Monday, April 16, 2012

बल्ल

कृष्णले काठमाडौको गोंगबुमा एउटा सानो कोठा लिएर बसेको थियो । खान बस्न ठीक्क पुग्ने ससानो जागिर थियो । एक पैसा पनि बचत हुँदैनथियो । गुल्मीको पहाड घरमा आमाबा थिए । कृष्ण आमाबाको एक्लो छोरो । उसका दुइटै दिदिबहिनीको बिहा भइसकेको थियो । उसका आमाबा छोराले अल्लिअल्लि पैसो पठाइदिन्छ कि भनेर आशा गर्थे । हुन त गाउँमा बाली लाग्ने खेत त थियो तर अँधिया दिदा वर्दा खानै मात्र ठीक्क पुग्थ्यो ।

कृष्णको बिहा गर्ने उमेर भइसकेको थियो । धेरै ठाउँ केटी हेर्न दौडे पनि भनेमुताबिकको केटी पाउनसकेको थिएन । मान्छे आफू हेर्दा धेरै राम्रो पनि थिएन अनि अल्लि गोजे पाराको थियो । केटीले नै कतिचोटि रिजेक्ट गरेका थिए उसलाई । अन्ततोगत्वा एउटी केटीसित उसको बल्ल कुरा मिल्यो । केटी हेर्दा ठीकैकी थिई । गहुँगोरी, दाँत मिलेका, ठूलो नाक भएकी, जिउचाहिँ सलक्क मिलेकी देखिन्थी । घर चाहिँ बुटवल ।

कृष्णले आफ्नो बुताले भ्याएअनुसारको विवाह कर्म गर्‍यो । रातिको बिहा थियो । बिहान ४ बजे कन्यादान भयो र यताउती अरु काम सक्दा वर्दा ८ बज्यो । त्यसपछि उनीहरू पहाड घरतिर गए । साँझपख त्यहाँ पुगेर बुहारी भित्र्याउने संस्कार सम्पन्न भयो । त्यसपछि एक्कासी ८ बजेतिर उसकी बुढीले "ढाड दुख्न थाल्यो" भनेर गुनासो गरी । "ल, आराम गर न त" भनेर कृष्ण बाहिर गयो ।

गाउँका साथीहरू भेट भए अनि भन्न थाले "ल, सँगै बसेर मोज गर्नपर्छ" ।

"हैन, बुढीलाई आराम छैन । म जान्छु ।"

"हैन यार, आजको समय हामीलाई दे न । जिन्दगीभरिका लागि त भाउजु भइहाल्नुहुन्छ नि," टंकले भन्यो ।

त्यति भनेर कृष्ण र उसका ४ जना साथी भट्टीमा जाँड खान थाले । साथीहरूले उसलाई जिस्काउन थाले, "यो किस्नेको पनि अब पानी चढ्यो । ल केटा, तेरै छ दिन । आजै राति झन्डा गाड्ने त होला नि" । दीपकले यसो भन्दा कृष्ण केही नबोली मुसुमुसु हाँस्दै लोकल ठर्रा तानिरह्यो । जाँड खाँदा खाँदा रातको १२ बजिसकेछ ।

घर आउँदा त बुढी भूस भएर निदाइरहेकी थिई । "भैगो के उठाउनु त, आफू पनि यस्तो हालतमा छु" भनेर आफू अर्को खाटमा पल्टियो । "अब काठमाडौंमा सुहागरात मनाउँला, भोलि त हिँडिहालिन्छ" भन्ने सोच्दै कतिबेला निदायो, आफैँले थाहा पाएन ।

भोलिपल्ट बेलुका बुढीलाई काठमाडौंको त्यही आफ्नो सानो कोठोमा भित्र्याएको थियो उसले । कत्ति खोजेको हो उसले अल्लि राम्रो डेरा तर काठमाडौमा डेरा पाउनु र जागिर पाउनु दुवै मुस्किल काम हुन् । केही नलागेर उसले बुढीलाई त्यही कोठामा बसाउन बाध्य भयो ।

कोठामा पसेको एकैछिनमा बुढी पर सरी । सुहागरात मनाउने कल्पनामा मक्ख पारेको कृष्ण बुढीको मासिक धर्मका कारण खिस्रिक्क पर्‍यो । "कसो बिहा छेकिएन ! सबै सकिएपछि भयो", भन्दै थिई बुढी । उता कृष्णलाई भने खपिनसक्नु भएको थियो । "हैन बुढी, गरम जे पर्ला पर्ला" भन्दै यसो नजिक आउन लागेको त बुढीले सातो खाई । "के हो ताल ? बाहुनको छोरा भएर रजस्वला महिलासँग सहवास गर्न खोज्ने ? अनि कस्तो दुखिराछ मलाई अहिले ! यस्तो बेलामा गर्ने रे ! अब तीन दिन कुर्नु न !" कृष्णलाई रिस त साह्रो उठेको थियो यो सुन्दा तर आफैँलाई नियन्त्रण गर्‍यो । बुढीका लागि ढोकाछेउमा एउटा ओच्छ्यान मिलाएर आफू भने खाना बनाउन थाल्यो ।

बल्लतल्ल तीन दिन बित्यो । यो तीन दिनमा कृष्णले अफिसमा कोही नभएको मौकामा पोर्न भिडियो डाउनलोड गर्‍यो र एकछिन त्यतै मन बहलायो । तर त्यो हेर्दा उसको इच्छा झन् प्रबल भएर आयो र खपिनसक्नु भयो । आफ्नै दुई तिघ्राबीचमा हात पसाएर दाँत किटिरह्यो । तर मनलाई ढाढस दिँदै बस्नुबाहेक अरु कुनै उपाय पनि त थिएन ।

तीन दिन बितेपछि बुढीले चोखिनका लागि नुहाउने तर्खर गर्न लागी । कृष्ण बिहानैदेखि खुशी थियो । लगभग नाच्दै खाना पकायो उसले र खाइवरी बाटोमा गीत गुनगुनाउँदै अफिस गयो । अफिसमा पनि सबैसँग हाँसीखुसी गर्‍यो । "के हो? आज त कृष्णका हड्डी हाँसेका छन् त," सहकर्मी विराजले जिस्कायो । कृष्ण लाजले भुतुक्क भयो र मुस्काइरह्यो ।

बेलुका उत्साहित भएर घर फर्किँदा त उसकी सासू पो आएर बसिरहेकी देख्यो । "हत्तेरी, यो बुढी किन अन्मरिन आइपुगेकी अहिले?" यसो सोच्दै उसले बेमनले सासूलाई नमस्कार गर्‍यो । आफ्नी आमा आएकाले बुढी चाहिँ बहुत खुशी भएकी थिई । "मम्मीलाई मेरो याद आएछ र आज बिहानै हिँड्नुभयो । अब मलाई नि आनन्द हुन्छ । हजुर अफिस गएपछि मलाई नि न्यास्रो लाग्ने । अब आमासँग बसेर कुरा गर्छु । दिन पनि कट्छ ।" कृष्णले केही भन्न सकेन र सासूलाई मनमनै सरापेर बस्यो ।

सासू चार दिन बसेर बल्लबल्ल घर फर्किन् । सासूलाई बसपार्कमा एकाबिहानै बस चढाएर कृष्ण डेरा आइपुग्यो । "आज अफिस छुट्टी लिएर भए पनि दिउँसै सुहागरात मनाउँछु" भन्ने सोच्दै थियो उ । बिहा भाको यत्तिका दिनसम्म पनि सुहागरात मनाउन नपाएको कृष्ण मत्ता साँढे जस्तो भएको थियो । त्यतिन्जेल बुढीले खाना ठीक पारेकी थिई । खानका लागि बस्न लाग्दा हाकिमको फोन आयो । "ल तुरुन्त अफिस आउनुस् त कृष्णजी, यहाँ जरुरी काम आइपर्यो" पो भन्छन् हाकिम । "हजुर, म त आज बिदा लिउँ भनेको ?" "हैन, आज एकदम जरुरी छ । तपाईं आउनैपर्छ । बरु यो काम सकेपछि जति भने नि बिदा लिनुहोला न !" "हस् हजुर, म आउँछु," लगभग रुन्चे स्वरमा कृष्णले भन्यो ।

अफिसमा त्यो दिन बेस्सरी व्यस्त भयो कृष्ण । राति पनि ओभरटाइम गरेर बल्लबल्ल काम सकायो । हाकिम खुशी भए र कृष्णलाई भने, "ल, अब केही दिनको बिदा लिनुभए हुन्छ । म स्वीकृत गर्दिन्छु ।" खिसिक्क हाँस्दै कृष्णले "हुन्छ, हजुर" भन्यो ।

राति १० बजेतिर डेरा पुग्दा बुढी त छैन । बुढीले मोबाइल पनि लिएकी थिइन । "लौ न कहाँ गई होली?" भनेर चिन्तित हुँदै उसले यसो दिमाग लगाउन थाल्यो । आफ्नी सानीमाकहाँ गई होली कि भनेर फोन गर्‍यो । सानीमाले फोन उठाएर "नमस्ते ज्वाइँसाब ! अनिता त यहीँ रात बस्दै आकी छ । कोठामा बस्दा दिक्क लाग्यो भनेर फोन गरिरैथी । अनि मैले यतै बोलाएँ ।"

"हरे, मलाई खबर गर्नपर्छ नि?" भनेर रिसले मुर्मुरिदै कृष्णले फोन काट्यो । "त्यो मोरीलाई पख् !"

रातभर अनिदोँ भएर छट्पटाउँदै कृष्ण बस्यो । भोलिपल्ट बिहान बुढी आइपुगी । कोठामा पस्न पाएकी पनि थिइन, उसलाई कृष्णले अङ्गालोमा बेरिहाल्यो । "ह्या, कस्तो मान्छे ? बस्न पाछैन, झम्टिन आइहाल्ने?" "आज मलाई केही थाहा छैन । आज त सुहागरात मनाउनैपर्छ ।"

"लौ, लौ " बुढीले भनी !

बल्ल भने कृष्णले सन्तोषको सास फेर्न पायो ।

सर्वाधिकार सुरक्षित विन्देश दहाल २०६९

No comments: