ज्यारेड डाइमन्डले अंग्रेजीमा लेखेको विगतको १३००० वर्षको विशाल पुस्तक "गन्स, जर्म्स यान्ड स्टिल" पढ्दा धेरै तथ्य थाहा पाइयो । युरोपले सारा संसारलाई आफ्नो साम्राज्य बनाउन कसरी सफल भयो भन्ने प्रश्नको उत्तर डाइमन्डले वातावरण र भौगोलिकताका आधारमा दिएका छन् । सिकारी प्रवृत्तिमै रहेका आदिवासीहरू कृषि गर्ने मानिसको तुलनामा कमजोर हुँदा रहेछन् र सजिलै पराजित भएछन् । दीर्घकालसम्म युरोप र एसियामा कृषि गर्नेहरूसँग धारिला हतियार, पशुमाथिको नियन्त्रण, आवागमन गराउने वाहनमाथि आधिपत्य हुनाले उनीहरूले सिकारी आदिवासीलाई हराउन सफल भए । यिनै कुराको अभावले गर्दा आदिवासी (जस्तो, अमेरिकाका रेड इन्डियन्स, अस्ट्रेलियाका एबोरिजिनल्स, न्युजिल्यान्डका मोरिओरी तथा माओरी, अफ्रिकाका पिग्मीहरू) युरोपियनहरूबाट सहजै पराजित भए । अनि कृषि तथा पशुपालन गर्नेहरूलाई पशुबाट सरेका अनेक रोग पचाउने क्षमता विकास भैसकेको हुँदो रहेछ र तिनीहरू आदिवासीकोमा जाँदा त्यो रोग थाहै नपाई सारिदिँदा रहेछन् । आदिवासीहरूमा त्यो रोगसँग लड्ने क्षमता नभएर पनि भकाभक मर्ने रहेछन् । हुन त युरोपेलीहरू आदिवासीकहाँ पुग्दा स्थानीय रोगको सामना गर्नुपरेको थियो तर युरोपेलीहरू यसबाट सोत्तरै चाहिँ भएनन् । अनि अक्षर र लेखाइको आविष्कारले पनि सूचना तीव्र गतिमा संचार गर्न पाएर युरोपेलीहरूले आदिवासीलाई युद्धमा हराउन सकेका रहेछन् । यसरी हालको विश्वमा राजनीतिक सन्तुलन बन्नुमा भौगोलिक तत्त्वले ठूलो भूमिका खेलेको छ भन्ने डाइमन्डको तर्क छ । यसलाई वातावरणीय भाग्यवाद भनेर आलोचना गरिएको छ किनकि मानवले गर्ने आविष्कार र मानवीय सिर्जनालाई यसले नकारेको जस्तो देखिन्छ । तर फलानो जातिका मानिस महान र अन्य तुच्छ हुन्छन्, महानले तुच्छलाई जित्छन् नै भन्ने जातिवादी व्याख्याकारको घृणास्पद तर्कभन्दा त यो तर्क नै राम्रो हो जस्तो लाग्छ । जे भएपनि डाइमन्डको यो पुस्तकले पाठकलाई गतिलो बौद्धिक खुराक दिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment