Sunday, March 4, 2012
Film Review "The Shining"
प्रसिद्ध लेखक स्टिफन किङको उपन्यासमा आधारित प्रख्यात निर्देशक स्ट्यान्ली कुब्रिकको हरर फिल्म "द साइनिङ्ग" हेर्दा आङ सिरिङ्ग भयो । १९८० मा आएको यो चलचित्रमा प्रतिभाशाली अभिनेता ज्याक निकोलसनले एउटा जँड्याहा लेखक ज्याक टोर्यान्सको भूमिका निर्वाह गरेका छन् । कसरी भूतहरूको प्रभावमा परेर त्यो पात्र बिस्तारै पागल हुँदै जान्छ भन्ने कथा बोकेको यो चलचित्रमा ज्याककी पत्नी वेन्डीको भूमिकामा सेली डुभालले पनि शानदार अभिनय गरेकी छिन् । उनीहरूको छोरो ड्यानी तथा अन्य कलाकारले पनि बबाल अभिनय गरेका छन् । मलाई भूतप्रेतको फिल्म रमाइलो लाग्छ तर धेरैजसो फिल्ममा अभिनेताहरूले घिनलाग्दो मेकअप गरेर, त्यो चाहिँ झ्याउ लाग्छ । तर यो फिल्ममा त्यस्तो केही छैन । भूतहरू त आउँछन् तर तर्सिने मेकअपमा देखिँदैनन् । तिनको कुरा गराइ चाहिँ चिसो र त्रासयुक्त हुन्छ । अझ यो फिल्म त हरर भन्दा पनि पागलपनसम्बन्धी फिल्म हो । मलाई पागलपनसम्बन्धी विषयले आकर्षित गर्छ किनकि मस्तिष्कका कुराहरू मलाई रुचिकर लाग्छन् । हुन त मैले याद गरेको भूतको फिल्ममा प्राय: पात्रहरूको (डरका कारण सायद) दिमागले काम नगरेको नै देखाउँछ । भूतप्रेतले बुद्धिलाई नै आक्रमण गर्छन् । हुन त एक्लोपनाले पनि दिमाग खराब गर्छ मान्छेको । यो फिल्ममा प्रमुख पात्रहरू सबै जाडोमा हिउँले घेरिएको अनकन्टार ठाउँको कोही पनि नबस्ने विशाल होटेलमा रखवाली गर्न बसेका हुन्छन् र होटेलको भूलभूलैया तथा भूताहा वातावरणले उनीहरूको दिमागमै असर पर्छ । कुब्रिक आफ्ना कलाकारलाई बेस्सरी मेहनत गर्न लगाउने मेथोडिकल निर्देशक थिए (महान् अकिरा कुरोसावा जस्तै) र सेली डुभाल त धेर मेहनत गर्न परेकाले बिरामी नै भैछन् । हुन पनि निर्देशकले धेरै सताकोले एकदम तनावमा बसेर आफ्नो अभिनयमा त्यो तनावको झल्को ल्याउन सफल छिन् उनी । फिल्म सुरुमा त अल्लि स्लो छ तर अन्तिमको ४५ मिनेट त यस्तो बाँधेर राख्न सफल छ कि सासै रोकेर हेरेँ मैले । एकचोटि हेर्नै पर्ने क्लासिक फिल्म हो यो । मैले छोटो भर्जनको हेरेँ, लामो पनि छ रे तर यो नै इन्ट्रेस्टिङ्ग छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment