साँगा, काभ्रेको एउटा सरकारी कार्यालयका सुब्बा माधव थापाको ११ वर्षे छोरो नितेश साह्रै चकचके थियो । दिनभर उपद्र्याइँ गरेर आमाबालाई धुरुक्कै रुवाउँथ्यो । कत्तिचोटि माया गरेर सम्झाए पनि, बेस्मारी भकुरे पनि कहिल्यै सुध्रिने छाँट देखाएन नितेशले । उसकी एउटी मात्र बहिनी श्वेता भने साह्रै भलाद्मी थिई । आफ्नी सोझी बहिनीलाई पनि बेफ्वाँकमा दु:ख दिइरहन्थ्यो । पढाइमा भने तेज थियो । सधैं कक्षामा प्रथम आउँथ्यो । त्यसैले कयौँ कांड गरेपनि उ पढ्ने विद्यालयका प्रधानाध्यापकले उसलाई निकालेका भने थिएनन्, चेतावनी मात्र दिएर छोडेका थिए ।
विगत केही दिनदेखि विद्यालयमा भवन निर्माणको काम भैरहेको थियो । अब टेन प्लस टु पनि चलाउन पर्यो भनेर विद्यालयले अगाडिको खाली चौरमा भवन थप्दैथियो । सिमेन्टीका बोरा, किला, छडलगायत धेरै निर्माण सामग्री त्यहाँ राखिएका थिए । छुस्के नितेशले त्यहाँ पनि आफ्ना लीला देखाइसकेको थियो ।
एक दिन त अचम्मै भयो । नितेशले त्यतै भेटिएको सानो ल्वाङ कीला खेलाँचीमै मुखभित्र हाल्यो र त्यो सुलुत्त भित्र पसेर उसको घाँटीमा गएर अड्कियो । उसका साथीहरू त्यतै थिए । उनीहरूले यो सबै घटना देखे । नितेशलाई कीला निले पनि त्यसले धेरै दु:ख दिएन । तर साथीहरू भने डराए र प्रधानाध्यापक केदार आचार्यलाई गएर सुनाए । पहिला त उनले नितेशको घाटीमा औंला घुसाएर कीला निक्लिन्छ कि भनेर कोशिश गरे तर कुरो झन् बिग्रियो । दुख्न पो थाल्यो नितेशलाई । "ऐया, ऐया" गर्न थाल्यो । केदारले पनि हत्तनपत्त नितेशका बालाई फोन गरेर विद्यालयमा बोलाए । "लौ तपाईंको छोरोले त कीला निलेछ । तुरुन्तै अस्पताल कुदाउनुस् ।"
बा हस्याङ्फस्याङ गर्दै आए र बाटैबाट आमा चाहिँलाई पनि बोलाएर तत्काल काठमाडौंको एउटा ठूलै अस्पतालमा पुर्याए । बाटोभरि नितेश "दुख्यो, दुख्यो" भन्दै सुँक्क सुँक्क गर्दैथियो । अस्पतालमा पुगेपछि डक्टरले तत्काल भिडियो एक्स्रे गर्न लगायो र दुखाइ कम गर्नका लागि पेन किलर दियो । पछि एक्स्रे हेर्दा कीला त घाँटीको अप्ठ्यारो भागमा पो अड्किएको रहेछ । "ल, अब यो निकाल्न त अपरेसन नै गर्न पर्छ । त्यो पनि छिट्टै । नभए फेरि इन्फेक्सन भएर घाँटी नै कुहिन्छ । एक लाख रुपैँयाको बन्दोबस्त गर्नुस्", डक्टरले नितेशका बालाई सुनायो ।
नितेशलाई त्यही अस्पतालमा भर्ना गरियो । अल्लिअल्लि पैसा त थियो घरैमा तर त्यत्रो ठूलो रकम जुटाउनका लागि रिनपन गर्न बा आफन्तलाई गुहार्न गए । आमा अस्पतालमा कुरुवा बसिन् र श्वेतालाई पनि बोलाइन् ।
नितेशको त दुखाइले बोली नै बन्द भयो र उ आँखाबाट आँसु चुहाएर बस्थ्यो । रुँदा रुँदा नाकमा सिँगान पनि जम्मा हुन्थ्यो र आमाले नाक पुसिदिन्थिन् । माधवले त्यही दिन रिन खोजेर जसोतसो एक लाख जम्मा गरे ।
भर्ना गरेको भोलिपल्टै अपरेसन गर्नका लागि डक्टरहरूको टीम तयार भयो । अझ अन्य अस्पतालका वरिष्ठ डक्टरलाई पनि अपरेसन गर्न बोलाइयो । अस्पतालको बेडबाट अपरेसन कक्षतिर लादैँ गर्दा कक्षको ढोकामै नितेशको घाँटी खसखसाएर आयो । उसले ख्वाक्क यसो खोकेको त खकारसँगै कीला पनि पो फुत्त बाहिर निस्कियो । यो देखेर एकछिन त डक्टरहरू पनि जिल्ल परे अनि हाँस्न थाले । नितेश र उसका बाआमा अनि बहिनी पनि रुन्चे हाँसो हाँस्न लागे ।
No comments:
Post a Comment