साहित्य तथा फिल्मको आस्वादन गर्दा आनन्द त आउँछ नै, अझ तीमाथिको बौद्धिक समालोचना पढ्दा त झन् सुनमा सुगन्ध ! समालोचनाका धेरै धारमध्ये मलाई रुचिकर लाग्ने भनेका वामपन्थी र मनोवैज्ञानिक समालोचना हुन् । कुनै पनि रचनाका पछाडि के राजनीति अनि कुन मनोविज्ञान सक्रिय हुन्छन् भनी खोतल्नु राम्रो प्राज्ञिक अभ्यास हो । वामपन्थी राजनीतिमा मेरो कुनै रुचि छैन तर समालोचना चाहिँ म खोजीखोजी पढ्छु । झन् यी दुवैमा समान दक्षता भएको समालोचक भेटिए त गजब !
अहिले पश्चिमी चिन्तकहरूमा स्लोभेनियाका लेनिनवादी/लकानियन स्लाभोज झिझेक अग्रणी छन् । उनले साहित्य, कला, फिल्म, समाज सबै बिषयमा कलम चलाएका छन् । म अहिले सबभन्दा बढी पैसा कमाएका दुई चलचित्र, "अवतार" र "टाइटानिक" माथि उनले गरेका वामपन्थी समालोचनामा केन्द्रित हुन्छु ।
"टाइटानिक" मा सर्वहारा वर्गको नायक कुलीन उच्चवर्गीय नायिकाको प्रेममा परेको र नायिकाले उक्त प्रेममा साथ दिएको भनी देखाइएको छ । आलंकारिक रूपमा भन्दा नायिका त एकप्रकारले सुनको पिँजडामा बस्न बाध्य छिन् । उनी आफ्नो जीवनदेखि खुसी छैनन् र आत्महत्याको मनसाय राख्छिन् । नायकले उनलाई उच्चवर्गीय घेरोभित्रको संसारबाट बाहिरको संसार देखाउँछ । आफ्नो पिँजडा तोडेर नायकसँगै वास्तविक संसारमा संघर्ष गर्न तयार भई न्युयोर्क पुगेर नायकसँगै भाग्ने योजना बनाएकी हुन्छिन् नायिकाले । तर टाइटानिक जहाज आइसबर्गमा ठोकिन्छ र नायकको इहलीला समाप्त हुन्छ । नायकले नायिकालाई जीवन कसरी जिउने भनी पाठ पढाएपछि अब उसको उपयोगिता सकियो । जीवनमा अब अघि बढ्न नायिकाले शिक्षा पाइन् । बुर्जुवा पुँजीपतिले सर्वहारालाई यसरी नै वस्तुसरह उपयोग गर्छ र काम सकिएपछि मिल्काउँछ । नायक बाँच्न सक्थ्यो तर नायिकालाई बचाउने चक्करमा मर्यो । अनि बुर्जुवाले सर्वहाराको जीवनका झल्का पाएर आफूलाई तरोताजा बनायो र बुर्जुवा जीवनलाई निरन्तरता दियो । साथै बुर्जुवाको एक सदस्य सर्वहारा हुने भो भन्ने डरले गर्दा त्यसलाई रोक्न जहाज पल्टाएर सर्वहाराको विनाश गरियो । न्युयोर्क पुगेपछि नायक नायिका दुवैको जीवन सुखमय हुन्छ भन्ने कुनै ग्यारेन्टी थिएन । भोक र अभावको जीवन जिउँदा प्रेम त कता पुग्थ्यो होला । यसरी जीवनसंघर्षमा अल्झाएर वास्तविकता उजागर गर्दा राजनीतिक कनेक्सन हुने भएकाले ठिटाठिटीको प्रेममा कथा अल्झाएर तिनीहरू बाँचेका भए सुखमय जीवन जिउँथे होला भनी भ्रम पैदा गरिएको छ र जीवनसंघर्षबाट कथालाई मोडिएको छ । यसो गर्दा बुर्जुवाले सर्वहाराको राजनीतिक चेतना नबढोस् र आफूमाथि प्रश्न नउठोस् भन्ने उद्देश्य लिएको हो । अब हामीले फिल्म हेर्दा यसरी त सोचेका नहोलाउँ । "आहा क्या गजबको प्रेमकथा" भनेर सन्तुष्ट होलाउँ तर यस्ता कथाका पछाडि रहेका राजनीतिक प्रश्नहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन् ।
त्यसैगरी "अवतार" मा पुँजीवादको ठूलो खेलाडी एउटा बहुराष्ट्रिय कम्पनीले एक नयाँ ग्रहमा गएर त्यहाको प्राकृतिक स्रोतसाधनमाथि कब्जा गर्ने र त्यहाका निवासीलाई गुलाम बनाउने योजना बनाएको र त्यसमा असफल भएको कथा देखाइएको छ । त्यो ग्रहका नीलवर्णीय बासिन्दाहरूसँग घुलमिल गरेर तिनलाई स्रोत साधन दिनका लागि फकाउने, नभए सैनिक कार्बाही गर्ने योजना गोरा साम्राज्यवादीहरूको हुन्छ । यसको नायकलाई नीलो अवतार दिएर त्यो ग्रहमा पठाइन्छ तर उसको मन परिवर्तन भएर त्यहाँकी राजकुमारी र निवासीसँग मिलेर आफ्नै मालिकका विरुद्ध संघर्ष गर्छ । झट्ट हेर्दा त यो साम्राज्यवादविरुद्धको लडाइँ जस्तो देखिन्छ तर यसभित्र लुकेको राजनीति अर्कै छ । यो फिल्मले के सन्देश दिन खोजेको छ भने कि त त्यो ग्रहका आदिवासीले गोरामध्येको एकलाई नायक स्वीकार्नपर्यो नभए मर्न तयार हुनुपर्यो । जताबाट नि माथ्लो हात त पुँजीवादी साम्राज्यवादीकै हुने भो । जर्ज बुसले इराकविरुद्धको युद्धका बेला "कि मेरो साथ देउ कि आतंकवादीको" भनेर जनतालाई अन्योलमा पारेजस्तै यो फिल्ममा साम्राज्यवादीले त्यो ग्रहका बासिन्दालाई दुइटा विकल्प दिएर आफैँ ठूलो पल्टेका छन् ।
यसरी फिल्मका पछाडि लुकेका राजनीतिक अर्थको अध्ययनले हाम्रो दृष्टिकोण पनि फराकिलो हुँदै जान्छ र हामी कृतिको प्लेजरमा मात्र नभुलेर बौद्धिक चिन्तन गर्नतर्फ पनि लाग्छौं ।
No comments:
Post a Comment