"मुकुन्डो" जस्तो विश्वस्तरीय नेपाली चलचित्र बनाएका शेर्पाको "कर्मा" भने साधारण चलचित्र बन्न पुगेको छ । उपल्लो मुस्ताङका मोनास्ट्रीमा बस्ने भिक्षुणीहरूको बारेमा बनेको यो चलचित्रले विशेषगरी आनी कर्माको भौतिक यात्रालाई पच्छ्याएको छ जुन यात्राले उनलाई आध्यात्मिक पाठसमेत पढाउँछ । उपल्लो मुस्ताङबाट सुरु गरेर पश्चिमी तराईसम्मको यात्रा र फेरि मुस्ताङमा पुगेको कथानक भएको यो "रोड मुभी" को कथा कमजोर लाग्यो ।
मोनास्ट्रीकी प्रमुख भिक्षुणीको मृत्युपछि उनको आत्माले पुनर्जन्म पाउनका लागि ठूलो प्रार्थना गर्नुपर्ने र त्यसका लागि पैसा चाहिने भएपछि आनी कर्मा र आनी सोनाम एउटा ताशी भन्ने व्यक्तिको खोजमा जान्छन् जसलाई प्रमुख भिक्षुणीले ठूलो रकम दिएकी हुन्छिन् । ताशी केटी बेच्ने धन्दामा लागेको भन्ने हल्ला चलेको हुन्छ । आनी कर्म ताशीको खोजमा जोमसोम, पोखरा, काठमाडौं हुँदै अन्तिममा भैरहवा पुग्छिन् र ताशीलाई पत्ता लगाउँछिन् । तर ताशी त केटीबेचुवा फटाहा नभएर बेचिएका चेलीको उद्धार गर्ने असल मान्छे पो रहेछ । सरसरी कथा यत्ति हो ।
आध्यात्मिक बोधका लागि संसारको पनि ज्ञान हुनुपर्छ । गुफामा लुकेर ध्यान गरेर मात्र पुग्दैन । मान्छेको काम आउनसके, दु:खीलाई सहयोग गर्न सके त्योजत्ति पुण्य केही हुँदैन । बौद्ध दार्शनिक नागार्जुनले भनेअनुसार संसार र मोक्ष एउटै सिक्काका दुई पाटा हुन् भन्ने सोचका साथ बनेको यो चलचित्र जत्ति विश्वसनीय हुनुपर्ने हो त्यति नभएकाले ठीकैमात्र लाग्यो । सोच राम्रो हो चलचित्रको, प्रस्तुतिकरण कमजोर र सिम्प्लिस्टिक लाग्यो । सिनेमाटोग्राफी चाहिँ बबाल हो । चाइनिज ल्याडस्केप पेन्टिङको जस्ता हिमाली दृश्यलाई अत्ति नै सुन्दर तरिकाले क्याप्चर गरिएको छ । अनि त्यो पार्श्व संगीत पनि साह्रै सुमधुर सुनिन्छ । अभिनय पनि प्राय: सबैको राम्रै छ । गैरव्यवसायिक कलाकारबाट यत्तिको काम लिनु पनि सफलै हुनु हो ।
तर सम्पादनको कमीले गर्दा कुनै कुनै दृश्य अनावश्यक लामा छन् । दस मिनेट जत्ति त चलचित्रलाई काट्न सकिन्थ्यो । निर्देशक आफैँले यो कमजोरी स्वीकारेका हुन् । आनी कर्माले आमीर खानको फोटोलाई हेरेका दृश्य दोहोरिरहन्छन् । त्यसको कुनै प्रयोजन देखिँन मैले । अनि जातभात छुवाछुतको कुरा हल्का उठाइएको छ एक दृश्यमा, त्यो पनि एकदम सिम्प्लिस्टिक लाग्यो । भोटका मान्छे सबैको नाम एउटै खालको हुन्छ भनेर हल्का टिप्पणी गर्ने होटेलवालाको अंश पनि काम नलाग्ने छ । यात्राका क्रममा एउटै मान्छे दुईचोटि गाडीमा देखिनु र पछिल्लो देखाइमा प्रमुख पात्र आनीले प्रतिक्रिया नजनाउनुले त्यो मौन पात्रको अनावश्यकता तथा स्क्रिनमा देखिन चाहने लोभ झल्काएको छ । यी यावत् कमजोरीका बाबजुद एउटा गम्भीर विषयमा बनेकाले गर्दा यो चलचित्र मलाई ठीकै लाग्यो । तर "मुकुन्डो" मा जत्ति अर्थगाम्भीर्य यसमा नभएकाले अल्लि निराश नै भए म यसबाट । टिबेटन भाषाको बाहुल्य छ यसमा, त्यसले पनि अल्लि अप्ठ्यारो बनायो । हुन त सबटाइटल थियो चलचित्रमा ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment