Monday, June 18, 2012

"Paniko Gham" is soporific


"पानीको  घाम" : निद्राको  ओखती
तपाईं अनिद्राको रोगले ग्रस्त हुनुहुन्छ भने अमर न्यौपानेको उपन्यास (?) "पानीको घाम" राम्रो औषधि हुनसक्छ । पट्यारलाग्दो छ यो उपन्यास । पहिला त यो उपन्यास हो कि कथा संग्रह भन्ने छुट्ट्याउनै गाह्रो । नेपालगंजका धेरैथरी मान्छेका कथा यसमा छन् र तिनको औपन्यासिक संश्लेषण गरिएको छैन । प्रत्येक अध्यायमा छुट्टाछुट्टै कथा छन् । यो एपिसोडिक उपन्यास हो कि त ? जिटिजेडको परियोजनाअन्तर्गत सहरको कथा लेख्नेहरूमध्येका एक  न्यौपानेले नेपालगंज कार्यक्षेत्र पाएका रहेछन् । त्यो क्रममा उनी नेपालगंज पुगेर त्यहाँ दुई महिना बसेर कथा लेखेका रहेछन् । उपन्यासको रचनागर्भ पनि उनले यहीँ समावेश गरेका छन् । प्लेन चढेर नेपालगंज गएको, "राइटर्स ब्लक" का कुरा, पात्र बन्ने व्यक्तिसँग भेटेका कुरा, नेपालगंज घुमेका कुरा पनि छन् । ती सबै लम्लस्टे विवरण किन दिनुपर्थ्यो कुन्नि ? कथारम्भ र कथान्त शीर्षकमा  उनले भेटेका पात्रका कुरा गरेका छन् र यी अल्छीलाग्दा बनेका छन् । गन्थन छ यिनमा । अंग्रेजीमा "longeur" भन्ने शब्द छ जसले कुनै पनि उपन्यासका लामा र झर्कालाग्दा प्रसंगलाई इगित गर्छ । त्यो "longeur" यहा पाइन्छ । भाषा त न्यौपानेको सशक्त पक्ष नै हो र यो उपन्यासको भाषा पनि मीठो छ । न्यौपाने वर्णनात्मक पक्षमा सबल छन्, कथानक पक्षमा दुर्बल । त्यसैले कथाहरू नदीसरी सलल बगेका छैनन्, पोखरीजस्तै एक ठाउँमा जमेका छन् । प्राय: गरीब पात्रहरूको कथा छ यहाँ । सानो कुरामा दंगा हुने भनिएको नेपालगंज सहरमा जीविकार्जनका लागि बाहिरबाट आएका तथा स्थानीय दुवैथरी पात्र छन् । बहुल पात्र र तिनको चरित्रचित्रण राम्रै छ । तर ती पात्रका कथाले कारुणिकता जगाउने वा आनन्द दिने काम गर्दैनन् । अनि तर्कसम्मत पनि छैनन् एक दुईटा कुरा । एउटा पात्र नेपालगंजबाट विराटनगर सिधै प्लेनमा गएको भनिएको छ जबकि त्यहा सिधा रुट नै छैन । मलाई त यो उपन्यास पढिसक्न धेरै समय लाग्यो र पढ्दा पढ्दै निद्रा पनि लाग्यो किनभने यसमा पाठकीय आकर्षणका तत्त्व खासै पाइनँ मैले !                

No comments: