ति थिएनन् । प्राय: तनावमै हुन्थे र भित्रको रिसराग व्यक्त पनि गर्थे । उनीसँग काम गर्ने मान्छेलाई धरक्कै पार्थे । यति हुँदाहुँदै पनि विश्व हल्लाउनसक्ने उत्पादन गराउन आफ्ना मान्छेलाई प्रेरणा दिन उनी सफल थिए । शाकाहारी, फलाहारी, उपवासकर्ताका रूपमा सात्विक जीवन जिएका जब्सको मौलिक चिन्तनभन्दा पनि वस्तुको ग्राह्यता परख्न सक्ने कला थियो । उनको प्रतिद्वन्द्वी बिल गेट्सले पनि माइक्रोसफ्टमार्फत संसार जितेका हुन् तर कलात्मक वस्तु उत्पादन त जब्सकै विशेषता रह्यो । अझ पिक्सार भन्ने संस्था खोलेर उनले यानिमेसन फिल्मको दुनियाँमा ल्याएको तहल्का त इतिहासमा स्वर्णाक्षरमा राख्न योग्य छ । उनको व्यक्तिगत जीवन पनि उतारचढावपूर्ण थियो । प्यान्क्रियाजको क्यान्सरले लानुअघि उनले एउटा रमाइलो जिन्दगी जिएका हुन् भन्नेमा दुईमत हुन सक्दैन । यस्तो रमाइलो जीवनलाई रुचिकर पारामा मीठो भाषामा प्रस्तुत गरिएको यो पुस्तक सबैले एकचोटि पढ्नैपर्ने खालको छ ।

No comments: