Tuesday, June 5, 2012

"Urgenko Ghoda": An unartistic novel


"उर्गेनको घोडा": कलाविहीन उपन्यास 
युग पाठकको पुस्तक  "उर्गेनको घोडा" उपन्यासभन्दा पनि प्रचारबाजीले भरिएको राजनीतिक दस्तावेजजस्तो देखिन्छ । जनयुद्धको बखान गर्न लेखिएको एपोलोजिस्ट कृति हो यो । जनयुद्धको कमान्डर रहेकी एकजना तामाङ महिला म्हेन्दो केन्द्रीय पात्र रहेको यो उपन्यासमा ताम्सालिङ प्रदेशलाई आधारभूमि बनाएर युद्धको मोर्चामा खटेका लडाकुहरूको वर्णन गरिएको छ । एक छेत्री युवकसँग अन्तर्जातीय विवाह गरेर छोरीकी आमा बनेकी म्हेन्दोको मानसमा तामाङ पुर्खा योद्धा उर्गेन र उनको सेतो घोडा मोटिफका रूपमा बारम्बार आइरहन्छ । मकवानपुरमा रहेको याबेङ खोलामा खस राजाले उहिल्यै छलकपट गरेर निहत्था तामाङ राजालाई उनको योद्धा उर्गेन तथा अन्य लडाकुसहित मारेको र तामसालिङ कब्जा गरेर तामाङहरूलाई लखेटेको इतिहास दोहोरिरहन्छन् म्हेन्दोको दिमागमा । आफ्नो पूर्खाविरुद्ध भएको घातको बदला लिन जनयुद्धको सहायतामा याम्बु (राजधानी काठमाडौं) कब्जा गरेर खस शासकको  सत्ता पल्टाउने सपना छ म्हेन्दोको । विषय त राम्रो छनेका हुन् लेखकले । दबाइएका जातिले गरेको विद्रोह र उनीहरूको मिथको सहानुभूतिपूर्वक गरिएको वर्णन यसमा छ । तर लेखकमा शिल्पको अभाव भएकाले यो झर्कोलाग्दो किताब बन्न पुगेको छ । त्यो पुरानो मिथलाई असाध्यै धेरैचोटि दोहोर्याउँछन् लेखकले । ("ए बाबा, भयो क्या, बुझियो ! कति भनिरा एउटै कुरा" भन्न मन लाग्छ पुस्तक पढ्दै गर्दा !) यो ठ्याक्कै कम्युनिस्ट प्रशिक्षणको शैली हो, एउटै कुरा भनेको भन्यै गरेर कार्यकर्ताको दिमागमा घुसाउने । रुसमा एकताका "भल्गर मार्क्सिजम" अपनाएर साहित्य लेख्ने चलन थियो । यो उपन्यासले त्यही परम्परालाई धानेको छ । यही वर्गीय र जातीय चेतनाका कुरालाई कलात्मक बान्की दिन पनि त सकिन्थ्यो तर लेखक यसमा चुकेका छन् । अनि घरीघरी इटालिक्समा उनले आफ्नै कथा "लालपाइलो" पत्रिकामा धारावाहिक रूपमा  विभिन्न पात्रले पढेका र मन पराएका भनी देखाएका छन् । यो नार्सिसिजम हो कि कुनै उत्तरआधुनिक प्रयोग ? जे भएपनि भद्दा देखिएको छ । लेखक आफैँ पात्रमा हाबी भएका छन् कतैकतै र बोझिल संवाद बोलाएका छन् । लामा लामा कम्प्लेक्स वाक्य गठन पाइन्छ । त्यसैगरी भाषिक अशुद्धता प्रशस्त छन् पुस्तकमा । क्रान्तिकारीको ठाउमा "क्रन्तिकारी" छ पुस्तकभरि । हिन्दी  शब्द  ज्यादा  प्रयोग गरिएका छन् । "पहलु", टेबलमा पडेको वस्तु", "सन्नाटा" जस्ता शबदको निर्बाध प्रयोगले लेखकको हिन्दीमोह झल्किन्छ ।     नेपाली पुस्तकहरूको पुरानो रोग, सम्पादनको अभाव, बाट ग्रस्त छ यो पनि । रुपचन्द्र विष्टको प्रसंग भने राम्रो छ । अनि मलाई पुस्तकमा गरिएका प्रकृति वर्णन पनि राम्रो लाग्यो । सैलुङको चिसो हावाले छोएको अनुभूति हुन्छ त्यहाँको वर्णन पढ्दा । उपन्यासका पात्रको कुरा गर्दा म्हेन्दोको मानसिक उहापोहको विमर्श खासै प्रभावशाली देखिन्न अनि पल्लवीको चरित्रमा धेरै आयाम पाइन्न । अरु पात्रको ठीकठीकै चरित्रचित्रण गरिएको छ । तर नेपालका विविध जातजाति तथा तिनका संस्कृतिप्रति चाहि संवेदनशील बनाउँछ पुस्तकले ।              

No comments: