कुर्भे भन्ने संस्थाले दिने शान्ति तथा समावेशितासम्बन्धी दुईवटा तालिममा भाग लिन २०१३ मार्च १७ देखि मार्च ३० सम्म जर्मनीको भ्रमणमा म सहकर्मी सुमित्रा राईसँग गएको थिएँ । शनिवार, मार्च १६ मा कतार एयरवेजबाट विमानयात्रा गर्नु थियो अनि दोहा ट्रान्जिट परेको थियो । अध्यागमनसम्बन्धी सबै प्र
क्रिया समयमै पूरा गरियो । सेन्जेन भिसा भएपनि अरु देश जान मिल्नेगरी लामो समयको भिसा दिएको हैन जर्मन एम्बेसीले । भैगो, जर्मनीका सहर त घुम्न पाइहालिन्छ नि ! खैर, दोहा जाने विमान यहाँ त्रिभुवन विमानस्थलबाट राति ७:३० बजे उड्यो ।
कतार एयरवेजको सुविधा राम्रै हो तर लामो विमानयात्राको अनुभव नभएकाले होला, अल्लि वाकवाक लाग्ला जस्तो हुँदै प्लेनमा बसिरहियो । अझ, कतारमा श्रम गर्न जाने एउटा नेपालीले प्लेनमै बेस्सरी रक्सी धोकेर हल्लाखल्ला मच्चाएकाले दिक्क लाग्यो । अन्तर्राष्ट्रिय परिवेशमा नेपालको बेइज्जती गर्ने कुपात्रदेखि घृणा लागेर आयो । यस्तोमा राम्रो निदाउन के सकिन्थ्यो
? अनि
प्लेनको खाना पनि बेस्वादिलो । सुमित्राजीले खासै खानै सक्नुभएन, मैले चाहिँ भोजनभन्दा भोक मिठो भन्दै खाएँ । फिल्म हेर्न पनि मन लागेन ।
लगभग ४:३० घन्टाको उडानपछि दोहा विमानस्थलमा झरियो । विमानबाट झर्दा हप्प गर्मीको हावाले छोप्यो । विमानस्थलको गाडीले ट्रान्स्फर र यान्ड डिपार्चरमा लगेर छोड्यो । कति विशाल हो विमानस्थल, बाफ रे ? काठमाडौं सहरजत्रो त एयरपोर्टै होला । विमानस्थलमा काम गर्ने त अधिकांश नेपाली पो रहेछन् । खासै कुरा त गरिएन उनीहरूसँग । अनि सुरु भयो बर्लिन जाने विमान कुर्ने क्रम । पाँच घन्टाको ट्रान्जिट फेसबुक चलाएर, यसो कुर्सीमै पल्टिएर बिताइयो ।
पाँच घन्टा बितेपछि बर्लिन जाने प्लेन दोहाबाट उड्यो । विमान परिचारिकाले दिएको कम्बलले मुख ढाकेर बसियो । अलिअलि निदाइएछ । यहाँ पनि खाना ठीकठीकै थियो । खाना खाएपछि चाहिँ राम्रै निदाइएछ । बिहानीपख ब्रेकफास्ट गर्ने हो भन्दै एयर होस्टेसले ब्युँझाइन् । जागेपछि प्लेनको झ्यालबाट यसो बाहिर हेरेको त सूर्योदय हुनलागेको अनुपम दृश्य देखियो । तल हेर्दा सानाठूला सहर देखिए । मजा आयो ।
आइतबार स्थानीय समयअनुसार बिहान ६:३० बजे बर्लिनको टेगेल विमानस्थलमा झरियो । ओहो, बर्लिन त क्या जाडो रहेछ । मुटुसम्म काँपियो नि । नेपाल र कतारमा त गर्मी थियो त्यसैले पातलै लुगा लगाइएको थियो, यहाँ यतिले के पुग्थ्यो
? हतारहतार भित्र पसेर अध्यागमनको काम सकियो । अब शौचकर्म पो कता गर्ने ? यहाँ पेट दुख्न थालिसक्याछ । त्यहीँ कुनामा रहेछ शौचालय र त्यहँ गएर सफा भइयो । ट्वाइलेटमा काम गर्ने वृद्ध महिलाको कारुणिक मुहार देखेर दया लाग्यो । हरे, यो उमेरमा पनि जागिर गरेर पेट पाल्नुपर्ने ।
त्यसपछि एयरपोर्ट इन्फर्मेसन सेन्टरमा ट्रेन स्टेसन जाने बसका बारेमा सोधेर बाहिर निस्किइयो । बस पनि आइपुग्यो र हप्तवाहनोफ
(रेल स्टेसन) सम्मको टिकट काटियो । स्टेसनमा पुगेपछि अब जाल्जवेडल जाने रेलको टिकट कता काट्ने, बर्लिन टुर गराउने बस कता पाइन्छ र लगेज राख्ने ठाउँ कता हो भनेर टुरिस्ट इन्फर्मेसन डेस्कमा सोधियो । त्यहाँकी महिलाले अंग्रेजीमा बताएपछि टिकट काउन्टरमा गएर पैसो तिरेर स्टेन्डाल हुँदै जाल्जवेडलसम्मको टिकट काटियो, दिउँसो २:३० बजेका लागि । अनि दिनभरिका लागि एउटा लकरमा लगेज राखियो । त्यसपछि बस खोज्न गइयो । यति गरुन्जेल ८:३० जति भएको थियो । चढ्दै, झर्दै गर्ने सुविधा भएको घुम्ती बस त १० बजेदखि मात्र हिँड्छ पो भन्छन् । टिकट काटियो अनि जाडोमा तातो/तीतो कफी पिउँदै बस कुर्न थालियो ।
बल्ल १० बज्यो र गाडी चढियो । कानमा एयरफोन लगाएर रेकर्डेड कमेन्ट्री सुन्दै बर्लिनका प्रमुख स्थल घुम्न थालियो । भिक्ट्री टावरनजिक ओर्लिएर टावरमाथि चढियो । हाम्रो धरहराजस्तै रहेछ । भुइँतलामा ऐतिहासिक महत्त्वका तस्विर राखिएका रहेछन् । थुप्रो भर्याङ चढेर माथि पुगियो । त्यहाँबाट बर्लिनका धेरै भाग देखिने रहेछन् । अरु पर्यटक पनि थिए । तीसँगै दृश्यावलि हेरियो र फोटा पनि खिँचाइयो । केही समय त्यहाँ बिताएपछि झरियो र बस कुर्न थालियो । खै, समयमा आउँदैन त बस । फेरि तल कुर्नप¥यो । केही समय कुरेपछि बल्ल आयो बस अनि त्यहीँबाट अलेक्जेन्डरप्लाट्जलगायतका ठाउँ पुगियो । त्यता चाहिँ ओर्लिने इच्छा लागेन । बरु बर्लिन वाल र चेकप्वाइन्ट चार्लीमा ओर्लेर लामै समय घुमियो । शीतयुद्धको समयमा कम्युनिस्ट पूर्वी जर्मनी र पुँजीवादी पश्चिमी जर्मनीलाई छुट्ट्याउने बर्लिन वालतिरै नाजीकालीन यातनागृहका भग्नावशेष पनि रहेछन् । यी सबै पुराना अवशेषले इतिहासका कालखण्डलाई सम्झाइरहनेछन् । अनि बर्लिन सहरको विशेषता नै ऐतिहासिक महत्त्व बोकेका यहाँका प्राचीन भवन तथा स्मारकहरू रहेछन् । रमाइलो लाग्यो घुम्दा ।
जाडो छेक्ने बाक्ला लुगा नभएर चाहिँ गाह्रै भयो । हावा उधुम चलने, सिरेटोले हानेर उल्का । घुमघाम गर्दा पनि जाडोले अप्ठ्यारै पार्ने । अनि भिखारीले पैसा मागेर समेत हैरान बनाउने । तैपनि सकेसम्म त घुमियो नै । गाडी, रेल, पसलभित्र चाहिँ न्यानो ।
चेकप्वाइन्ट चार्ली घुमेर गाडी चढ्दा रेलको समय हुन लागिसकेको थियो । अरु ठाउँ घुम्न नमिल्ला जस्तो भो । बसले त रेल स्टेसन ढिलो पु¥याउने पो सुर कस्यो । ड्राइभरलाई हाम्रो रेल छुट्ने भो भन्दा अर्को बसको मान्छेसँग कुरा गरेर त्यसमा चढाइदियो । लगभग १८ मिनेट बाँकी हुँदा रेल स्टेसन पुगियो । हतारहतार लगेज झिकेर रेलतिर कुदियो । फेरि पिसाबले च्यापेर यहीबेला । त्यो पनि सिध्याएर रेलको प्ल्याटफर्म पुगियो । न ढोकामा टिकट चेकर छ न कुनै मेसिन छ टिकट हेर्ने । यही त रेल होला नि हाम्रो गन्तव्यमा पु¥याउने । भित्र छिरेर एउटी वृद्ध महिलालाई सोधियो, यो स्टेन्डाल जान्छ भनेर । कस्तो जहाँ गए पनि अंग्रेजी बोल्ने मान्छे भेटिएका
? उनले हो भनेपछि ढुक्क भइयो । सुमित्राजी चाहिँ गलत रेलमा चढियो कि भनेर त्राहि हुनुभयो ।
रेलभित्र पनि टिकट चेक गर्न कोही नआउने रहेछन् । टिकटचेकर हुन त हुँदा रैछन् तर कहिले आउने, कहिले नआउने गर्दा रैछन् । सीमित मानवीय स्रोतको मात्र उपयोग गरिँदो रहेछ । टिकट नलिई यात्रा गर्दा पनि चेक गर्न खासै नआउने पो रहेछन् । तर त्यहाँका मान्छेले सरकारलाई धोका दिँदैनन् । खैर, निर्धारित समयमा स्टेन्डाल पुगियो र ओर्लिइयो । हराइएला भनेर डराउनै पर्ने रहेनछ किनकि रेलले स्टेसनैपिच्छे घोषणा गर्ने रहेछ । त्यसपछि फेरि जाडोमा जाल्जवेडल जाने रेल कुर्न थालियो । निर्धारित समयमा रेल आयो र चढियो । जाल्जवेडल रेल स्टेसनमा त चरो मुसो छैन बा ! हामी जाने वुस्त्रो भन्ने ठाउँका लागि ट्याक्सी लिनुपर्ने, देखिँदैन कतै नि ! एउटी केटीलाई सोधेको, अंग्रेजी बुझ्दी पनि रैनछे, बोल्दी पनि रैनछे । एकछिन त अलमल्ल पर्यौं । पछि एउटा ट्याक्सी आयो । ड्राइभरलाई सोधेको जान्छु भन्यो, अंग्रेजी पनि बोल्दो रैछ । जे होस्, साँझको पाँच बजे वुस्त्रो पुगियो । त्यहाँ रहेकी इन्टर्न जेनिफरले हामीलाई स्वागत गरिन् र आआफ्ना कोठा देखाइदिइन् ।
अब भोलिपल्ट सोमबारदेखि पहिलो कार्यशाला तालिम सुरु हुने त हो । त्यो दिन सफा भइयो अनि खाना खाएर सुतियो । भोलिपल्ट दिउँसो २ बजेबाट तालिम सुरु भयो । त्योभन्दा अगाडि त्यहाँ रहेका सबैसँग अनौपचारिक परिचय आदानप्रदान भयो । नेपालकै अर्को संस्थाका अनिल पनि रहेछन् । अनि नाइजेरियाका दुई, मेसिडोनियाकी एक र जर्मनीकै तीन सहभागी पनि थिए । शान्ति व्यवस्थापनसम्बन्धी तालिम दिने योखन र आन्याले हामीलाई विषयगत जानकारी राम्रो गरी दिए । अन्य सहभागीहरूसँग मिलेर कार्यशालामा सक्रिय भाग लियौं हामीले । सुरुसुरुमा त विषय केही नि बुझिएन, पछि बुझ्दै गइयो ।
टाइम जोन परिवर्तन भएकाले शरीरलाई त्यहाँ एडप्ट हुन चाहिँ गाह्रो भयो । राति राम्ररी निदाउन सकिएन । त्यताको चामल अल्लि मोटोखाले हुनाले पचेन पनि । ब्रेड पनि पेट घोच्नेखालको साह्रो । तर ठाउँ भने साह्रै शान्त । गाउँ न हो । ससानो वस्ती, थोरै मान्छे । हिउँ परेको कस्तो मनोहर दृश्य भने ! पश्चिमी आख्यानमा पढेको साइलेन्ट स्नोफल प्रत्यक्ष देख्न पाउँदा चित्त प्रफुल्लित भयो । बाहिर घुम्न निस्कन जाडोले गर्दा आँट आएन । तर संस्थाको चौरमा जमेको हिउँमा उफ्रिएर रमाइलो गरियो । अनि संस्थाका मान्छे साह्रै असल हुनाले गजबको आतिथ्य पाइयो । त्यो ठाउँमा शाकाहारी भोजन मात्र गरिने हुनाले मलाई त सजिलो भयो । बिहीबार बेलुका वुस्त्रोभन्दा अलि पर रहेको सामुदायिक रेस्टुरेन्टमा गएर डिनर गरियो । त्यति स्वादिलो लागेन खाना । घरमा श्रीमती, छोरीसँग स्काइपमा च्याट गरिन्थ्यो ।
शुक्रबार १२:३० मा पहिलो तालिम सकियो । सप्ताहान्तमा ह्याम्बर्ग जाने योजना बनाइयो हामी तीन नेपालीले । कुर्भेमै काम गर्ने जेसिकाकी साथी आन्याको ह्याम्बर्गमा अपार्टमेन्ट रहेछ, उनले बस्न दिने भइन् । ठेगाना लिएर गइयो । वुस्त्रोबाट उल्त्सन भन्ने ठाउँसम्म गाडीमा अनि त्यहाँबाट रेलमा जानुपर्दो रहेछ । तालिम दिने आन्याले आफ्नै गाडीमा एक घन्टामा उल्त्सन पुर्याइदिइन् । उल्त्सनमा आन्या, उनका श्रीमान् र छोराछोरी अनि सुलामिथचाहिँ गाडी पार्क गरेर ह्यानोभरतिरको रेल चढ्ने तरखर गर्न थाले भने हामीले चाहिँ ह्याम्बर्ग जाने रेल चढ्यौं । एक घन्टामा त्यहाँबाट ह्याम्बर्ग पुगियो ।
ह्याम्बर्गबाट छोटो दूरीको रेल चढेर आल्टोना भन्ने ठाउँ जानुपर्ने पो रहेछ हामी बस्ने अपार्टमेन्ट पुग्न त । गयौं आल्टोना र रेल स्टेसनमा ओर्लियौं । अब त्यो अपार्टमेन्ट भएको थेडेस्टास पो कता हो ? त्यहाँ नक्सा त रैछ तर त्यो हेरेर पनि केही थाहा पाइएन । बाहिर निस्केर एउटी भद्र देखिने जवान महिलालाई सोधियो । त्यो दार्जिलिंगसम्म आएकी र नेपालको बारेमा थाहा पाएकी मिसनेरी रहिछ । भरे के योजना छ, बाइबल सुन्न जाउँ भन्दैथिई । हुन्छ भनेर नम्बर लिइयो, तर को जाओस् अजनबीसँग । लुट्देलान् भन्ने डर । त्यसले पनि थेडेस्टास पत्ता लगाउन सकिन । अनि स्टेसनको इन्फर्मेसन डेस्कमा सोधियो । ल हेर, त्यहाँ पनि अंग्रेजी बोल्न जान्ने मान्छे रहेछ । गुगल म्याप हेरेर ठ्याक्कै भनिदियो ।
नजिकै रहेछ थेडेस्टास । हिँडेर १५ मिनेटमा पुगिने । त्यो ठाउँ पुगियो । तर हरे शिव, हामीलाई त जेसिकाले तीन तलामाथिको अपार्टमेन्टको ढोकाको साँचो जुत्तामा छ भनेकी थिई । यहाँ त तलै आइरन गेटमा साँचो रैछ । अब के गर्ने ? फेरि चिसो स्याँठले हानेर जिउ थिलथिलो भको छ । तलैको अर्को घरको ढोकामा घन्टी बजाइयो । एकजना भद्र महिला निस्किन् अनि हामीले आन्याको अपार्टमेन्ट छिर्नुपर्ने थियो तर तलै गेटमा पो साँचो चाहिने रहेछ भन्यौं । उनी अंग्रेजी बोल्न जान्ने रहिछन् । उनले आफ्नो घरको सुरक्षा गर्न यसै त गर्छन् नि, तिमीहरू राम्ररी कुरै नबुझिकन किन आएका भनिन् । अनि जेसिकालाई फोन गरेको, उसले उठाइन । बर्बादै हुने भो नि ! तिनै महिलालाई हामीले यता नजिकै कतै होस्टेल छ त भनेर सोध्यौं । उता सडकपारि छ भनिन् । लौ त भनी हामी गयौं । साथीहरूले मलाई प्रस्ट कुरा नबुझी किन आएको भनेर ख्याउँख्याउँ गरे । म पनि मलाई के था त भनेर झर्किएँ । चिसो हावाले हानेर बिजोक भाछ । तर अलि पर के पुगेका थियौं ती महिलाले चिच्याएर हामीलाई बोलाइन् । भगवान् छन् भन्दै खुसी हुँदै हामी पनि दौडियौं । तिनले गरेको फोन हेरेर जेसिकाले उठाइछ र कलब्याक गरिछ । अनि उनीहरूले जर्मन भाषामा कुरा गरेपछि ती महिलाले हामीलाई आन्याको कोठासम्म पु¥याइन् । तपाईंले त देवदूत नै हुनुभो हाम्रा लागि भनेँ मैले उनलाई । मेरो पखेटा आको छैन भनेर ठट्टा गरिन् उनले र गइन् । सन्तोषको सास फेर्यौं हामीले । अझ, कोठाको न्यानो पाएर हर्षित भयौं ।
आन्याले कोठा हाम्रो विश्वासमा छोडेर अन्तै गएकी थिइन् । विदेशीहरूको यस्तो विश्वास देखेर हामी नतमस्तक भयौं । आन्या एकचोटि नेपाल आएकी रहिछन् । नेपालीप्रति उनमा आत्मीयता रहेछ । त्यसले पनि हामीलाई सजिलो बनायो । कोठामा एकछिन आराम गरेपछि चामल, प्याज र गोलभेंडा किन्न अनिल र म बाहिर निस्कियौं । अनि ल्याएपछि सुमित्राजीले पकाउनुभयो । खाएर सुत्यौं हामी एकैचोटि भोलिपल्ट बिहानमात्र ब्युँझिनेगरी ।
भोलिपल्ट उठेर फेरि खाना खाएर आल्टोनाको रेल स्टेसनमा आयौं । त्यहाँ ह्याम्बर्ग जाने रेल चढ्यौं । ह्याम्बर्गको मेन स्टेसनमा पुगेपछि अनिल हामीसँग छुट्टिएर अन्तै लाग्यो, सोमवार वुस्त्रो आइपुग्छु भनेर । सुमित्राजी र म चाहिँ सहर दर्शन गर्ने गाडी चढेर ह्याम्बर्ग घुम्न थाल्यौं । यो पनि पुरानो सहर रहेछ र ऐतिहासिक महत्त्वका प्राचीन भवन यहाँ पनि प्रशस्त रहेछन् । बसमै बसेर गाइडले प्रमुख ठाउँको जानकारी गराउँदै लगे । हामी एल्बे नदीको किनारमा ओर्लियौं । एल्बे नदी चाहिँ नर्थ सी (उत्तरी समुद्र) मा गएर मिल्ने विशाल नदी रहेछ । त्यहाँ हार्बर बोट ट्रिप गरियो । एक घन्टासम्म अनेकथरी जहाज देखाउँदै घुमायो जहाजले । गाइड पनि थियो तर उसले पूरै जर्मन भाषा बोलेकोले केही बुझिएन । फेरि थकाइ र भोक लागेकाले मलाई त केहीमा पनि रुचि नै लागेन ।
एक घन्टापछि हामी फेरि बस चढ्ने ठाउँमा आयौं । त्यसपछि अनेकौं ठाउँ घुमाउँदै बसले रेलवे स्टेसन ल्याइपु¥यायो । दिउँसोको दुई बजेको थियो । मिनियाटुर वन्डरल्यान्ड भन्ने ठाउँ जाने योजना मैले बनाएको थिएँ तर जिउ दुखेजस्तो भएकाले रहर लागेन । ह्याम्बर्गबाट आल्टोना गएर हल्का सपिङ गरेर कोठामा पुगी निदाइयो । बेलुका उठेर खाना खाएर फेरि सुतियो ।
भोलिपल्ट उठेर ह्याम्बर्गलाई बाइबाइ गरियो । सफा वातावरण, फराकिला सडक, चिटिक्क मिलेका घर, स्वच्छ नदी, समयमा चल्ने यातायातका साधन बर्लिन र ह्याम्बर्ग अनि सायद युरोपका सबै सहरको विशेषता होला । यिनैमा रम्यौं हामी ।
ह्याम्बर्गबाट उल्त्सन जाने रेल एक घन्टा ढिलो आयो । हरे, जाडोमा फेरि कुर्न पर्यो । बल्लबल्ल रेल आयो अनि त्यसमा चढेर एक घन्टामा उल्त्सन पुगियो । पुग्दा दिउँसोको एक बजेको थियो । रेलबाट झरेर बसस्टप गको, एउटा गाडी देखिन्न बा ! टाइमटेबल हेरेको त वुस्त्रो जाने एउटा मात्र गाडी त साँझको ५:४५ मा मात्र पो आउने रहेछ । थुक्क बुद्धि, पहिल्यै राम्ररी टाइमटेबल हेर्नुपर्ने नि । के गर्नु, कुर्नैपर्ने भो अब । सुमित्राजी र म गफिन थाल्यौं । जाडोले पो सतायो बेस्सरी । बाक्ला लुगा किन ल्याइएनछ नि भनेर थक्थकाइयो । अनि त्यहाँ घरिघरि गुन्डीजस्ती देखिने केटी आहोरदोहोर गरिरहेकी थिई । लुटपिट गर्देली भनेर डर लाग्यो । दुइचोटि अत्ति तीतो कफी पिएँ । जाडोमा पिसाबले च्यापेर हैरान । अनि पिसाब गरेपिच्छे एक युरो खर्च हुने । मैले त पार्किङ लटको भर्याङपछाडि गएर तुर्क्याइदिएँ । कसले पो देख्ला र ? पैसो बच्यो नि !
बल्लबल्ल साँझमा गाडी आयो र चढियो । एक घन्टामा वुस्त्रो पुगियो । खाना खाएर सुतियो त्यो दिन । भोलिपल्ट अर्को तालिम सुरु हुनेवाला थियो । दिउँसो तीन बजेमात्र तालिम सुरु हुने भन्ने खबर पाएपछि त्यही कुर्भेमै भएको साइकल लिएर नौ किमि परको लुसो भन्ने बजार घुम्न जाउँ न त भनेँ मैले सुमित्राजीलाई । साइकल लिएर गइयो पनि । खैरेले चढ्ने अग्लो साइकल कुदाउन अल्लि गाह्रै भो मलाई । तैपनि लगभग एक किलोमिटर कुदाएँ । चिसो हावा बेतोडले चलेको थियो । अचानक मेरो त मुटु उफ्रेर उल्का । गाह्रै पो पार्यो हौ । आँखाअगाडि सेतो पर्दा पो छायो । भो, अब लुसो जान सकिन्न फर्किउँ भनेर साइकल घुमाएर यसो अडिएको त त्यहीँ भुक्लुक्क ढलेँ । गुल्टिएर तल खेतमा पुगेछु । पाँच मिनेटजति त बेहोस भएँछु । सुमित्राजीले बोलाएको पछि मात्र सुनेँ । अघिल्लो दिनको थकान र अहिलेको गाह्रोले शरीर थिलथिलो भको रैछ, पेल्न खोजेर के हुन्थ्यो
? फर्केर आएर एक झमट सुतियो अनि बल्ल जिउ चंगा भो ।
अनिल आइपुगेन र ठूलो काण्ड मच्चियो । हामीलाई अनिलले धोका दियो । अब त्यसलाई बिर्सेर तालिम सुरु भयो । स्वेत्का र प्रसाद भन्ने ट्रेनर थिए । समावेशितासम्बन्धी तालिम दिए । सहभागी संख्या थोरै थियो, हामी दुई नेपाली, त्यहीँ कुर्भेमा इन्टर्न गर्न बसेका दुई जर्मन केटी र सुडानबाट शरणार्थीका रूपमा आएर बसेकी एउटी अफ्रिकन । तालिमका क्रममा दुईटी सहभागीले चर्तीकला देखाए । दुवै घमन्डी अनि तीमध्येकी एउटी रुन्ची । हैरान खेलाए सबैलाई । तर नराम्रो केही भएन । बिहीवार दिउँसो उल्रिके भन्ने महिलासँग लुसो बजार घुम्न गइयो । किन्न लायक सामान खासै भेटिएन । बेलुका चाहिँ रेस्टुरेन्टतिर नगएर आफैँ खाना बनाउने भनेर सबैले आफ्नो देशको खाना बनाइयो । हामी नेपालीले आलुको परिकार बनायौं । हल्का नाचगान पनि गरियो ।
शुक्रवार त तालिम सकियो । बिदाइका बेलामा हामी सहभागीले एकअर्कालाई प्रशंसायुक्त पत्र लेख्यौं । बिदाइका बेला प्रायः सबैको आँखामा आँसु थियो । एक सहभागी र दुई ट्रेनर त्यही दिन हिँडे । त्यो दिन इस्टर पनि थियो । कार्यालय नै सुनसान भयो । हामी भने भोलिपल्ट बिहान निस्कने भनेर बस्यौं । अनलाइन टिकट काटियो बर्लिन जाने रेलको ।
भोलिपल्ट बिहान उठेर दुईटी इन्टर्नसँग बिदा लिएर जाल्जवेडल जाने बस चढियो । त्यसपछि स्टेन्डाल हुँदै बर्लिन पुगियो र अन्त कतै नलागी टेगेल विमानस्थल पुगियो । हाम्रो फ्लाइट दिउँसो २:२० मा थियो । सबै प्रक्रिया पूरा गरेर प्लेन चढियो । प्लेनमा खाना चाहिँ नमिठो भएपनि मैले सबै खाएँ । सुत्दै, उठ्दै बेलुका नौ बजेतिर दोहा पुगियो ।
दोहादेखि काठमाडौं जाने फ्लाइट ११ घन्टापछि मात्र थियो । कत्ति लामो ट्रान्जिट
? बेलुकाको र बिहानको खाना त दियो कतार एयरवेजले । सुत्नलाई कोठा देऊ भनेको त ४० डलर तिर्नुपर्छ भन्छ । कहाँ पाउनु त्यत्रो पैसा ? कुर्सीमै सुतियो अलिअलि । जिउलाई चाहिँ चरम अत्याचार भयो । बल्लबल्ल बिहान फ्लाइटको समय आयो र प्लेन चढियो । त्यसपछि ४:३० घन्टाजतिको फ्लाइटपछि काठमाडौं झरियो । आफ्नो देश आइपुग्दा त मुटु ढक्क भएर आउने रहेछ ।
यसरी जर्मनीको १५ दिने भ्रमण सम्पन्न भयो । धेरै मिठा सम्झनाहरू अझै मस्तिष्कमा सुरक्षित छन् । तीमध्येका केही प्रभाव यहाँ प्रस्तुत गरेको हुँ ।
No comments:
Post a Comment