"मुकुन्डो" को चर्चा गरौँ ।
यो एउटी मानसिक असन्तुलनले ग्रसित महिला, उनका पति र एउटी माता (महिला झाँक्री) का वरिपरि बुनिएको कथा हो । दीपक र सरस्वती (गौरी मल्ल) सुखी दम्पत्ती हुन् । दुईजना छोरीका साथ यिनीहरू खुसीखुसी जिन्दगी बिताइरहेका छन् । साधारण परिवार हो यो, दीपक धनी सेठकोमा सेक्युरिटी गार्डको काम गर्छन् । छोराको चाहनाले तेस्रोपटक गर्भवती भएकी छिन् सरस्वती । उनी धर्मकर्ममा विश्वास राख्छिन् । एउटा साधु अनि लङ्गडो फूलबेचुवाको सुझावमा माता त्रिपुराको दर्शन र आराधना गरेर उनी छोरै पाउँछिन् तर अल्पायुमै त्यो छोरो मर्छ । त्यसपछि सरस्वतीको दिमागी असन्तुलन देखिन थाल्छ । दीपक समस्या समाधानका लागि माताजी गीता (मिथिला शर्मा) को शरण पर्छन् । माताको आफ्नै समस्या छ । उनी आफ्नो पति अल्पायुमै मरेपछि पतिको आत्मा चढेर झाँक्री बनेकी हुन् र उनी पराभौतिक ईश्वरीय तत्त्वसँगको सम्बन्धभन्दा पनि मानावीयताको धरातलमै रमाउन चाहन्छिन् । उनी दीपक र सरस्वतीप्रति आकर्षित हुँदै जान्छिन् र उनीहरूको घर आउने जाने गर्छिन् । दीपकमा सायद उनी पतिको छवि देख्छिन् । सरस्वती उनीसँग कुरा गर्न पाएर खुसी नै हुन्छिन् र दीपक पनि आफ्नी पत्नी सामान्य हुँदै गएकोमा खुसी हुन्छन् । एकदिन दीपक र गीता जात्रा हेर्न जान्छन्, सरस्वती वाक्वाक आयो भनेर जान्नन् । राति अबेला फर्केपछि सरस्वती दीपकसँग अर्को आइमाइमा आसक्त भएको भन्दै झगडा गर्छिन् । उनमा पागलपन चढ्दै जान्छ । उनीहरू फेरि माताकोमा जान्छन् र त्यहाँ आश्चर्यचकित पार्ने घटना हुन्छ ।
महिलाको सूक्ष्म मनोविश्लेषण गरिएको यस्तो बहुआयामी चलचित्र नेपालीमा त खासै बन्दैनन् । सरस्वतीलाई गर्भवती भएपछि हुने तनाव (पोस्टपार्टम डिप्रेसन) त छँदै थियो त्यसमाथि पनि अझ त्यो छोरा मर्दा भएको पीडाले मानसिक रोगी नै बनाउँछ । समाजमा मानसिक रोगलाई अझै अस्वाभाविक नै मानिन्छ । यो चलचित्रमा मानसिक रोगलाई धामी झाँक्रीको अभ्यासरूपी पछौटे संस्कारको आवरणमा दर्साइएको छ र यो बडा राम्रो उपलब्धि मान्नुपर्छ । महिलालाई हुने यस्तो मानसिक समस्या समाजले बुझ्न नसकेर झन् गाह्रो पारिरहेको हुन्छ । चलचित्रमा पनि दीपकले आफ्नी पत्नीको समस्या बुझ्दैन, सासूले त झन् दुष्ट व्यवहार गर्छिन् । पीडितलाई नै दोष दिने प्रवृत्ति (ब्लेमिङ्ग द भिक्टिम) लाई चित्रण गरिएको देखिन्छ । असहाय स्थितिकी महिलाको राम्रो प्रस्तुति गरिएको छ । अनि झाँक्री महिलामा सुपरइगो र इडको द्वन्द्वजनित मानसिकताको समेत आकर्षक चित्रण पाइन्छ । उनीसँग बस्ने पुजारी उनलाई आफ्नो बाटो नछोड्न भनिरहन्छन् तर उनी पुरुषप्रति आकर्षित छिन् । सामान्यताको मुकुन्डोमा लुकेको गम्भीर मानसिक असामान्यतालाई यो चलचित्रले देखाएको छ । चलचित्रका अन्य कुरा गर्दा, क्लोज अप सटहरूको बाहुल्य छ चलचित्रमा, पात्रको महत्त्व उजागर गरेको तथा भाव भंगिमालाई नजिकबाट अवलोकन गरेको देखिन्छ । आइरनीको प्रयोगसमेत गजबले गरेका छन् निर्देशकले । भौतिकवादी कम्युनिस्ट पार्टीको चिह्न हँसिया हतौडाका पर्चामुनि पात्रहरूले धार्मिक कार्य गरेका दृश्य दोहोरिरहन्छन् ।
फिल्ममा कमजोर पक्ष पनि छन् । संवाद संप्रेषणीयता नेपाली चलचित्रको ठूलो कमजोरी हो र यसमा पनि त्यही समस्या छ । असहज र अप्राकृतिक लाग्छन् पात्रहरूले संवाद भन्ने तरिका । अनि फिल्मको क्लाइमेक्समा समस्या छ । दुई सशक्त नारी पात्रबीचको द्वन्द्वलाई अवतरण गर्ने तरिका अल्लि चित्तबुझ्दो लागेन । हतारमा सकेको जस्तो देखिन्छ । काठमाडौंको तान्त्रिक रहस्यमयतालाई फिल्मले पक्रेको छ तर केही बिम्ब बारम्बार दोहोरिरहँदा यो विदेशीलाई पूर्वीय एक्जोटिक कुरा देखाउन बनाएको चलचित्रजस्तो लाग्न पुग्छ । यसका बाबजुद समग्रतामा कुरा गर्नुपर्दा यो एक उत्कृष्ट चलचित्र हो भन्ने मेरो ठम्याइ छ ।
Sunday, March 4, 2012
Book Review "Steve Jobs"
स्टिभ जब्सको जीवनी पढिसिध्याएँ । वाल्टर आइज्याक्सनले जब्सको समग्र जीवनी मीठो पारामा प्रस्तुत गरेका छन् । जीवनीलेखनमा प्राय: स्तुतिवाद हावी हुने गर्छ तर यसमा सन्तुलन कायम गरिएको पाएँ । जब्सको बहुलट्ठी व्यवहारको पनि उल्लेख गरिएको छ भने उनका महानतालाई पनि बताइएको छ । जब्स अल्लि साइको नै मान्छे रहेछन् : कसैले जे नयाँ कुरा ल्याएपनि "बकवास" भन्दिने, आफूले भनेजस्तो भएन भने रोइदिने, जोसँग पनि चर्काचर्की बाझिदिने । तर यो सबै उनले राम्रो वस्तु मात्र उत्पादन होस्, साधारणमा मानिसले चित्त नबुझाउन् भन्नका लागि गरेका रहेछन् र मानिसको सिर्जनात्मक प्रतिभालाई उजागर गर्न उनी खप्पिस रहेछन् । त्यसैले त उनको संस्था याप्पलका उत्पादन म्याक, आइपोड, आइफोन र आइप्याडले धेरै मानिसको आकर्षण खिच्न सफल भएको । प्रविधिमा कलालाई स्थान दिनुपर्ने सौन्दर्यशास्त्री चिन्तन बोकेकाले याप्पलका उत्पादनले बजार पिटेका हुन् । हुन त मैले अहिलेसम्म याप्पलका कुनै पनि उत्पादन प्रयोग गरेको छुइनँ तर जब्सको जीवनी पढेपछि तिनमा मेरो रुचि बढेको छ । जब्स युवाकालमा भारत आएर नीम करौली बाबाको संगतमा बसेका रहेछन् र आध्यात्मिक चिन्तनमा उनको रुचि जीवनभर रह्यो । जेन दर्शनबाट पनि प्रभावित भएको हुनाले उनी वस्तुमा जेनको समता र शान्ति कायम राख्न जोड दिन्थे । तर उनी आफैँ चाहि शान्त व्यक्ति थिएनन् । प्राय: तनावमै हुन्थे र भित्रको रिसराग व्यक्त पनि गर्थे । उनीसँग काम गर्ने मान्छेलाई धरक्कै पार्थे । यति हुँदाहुँदै पनि विश्व हल्लाउनसक्ने उत्पादन गराउन आफ्ना मान्छेलाई प्रेरणा दिन उनी सफल थिए । शाकाहारी, फलाहारी, उपवासकर्ताका रूपमा सात्विक जीवन जिएका जब्सको मौलिक चिन्तनभन्दा पनि वस्तुको ग्राह्यता परख्न सक्ने कला थियो । उनको प्रतिद्वन्द्वी बिल गेट्सले पनि माइक्रोसफ्टमार्फत संसार जितेका हुन् तर कलात्मक वस्तु उत्पादन त जब्सकै विशेषता रह्यो । अझ पिक्सार भन्ने संस्था खोलेर उनले यानिमेसन फिल्मको दुनियाँमा ल्याएको तहल्का त इतिहासमा स्वर्णाक्षरमा राख्न योग्य छ । उनको व्यक्तिगत जीवन पनि उतारचढावपूर्ण थियो । प्यान्क्रियाजको क्यान्सरले लानुअघि उनले एउटा रमाइलो जिन्दगी जिएका हुन् भन्नेमा दुईमत हुन सक्दैन । यस्तो रमाइलो जीवनलाई रुचिकर पारामा मीठो भाषामा प्रस्तुत गरिएको यो पुस्तक सबैले एकचोटि पढ्नैपर्ने खालको छ ।
Film Review "Loot"
"लूट" हेरियो हिजो । यो खासै नवीनता नभएको सामान्य फिल्म लाग्यो तर यथार्थवादी चित्रण भएकाले धेरैलाई अपिल गर्न सफल भयो जस्तो लाग्छ । ब्यांक लुट्ने यस्ता कथाको मीठो प्रस्तुति अनेकौं हलिउड र बलिउड फिल्ममा हेरिसकिएकै हो । डबल क्रस गर्ने कार्य र अन्त्यको त्यो अनपेक्षित ट्विस्ट चाहिँमा पासाले दिमाग लगाकै हो । काठमाडौंको लुकेको घिनलाग्दो यथार्थ (अन्डरबेल्ली) लाई पस्किन चाहिँ सफल छ फिल्म । अकिरा कुरोसावाको "द सेभेन सामुराइ" बाट सुरु भएको "रिक्रुटमेन्ट" विधाको (कुनै काम सम्पन्न गर्न मान्छे जम्मा गर्ने कथा भएका) चलचित्रकै परम्परामा बनेको यो फिल्ममा भट्टीपसले हाकु कालेले छोटेमोटे अपराधमा लागेका दुई केटा र जागिर नभएर हल्लेर बस्ने अरु दुई केटालाई ब्यांक लुट्ने "मास्तरप्लान" आफूसँग भएको र यसबाट सबै रातारात धनी हुने भन्ने सपना देखाएर रिक्रुट गर्छ र तिनलाई नराम्रो धोका दिन्छ । तर एक थ्रिलर फिल्मको कथामा जति तीव्रता हुनुपर्ने हो त्यो पाइँदैन । सम्पादन अझै चुस्तदुरुस्त हुनुपर्थ्यो । छायांकन चाहिँ दामी छ । ऐनाहरूमा आएका प्रतिबिम्बलाई खिँचेको मन पर्यो । सिनेमाका पात्रहरूको कुरा गर्दा सबै ठीकै लागे । अभिनयमा खोट लगाउने ठाउँ छैन । रंगमंचका कलाकार हुन् नि त । दयाहाङ राईको स्ल्यापस्टिक कमेडी मन पर्यो । (तर किन यति आक्रामक छ त्यो पात्र, खालि झगडा गरिरहने ? बल लगाउँछन् अन्य पात्र व्यर्थको, तर हाकु दिमाग चलाउँछ भन्ने देखाउनलाई आक्रामक बनाएको होला ।) हिरोइनको रोल फाल्तु छ र त्यो अन्तिममा हिरोइनको ब्वाइफ्रेन्ड थुनामा पर्दा उसले रोएको र गीत बजेको वाहियात लाग्यो । संवादमा सहजता छ । नेपाली चलचित्रमा हुने अस्वाभाविक र व्यर्थको औपचारिक संवाद संप्रेषणबाट यो मुक्त छ । गाली पनि भरमार रहेछ । त्यस्ता पात्रले बोल्ने भाषालाई पक्रेकै हो । पात्रहरूले सहानुभूति जगाउँदैनन् । अपराधीले ब्यांक लुट्न गए तर धोका पाए । तिनीहरूप्रति के सहानुभूति हुनु दर्शकको ? गोफ्ले र पान्डे बेरोजगार हुन् भनिएको छ तर जागिर खोज्न तिनीहरू अनिच्छुक छन् । कसरी सर्भाइभ गरिराछन् त उनीहरू महंगो सहरमा ? फिल्मले त्यसको उत्तर दिँदैन । जागिर नपाउनुको पीडा बोकेका मान्छे हैनन् ती त्यसैले तिनीहरूप्रति सहानुभूति जाग्दैन । तर मैले यसरी छिद्रान्वेष गर्नुहुन्न सायद यो फिल्ममा । यो मूलधारको सिनेमा हो र यसमा केही सिनेम्याटिक लिबर्टी लिइएका छन् । नेपाली सिनेमामा राम्रो प्रगति भैरहेको छ भन्ने सूचना दिन्छ यसले, म त्यसैमा सन्तोष मान्छु । नेपाली चलचित्रले निश्चल बस्नेतसँग राम्रा सिर्जनाको आशा गर्ने ठाउँ चाहिँ छ ।
Film Review "The Shining"
प्रसिद्ध लेखक स्टिफन किङको उपन्यासमा आधारित प्रख्यात निर्देशक स्ट्यान्ली कुब्रिकको हरर फिल्म "द साइनिङ्ग" हेर्दा आङ सिरिङ्ग भयो । १९८० मा आएको यो चलचित्रमा प्रतिभाशाली अभिनेता ज्याक निकोलसनले एउटा जँड्याहा लेखक ज्याक टोर्यान्सको भूमिका निर्वाह गरेका छन् । कसरी भूतहरूको प्रभावमा परेर त्यो पात्र बिस्तारै पागल हुँदै जान्छ भन्ने कथा बोकेको यो चलचित्रमा ज्याककी पत्नी वेन्डीको भूमिकामा सेली डुभालले पनि शानदार अभिनय गरेकी छिन् । उनीहरूको छोरो ड्यानी तथा अन्य कलाकारले पनि बबाल अभिनय गरेका छन् । मलाई भूतप्रेतको फिल्म रमाइलो लाग्छ तर धेरैजसो फिल्ममा अभिनेताहरूले घिनलाग्दो मेकअप गरेर, त्यो चाहिँ झ्याउ लाग्छ । तर यो फिल्ममा त्यस्तो केही छैन । भूतहरू त आउँछन् तर तर्सिने मेकअपमा देखिँदैनन् । तिनको कुरा गराइ चाहिँ चिसो र त्रासयुक्त हुन्छ । अझ यो फिल्म त हरर भन्दा पनि पागलपनसम्बन्धी फिल्म हो । मलाई पागलपनसम्बन्धी विषयले आकर्षित गर्छ किनकि मस्तिष्कका कुराहरू मलाई रुचिकर लाग्छन् । हुन त मैले याद गरेको भूतको फिल्ममा प्राय: पात्रहरूको (डरका कारण सायद) दिमागले काम नगरेको नै देखाउँछ । भूतप्रेतले बुद्धिलाई नै आक्रमण गर्छन् । हुन त एक्लोपनाले पनि दिमाग खराब गर्छ मान्छेको । यो फिल्ममा प्रमुख पात्रहरू सबै जाडोमा हिउँले घेरिएको अनकन्टार ठाउँको कोही पनि नबस्ने विशाल होटेलमा रखवाली गर्न बसेका हुन्छन् र होटेलको भूलभूलैया तथा भूताहा वातावरणले उनीहरूको दिमागमै असर पर्छ । कुब्रिक आफ्ना कलाकारलाई बेस्सरी मेहनत गर्न लगाउने मेथोडिकल निर्देशक थिए (महान् अकिरा कुरोसावा जस्तै) र सेली डुभाल त धेर मेहनत गर्न परेकाले बिरामी नै भैछन् । हुन पनि निर्देशकले धेरै सताकोले एकदम तनावमा बसेर आफ्नो अभिनयमा त्यो तनावको झल्को ल्याउन सफल छिन् उनी । फिल्म सुरुमा त अल्लि स्लो छ तर अन्तिमको ४५ मिनेट त यस्तो बाँधेर राख्न सफल छ कि सासै रोकेर हेरेँ मैले । एकचोटि हेर्नै पर्ने क्लासिक फिल्म हो यो । मैले छोटो भर्जनको हेरेँ, लामो पनि छ रे तर यो नै इन्ट्रेस्टिङ्ग छ ।
Film Review "Karma" (Tibetan/Nepali)
"मुकुन्डो" जस्तो विश्वस्तरीय नेपाली चलचित्र बनाएका शेर्पाको "कर्मा" भने साधारण चलचित्र बन्न पुगेको छ । उपल्लो मुस्ताङका मोनास्ट्रीमा बस्ने भिक्षुणीहरूको बारेमा बनेको यो चलचित्रले विशेषगरी आनी कर्माको भौतिक यात्रालाई पच्छ्याएको छ जुन यात्राले उनलाई आध्यात्मिक पाठसमेत पढाउँछ । उपल्लो मुस्ताङबाट सुरु गरेर पश्चिमी तराईसम्मको यात्रा र फेरि मुस्ताङमा पुगेको कथानक भएको यो "रोड मुभी" को कथा कमजोर लाग्यो ।
मोनास्ट्रीकी प्रमुख भिक्षुणीको मृत्युपछि उनको आत्माले पुनर्जन्म पाउनका लागि ठूलो प्रार्थना गर्नुपर्ने र त्यसका लागि पैसा चाहिने भएपछि आनी कर्मा र आनी सोनाम एउटा ताशी भन्ने व्यक्तिको खोजमा जान्छन् जसलाई प्रमुख भिक्षुणीले ठूलो रकम दिएकी हुन्छिन् । ताशी केटी बेच्ने धन्दामा लागेको भन्ने हल्ला चलेको हुन्छ । आनी कर्म ताशीको खोजमा जोमसोम, पोखरा, काठमाडौं हुँदै अन्तिममा भैरहवा पुग्छिन् र ताशीलाई पत्ता लगाउँछिन् । तर ताशी त केटीबेचुवा फटाहा नभएर बेचिएका चेलीको उद्धार गर्ने असल मान्छे पो रहेछ । सरसरी कथा यत्ति हो ।
आध्यात्मिक बोधका लागि संसारको पनि ज्ञान हुनुपर्छ । गुफामा लुकेर ध्यान गरेर मात्र पुग्दैन । मान्छेको काम आउनसके, दु:खीलाई सहयोग गर्न सके त्योजत्ति पुण्य केही हुँदैन । बौद्ध दार्शनिक नागार्जुनले भनेअनुसार संसार र मोक्ष एउटै सिक्काका दुई पाटा हुन् भन्ने सोचका साथ बनेको यो चलचित्र जत्ति विश्वसनीय हुनुपर्ने हो त्यति नभएकाले ठीकैमात्र लाग्यो । सोच राम्रो हो चलचित्रको, प्रस्तुतिकरण कमजोर र सिम्प्लिस्टिक लाग्यो । सिनेमाटोग्राफी चाहिँ बबाल हो । चाइनिज ल्याडस्केप पेन्टिङको जस्ता हिमाली दृश्यलाई अत्ति नै सुन्दर तरिकाले क्याप्चर गरिएको छ । अनि त्यो पार्श्व संगीत पनि साह्रै सुमधुर सुनिन्छ । अभिनय पनि प्राय: सबैको राम्रै छ । गैरव्यवसायिक कलाकारबाट यत्तिको काम लिनु पनि सफलै हुनु हो ।
तर सम्पादनको कमीले गर्दा कुनै कुनै दृश्य अनावश्यक लामा छन् । दस मिनेट जत्ति त चलचित्रलाई काट्न सकिन्थ्यो । निर्देशक आफैँले यो कमजोरी स्वीकारेका हुन् । आनी कर्माले आमीर खानको फोटोलाई हेरेका दृश्य दोहोरिरहन्छन् । त्यसको कुनै प्रयोजन देखिँन मैले । अनि जातभात छुवाछुतको कुरा हल्का उठाइएको छ एक दृश्यमा, त्यो पनि एकदम सिम्प्लिस्टिक लाग्यो । भोटका मान्छे सबैको नाम एउटै खालको हुन्छ भनेर हल्का टिप्पणी गर्ने होटेलवालाको अंश पनि काम नलाग्ने छ । यात्राका क्रममा एउटै मान्छे दुईचोटि गाडीमा देखिनु र पछिल्लो देखाइमा प्रमुख पात्र आनीले प्रतिक्रिया नजनाउनुले त्यो मौन पात्रको अनावश्यकता तथा स्क्रिनमा देखिन चाहने लोभ झल्काएको छ । यी यावत् कमजोरीका बाबजुद एउटा गम्भीर विषयमा बनेकाले गर्दा यो चलचित्र मलाई ठीकै लाग्यो । तर "मुकुन्डो" मा जत्ति अर्थगाम्भीर्य यसमा नभएकाले अल्लि निराश नै भए म यसबाट । टिबेटन भाषाको बाहुल्य छ यसमा, त्यसले पनि अल्लि अप्ठ्यारो बनायो । हुन त सबटाइटल थियो चलचित्रमा ।
मोनास्ट्रीकी प्रमुख भिक्षुणीको मृत्युपछि उनको आत्माले पुनर्जन्म पाउनका लागि ठूलो प्रार्थना गर्नुपर्ने र त्यसका लागि पैसा चाहिने भएपछि आनी कर्मा र आनी सोनाम एउटा ताशी भन्ने व्यक्तिको खोजमा जान्छन् जसलाई प्रमुख भिक्षुणीले ठूलो रकम दिएकी हुन्छिन् । ताशी केटी बेच्ने धन्दामा लागेको भन्ने हल्ला चलेको हुन्छ । आनी कर्म ताशीको खोजमा जोमसोम, पोखरा, काठमाडौं हुँदै अन्तिममा भैरहवा पुग्छिन् र ताशीलाई पत्ता लगाउँछिन् । तर ताशी त केटीबेचुवा फटाहा नभएर बेचिएका चेलीको उद्धार गर्ने असल मान्छे पो रहेछ । सरसरी कथा यत्ति हो ।
आध्यात्मिक बोधका लागि संसारको पनि ज्ञान हुनुपर्छ । गुफामा लुकेर ध्यान गरेर मात्र पुग्दैन । मान्छेको काम आउनसके, दु:खीलाई सहयोग गर्न सके त्योजत्ति पुण्य केही हुँदैन । बौद्ध दार्शनिक नागार्जुनले भनेअनुसार संसार र मोक्ष एउटै सिक्काका दुई पाटा हुन् भन्ने सोचका साथ बनेको यो चलचित्र जत्ति विश्वसनीय हुनुपर्ने हो त्यति नभएकाले ठीकैमात्र लाग्यो । सोच राम्रो हो चलचित्रको, प्रस्तुतिकरण कमजोर र सिम्प्लिस्टिक लाग्यो । सिनेमाटोग्राफी चाहिँ बबाल हो । चाइनिज ल्याडस्केप पेन्टिङको जस्ता हिमाली दृश्यलाई अत्ति नै सुन्दर तरिकाले क्याप्चर गरिएको छ । अनि त्यो पार्श्व संगीत पनि साह्रै सुमधुर सुनिन्छ । अभिनय पनि प्राय: सबैको राम्रै छ । गैरव्यवसायिक कलाकारबाट यत्तिको काम लिनु पनि सफलै हुनु हो ।
तर सम्पादनको कमीले गर्दा कुनै कुनै दृश्य अनावश्यक लामा छन् । दस मिनेट जत्ति त चलचित्रलाई काट्न सकिन्थ्यो । निर्देशक आफैँले यो कमजोरी स्वीकारेका हुन् । आनी कर्माले आमीर खानको फोटोलाई हेरेका दृश्य दोहोरिरहन्छन् । त्यसको कुनै प्रयोजन देखिँन मैले । अनि जातभात छुवाछुतको कुरा हल्का उठाइएको छ एक दृश्यमा, त्यो पनि एकदम सिम्प्लिस्टिक लाग्यो । भोटका मान्छे सबैको नाम एउटै खालको हुन्छ भनेर हल्का टिप्पणी गर्ने होटेलवालाको अंश पनि काम नलाग्ने छ । यात्राका क्रममा एउटै मान्छे दुईचोटि गाडीमा देखिनु र पछिल्लो देखाइमा प्रमुख पात्र आनीले प्रतिक्रिया नजनाउनुले त्यो मौन पात्रको अनावश्यकता तथा स्क्रिनमा देखिन चाहने लोभ झल्काएको छ । यी यावत् कमजोरीका बाबजुद एउटा गम्भीर विषयमा बनेकाले गर्दा यो चलचित्र मलाई ठीकै लाग्यो । तर "मुकुन्डो" मा जत्ति अर्थगाम्भीर्य यसमा नभएकाले अल्लि निराश नै भए म यसबाट । टिबेटन भाषाको बाहुल्य छ यसमा, त्यसले पनि अल्लि अप्ठ्यारो बनायो । हुन त सबटाइटल थियो चलचित्रमा ।
Film Review "A Separation" and "Tinker Tailor Soldier Spy"
बिदेशी चलचित्रको अस्कर जित्न सफल "अ सेपरेसन" गहन अर्थवत्ताले सम्पन्न सुन्दर कलात्मक चलचित्र हो । इरानी उच्चमध्यम वर्गको एक परिवारको यो कथाले पूरै इरानी समाजकै बारेमा गम्भीर टिप्पणी गरेको छ । नादेर र सिमिनका बीचमा फाटो आएपछि उनीहरू तलाकको स्थितिमा पुग्छन् । सिमिनलाई आफ्नी छोरीको राम्रो भविष्यका लागि इरान छोड्न मन लागेको छ भने नादेर आफ्ना बूढा बिरामी बाउलाई छोडेर बिदेश जान चाहँदैनन् (आमा मरिसकेकी छिन् सायद नादेरको) । न्यायाधीशले तलाकका लागि सिमिनले राखेको तर्क खारेज गरिदिन्छन् र तलाक लिन दिँदैनन् । सिमिन माइतमा बस्न थाल्छिन् । उनले आफ्नी छोरीलाई सँगै लान चाहन्छिन् तर उनीहरूकी ११ वर्षीया छोरी बा आमाका बीच फाटो नआओस् भन्ने इच्छा राख्ने भएकाले बासँगै बस्छिन् किनकि त्यसो गर्दा आमाले छोडेर जान्नन् भन्ने उनको अनुमान छ । पत्नीले छोडेर गएपछि नादेरले पत्नीकै सिफारिशमा एउटी काम गर्ने महिला राख्छिन् तर ती काम गर्ने महिलाका कारण नादेर ठूलो समस्यामा पर्छन् । गर्नुपर्ने काम राम्ररी नगरेको रिसका कारण नादेरले ती महिलालाई दिएको