Sunday, April 22, 2012


Nayanraj Pandey's "Loo" : An impressive novel
भाषाका जादूगर प्रसिद्ध आख्यानकार नयनराज पाण्डेको सद्य: प्रकाशित उपन्यास "लू" रमाइलो पारामा गम्भीर विषय उठाउने उत्कृष्ट कृति हो । भारतसँग सीमाना जोडिएको  पश्चिम नेपालको एउटा गाउँ पत्थरपुरवाको सेरोफेरोमा उनिएको यस उपन्यासको कथाले  त्यस भेगका मानिसका व्यथालाई उजागर गरेको छ । भारतीय सीमा प्रहरीका आतंककारी व्यवहार र नेपाली नेताका उदासीनताका कारण त्यहाँका वासिन्दा पीडित छन् । अझ त्यसमाथि प्रकृतिको कहरबाट समेत आक्रान्त छन् उनीहरू । गर्मीमा चल्ने तातो हावा लू ले उनीहरूको तन मन दुवैलाई आक्रान्त पारेको छ । तर यति धेरै पीडामा बसेपनि आफ्नो मानवीयतालाई कायम राख्न सफल यी गरीब गाउँलेसग पाठकको आत्मीयता मजबुत बन्न पुग्छ । यी पात्रप्रतिको सहानुभूतिले पाठकको हृदय सराबोर पार्न सफल छन् कृतिकार पाण्डे ।

उपन्यासमा धेरै पात्र छन् र सबै सशक्त तथा यादगार छन् । मुख्य पात्र इलैयालाई मात्र हाबी नगराएर पाण्डेले सबै पात्रलाई उत्तिकै भूमिका खेल्ने अवसर दिएका छन् र यो "अन्सम्बल कास्ट" को उम्दा नमुना हो । उपन्यासको कथानक शैलीले पनि सबै पात्रको मनोभावना व्यक्त गर्ने अवसर जुटाइदिएको छ ।  रुसी समालोचक मिखाइल बाख्तिनले  "बहुभाषी, बहुआयामी" उपन्यास महान् हुन्छ भनेका छन् । पाण्डेको यो उपन्यास बाख्तिनको उक्त कसौटीमा खरो उत्रन्छ । त्यो इलाकामा बोलिने विभिन्न भाषा यहाँ अटाएका छन् र विभिन्न पृष्ठभूमिका पात्रका सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक  तथा सामाजिक  आयामहरू यहाँ प्रस्तुत भएका छन् । यस्ता पात्रहरूको आपसी भाइचारा तथा टकरावले उपन्यासको गतिमा द्रूतता ल्याएको छ र यो एक बसाइमै पढेर सकिने तथा पछिसम्म पनि याद रहिरहने कृति बन्न पुगेको छ ।  

आवाज दबाइएका सबाल्टर्न पात्रहरूलाई उपन्यासमार्फत आवाज दिएर पाण्डेले शासक वर्गका आँखा समेत खोलेका छन् । सीमानाका वासिन्दाका पीडा तत्काल सम्बोधन गरिनुपर्ने गम्भीर विषय हो भनी उपन्यासका माध्यमले पाण्डेले काठमाडौंका शासकलाई झक्झक्याएका छन् ।

यो उपन्यास भाषाका कारण गजबको बन्न पुगेको छ । परिवेशको भाषालाई दुरुस्तै टिपेर पस्किएकाले मीठो सुनिएको त छँदैछ । त्यस अतिरिक्त पनि पाण्डेले विभिन्न अलंकारका प्रयोगद्वारा कथानकमा लालित्य छरेका छन् । सशक्त बिम्ब तथा उपमा त उपन्यासभरि नै छरिएर रहेका छन् । पाण्डे सिनेमाका स्क्रिप्ट पनि लेख्ने भएकाले बिम्बसंयोजनमा उनको दक्षता देख्नसकिन्छ । पात्रका बाहिरी परिवेश र आन्तरिक चिन्तन शृंखला दुवैको उत्तिकै सन्तुलित वर्णन गर्न पाण्डे सफल भएका छन् । वाक्यहरू सानाछोटा र चोटिला छन् ।

मैले चाहिँ उपन्यासमा कायम गरिएको हास्य चेत घतलाग्दो पाएँ । मेरा प्रिय प्रख्यात लेखक सलमान रुस्दीले आफ्ना उपन्यासमा चटपटे भाषा तथा हास्यचेतलाई सुरुदेखि अन्त्यसम्म राखेका हुन्छन् र पाण्डेले यो उपन्यासमा त्यस्तै गरेका छन् । अल्लि छाडा र अश्लील लाग्ने वर्णन पनि यसमा भएको छ तर ग्रामीण जनजीवनको दुरुस्त तस्बीर उतार्दा यो आउनु स्वाभाविक हो । त्यस्तै रुस्दीले झैँ पाण्डेले हिन्दी सिनेमाका प्रभावलाई उपन्यासमा उतारेका छन्, चाहे त्यो प्रमुख पात्रको हिन्दी फिल्मप्रतिको लगाव होस् चाहे उपन्यासकै कतिपय फिल्मीजस्ता देखिने प्रसंग हुन् । यसले उपन्यासको रोचकतामा अभिवृद्धि गरेको छ ।

समग्रमा भन्दा यो एउटा पढ्नैपर्ने उपन्यास हो र नेपाली साहित्यमा यसको आगमनलाई एउटा सुखद घटनाका रूपमा मैले बुझेको छु ।
           

     
   

4 comments:

Prakash Subedi said...

Very well written, Bindesh...balanced and and penetrating!
Congratulations, and looking ahead to read more from you!(and, I havent read Loo yet, but looking ahead to read it, too, soon.

Bindesh Dahal said...

Thank you, Prakash!

Bindesh Dahal said...

"लू" को शैलीलाई "कोरल नोभेल" भनिदो रहेछ । धेरैवटा सूत्रधारले कथानक अघि बढाउने । अनि माओवादी विद्रोहको पटक्कै चर्चा नगरिएकाले गाउँलेहरूको क्षेत्रीय तथा तात्कालिक महत्त्वको विषयलाई उपन्यासमा जोड दिइएको हो भन्ने लाग्छ ।

Bindesh Dahal said...

उपन्यासको प्रथम वाक्य "इलैया मर्यो !", रेडियोलालले आरम्भमै सारा सस्पेन्स खोलिदियो । र, कहानी शुरू गर्‍यो ।" यो महाभारतको शैली हो । युद्धको वर्णन गर्दा संजयले धृतराष्ट्रलाई "द्रोण वा अन्य कुनै योद्धा बित्नुभो" भनेर सुरु गर्छन् र कसरी बित्नुभो त्यसपछि भन्छन् । यो उपन्यासले महाभारतीय शैली अपनाएकोले पनि गजबको बन्न पुगेको छ । महाभारतको झैँ यहाँ बहुआयामी पात्रहरूको बाहुल्य छ ।