गौरा प्रसाईंको सस्मरण "मेरा जीवनका पाना" पढुन्जेल आङ सिरिङ्ग भयो अनि यस्ती साहसी महिलाप्रति असीम श्रद्धा जागेर आयो । पंचायत फाल्न हिँडेका कम्युनिस्ट क्रान्तिकारीहरूसँग मिसिएर अनेकौं ठक्कर, शारीरिक र मानसिक यातना, दुर्व्यवहार, बलात्कारको सिकार हुनुपरेर पनि आफ्नो अदम्य आत्मबलका कारण कर्तव्यपथमा लागिरहने विगत रहेछ उहाँको । आफ्नै नेताको रुखोपन, नेपाल प्रहरीको क्रूर यातना, भारतीय कोठीमालिकका अत्याचारका कैयौं सिलसिला झेलेर क्रान्तिको बाटोमा अघि बढेकी थिइन् गौरा । आफूले भोगेका नारकीय यातनाको खुलस्त वर्णन साहसिक तवरले गरेकी छिन् उनले यो संस्मरणमा । मान्छेको शरीरले कतिसम्म यातना खप्न सक्दोरहेछ भन्ने थाहा लाग्छ यो पुस्तक पढ्दा । नारीको त्यो कोमल शरीरमा यातना दिने ती नरपशुहरू देखेर तिनलाई धिक्कार्न मन लाग्छ । अनि यसरी संघर्षमा लागेकी श्रद्धेय महिलाप्रति कुदृष्टि राख्ने कापुरुषप्रति असीम घृणा उत्पन्न हुन्छ । हुन त सहयोगी पुरुषहरू पनि भेट्छिन् उनले । छोटा र चोटिला वाक्य छन् यो पुस्तकमा । त्यस्तो दुर्दान्त यातना खपेका बेलामा पनि हास्यचेत छोडेकी छैनन् लेखिकाले । हुन त जो सबभन्दा बढी पीडित हुन्छ उ नै सबभन्दा रमाइलो हुन्छ रे । हिटलरको ग्यास च्याम्बरमा मृत्यु कुर्ने यहुदीहरू जोक गरेर बस्थे रे । कुनै प्रसंगमा भने तार्किकता छैन, क्रमभंगता छ । बनारसमा यमुनाको चर्चा छ जबकि त्यहाँ त गंगा नदी पो बहन्छिन् । यस्ता झिनामसिना कुरालाई ध्यान नदिकन पढ्ने हो भने यो एउटा छुटाउनै नहुने उत्कृष्ट पुस्तक हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment