"सौरभका पच्चीस वर्ष" पढिसिध्याएँ । अखबारहरूमा स्तम्भ लेख्ने सौरभका लेख जटिल हुन्छन् किनकि उनी आफूले जानेका सबै कुरा एकै ठाउँमा पोख्छन् । धैर्य गरेर पढ्नुपर्छ उनका लेख । तर सौरभ प्रखर पाठक अनि निर्भीक टिप्पणीकार हुन् । पंचायतकालदेखि गणतन्त्रकालसम्मका घटनामा टिप्पणी गरेका छन् उनले । उनी तर्क गर्न माहिर छन् । आफ्नो तर्कलाई पुष्टि गर्न उनी प्राय: विदेशी सन्दर्भ ल्याउन चुक्दैनन् । यो पुस्तकमा उनका पुराना र नयाँ लेखहरू समावेश गरिएको छ, पहिल्यै कान्तिपुर, गोर्खापत्र, देशान्तर, राजधानीलगायतका पत्रिकामा छापिएका । देशमा अराजकता ल्याउने जोकोही (जातिवादी, भ्रष्ट, विदेशी) लाई पनि उनले आफ्नो तीखो लेखनीले प्रहार गरेका छन् । देश बनाउने पवित्र ध्येय राखेर लेखेका जस्ता लाग्छन् सौरभले यी लेख । ठूला दलका नेता, पंच, राजा, कर्मचारी, प्राध्यापक, वकिल, पत्रकार सबैको विकृति औंल्याएका छन् उनले । अनि उनमा हास्यचेत पनि प्रबल रहेछ । एउटा लेखको सुरुवातै उनले जोकबाट गरेका छन् भने हास्य छिर्का लेखहरूमा प्रशस्त पाइन्छन् । तर उनले प्रयोग गरेका केही बिम्ब बुझ्न गाह्रो हुने । (यति कुरा त पाठकले बुझ्नुपर्ने हो भनेर जिस्क्याउँछन् हामीलाई उनी घरिघरि ।) पुस्तकको सम्पादन चाहिँ गतिलो भएको छैन । भाषिक अशुद्धि प्रशस्त छन् । कतिपय पुराना लेखका सान्दर्भिकता निर्देशनका लागि केही लेखिनुपर्थ्यो, त्यसमा अल्छी गरिएको छ । पादटिप्पणी भने छन् जसले अल्लि सजिलो पार्छ कुरा बुझ्न । छपाइमा समस्या भएर होला कुनै शब्द टुक्रिन पुगेका ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment