हाम्रो धर्ममा व्यक्तिको आचारसम्बन्धी निर्देशनका लागि स्मृतिहरूको रचना गरिएको हो । स्मृतिको अस्तित्व वैदिक कालदेखि नै विद्यमान छ । जम्मा १८ वटा स्मृति छन् जसमा मनुस्मृति र याज्ञवल्क्यस्मृति प्रसिद्ध छन् । बनारसी प्रकाशकले स्मृतिसारको संकलन गरेर “सरोजसुन्दरम्” ग्रन्थ निकालेको रहेछ । यसो सर्र ग्रन्थ पढ्दा कतिपय कुरा त राम्रै लागे भने कतिपय कुरा अहिले पालन गर्नै गाह्रो र अल्लि प्रतिगामी लागे । जस्तो, शूद्रहरूलाई गर्नु भनेको व्यवहार अपाच्य छ । दिउँसो सुत्न अनि मैथुन गर्न नहुने, एकादशी अनि द्वादशीमा, अनि अन्य दिनमा बिहान, दिउँसो र राति खै के के खान हुने नहुने कुराको पालन गर्न गाह्रै हुन्छ । तर युगधर्म पनि त परिवर्तन भइरहन्छ । फेरि, हाम्रो धर्ममा फन्डामेन्टल कठमुल्लापनलाई राम्रो दृष्टिले हेरिँदैन । स्मृतिमा त के पवित्र, के अपवित्र भन्ने कुरा पनि कडा रहेछ । जस्तो, हामीकहाँ भारतमा तीर्थयात्रा गर्न जाँदा गंगाजल भाँडोमा भरेर ल्याउने चलन छ नि, त्यो त अपवित्र कर्म पो रहेछ । यो श्लोक हेरौं :
गंगाया उज्झितं तोयं पुनर्गंगान्न गच्छति ।
तज्जलं सुरया तुल्यं पीत्वा चान्द्रायणञ्चरेत् ।।११।।
गंगाबाट निकालिएको जल फेरि गंगामै विसर्जन नगरुन्जेल रक्सीजस्तै हुन्छ, त्यो पिएपछि चान्द्रायण नामक कठोर व्रत बस्नुपर्छ ।
गंगाजलै तनतन पिउने त गरिन्न तर यसो अचाइन्छ, त्यो पनि अपवित्र नै हुने होला । अब, भाँडोमा भरेर ल्याउन भो त गंगाजल ? पोहोर तिहारमा हरिद्वार जाँदा ल्याइएको थियो गंगाजल, के पो गर्नु ? गंगाको प्रवाहमा अँजुली उभाएर पानी पिउन चाहिँ हुन्छ रे ।
प्रसंगवश भनिहालौं, चान्द्रायणको व्रत एक महिनासम्म जम्मा १५ छाक खाएर, अनि औंसीको दिन त पूरै निराहार बसेर गर्नुपर्छ । मुसलमानले रमजानमा राख्ने रोजा यसैबाट प्रभावित भएको हो । तिनीहरू पनि रातिमात्र भोजन गर्छन् रमजानभर ।
नारीलाई रजस्वलाका बेला अपवित्र मान्छन् अझै पनि मान्छेहरू । पश्चिम नेपालमा छाउपडीका नाममा गोठतिर राखेर कष्ट दिन्छन् महिलालाई । तर स्मृतिका अनुसार नारी कहिल्यै पनि अपवित्र हुन्नन् । यो श्लोक हेरौं :
मक्षिका पिप्पली नारी भूमितोयं हुताशनः ।
मार्ज्जारी मुसली चैव आखुकश्च सदा शुचिः ।।४१।।
झिंगा, कमिला, नारी, माटो, पानी, आगो, बिरालो, माउसुली र मुसो सधैँ पवित्र हुन्छन् ।
यसो हेर्दा यो सजिलाका लागि भनेको होला । अब घरतिर आउने झिंगा, बिराला, मुसा, माउसुलीलाई धपाएर साध्ये हुँदैन अनि यी पवित्र हुन्छन् भनियो । यहाँ फेमिनिस्टहरूले कीरा र जीवजन्तुको वर्गमा नारीलाई राखेको भनेर आपत्ति उठाउलान् तर यो पुरुषले लेखेको र तत्कालीन व्यवस्थाको दर्पणका रूपमा रहेको भनी बुझ्नु उपयुक्त होला । महत्त्वपूर्ण कुराचाहिँ नारी सदा पवित्र हुन्छिन् भन्ने हो ।
अन्य रमाइला प्रसंग पनि छन् यो ग्रन्थमा तर सबैको उल्लेख गर्न थाल्दा लामो हुने भयो ।
No comments:
Post a Comment