धक्काले उनको गर्भ तुहिन्छ र नादेरले व्यक्तिहत्याको आरोप खेप्नुपर्छ । योपछि के हुन्छ भन्ने जान्नका लागि चलचित्र नै हेर्नुहोला । एउटा पति र पत्नीका बीचको फाटो (सेपरेसन) मात्र नभएर नयाँ र पुरानो पुस्ता, धनी र गरीब, धर्म र व्यवहार, कानुनको मर्म र शब्दका बीचमा रहेको फाटोमाथि पनि टिप्पणी गरेका छन् चलचित्रका निर्देशक अस्गर फर्हादीले । तर सबैभन्दा बढी वर्गविभेदकै बारेमा टिप्पणी गरिएको छ यसमा । घरमा काम गर्न राखिएकी महिलाका जुत्ता बनाउने पतिले उच्च वर्गका नादेरमाथि देखाएको आक्रोशले इरानी समाजमा व्याप्त वर्गविभेदको सूक्ष्म चित्र देखाएको छ । यो चलचित्रलाई यादगार बनाउन यसको सिनेमाटोग्राफीले समेत ठूलो योगदान पुर्याएको छ । महान् निर्देशक ओर्सन वेलेस र अकिरा कुरोसावाको प्रभाव यो चलचित्रको क्यामेरा यांगलमा देख्न पाइन्छ । डिप फोकस फोटोग्राफीको पद्धतिमा रहँदै वेलेसको तरिका अपनाइएको छ अनि पात्रको महत्त्वलाई उजागर गर्न अर्को पात्रले अझ क्यामेराको भिजन अब्स्ट्रक्ट गर्ने काम गरिएको छ तथा क्यामेरालाई कुनै दृश्य हेर्ने व्यक्तिको पछाडि लगेर त्यो व्यक्तिसँगै दृश्य देखाउने कुरोसावाको तरिकालाई यसमा पच्छ्याइएको छ । सबै कलाकारले यसमा अब्बल अभिनय गरेका छन् । सिमिनको भूमिका खेल्ने लैला हतामी त अनुपम सुन्दरी नै हुन् र उनले अभिनय पनि दमदार गरेकी छिन् । यसका सबै पात्रले एक न एकचोटि झूट बोलेकाले कोहीमाथि पनि विश्वास गर्न सकिन्न । कुरोसावाको "रासोमोन" जस्तो कसको विश्वास गर्ने भन्नेमा नै दर्शकलाई समस्या हुन्छ । तर पात्रहरूप्रति सहानुभूति नै जाग्छ दर्शकको । अनि रासोमोनकै प्रभावमा परेर यो चलचित्रको सुरुवातमा न्यायाधीशसमक्ष पेश भएका नादेर र सिमिनले आफ्नो कुरा राख्छन् तर न्यायाधीशलाई देखाइँदैन, आवाजमात्र सुनाइन्छ । दर्शक नै न्यायाधीश हुनुपर्नेछ । चलचित्रका सबै पक्ष सबल भएकाले यो उत्कृष्ट बन्न पुग्यो र प्रतिष्ठित पुरस्कारको हकदारसमेत बन्यो । कुनै हालतमा पनि हेर्न नछुटाउनुहोला ।
"टिन्कर टेलर सोल्जर स्पाइ" जासुसी उपन्यासका प्रख्यात लेखक जोन ले कारको उपन्यासमा बनेको शीतयुद्धकालीन कथामा बनेको चलचित्र हो । ब्रिटिस जासुसी संस्थामा रहेको तर रुसका लागि काम गर्ने धोकेबाज जासुसलाई पत्ता लगाउने कथा बोकेको यो चलचित्र एकदम जटिल र बोझिल भएकाले मैले एक त सबै कुरा बुझ्नै सकिँन अनि पटक्कै मजा लिन पनि सकिँन । कालो, धमिलो, चिसो वातावरण पूरै चलचित्रभरि नै व्याप्त हुनाले एकरत्ति रमाइलो लागेन । जासुसी उपन्यासको राम्रो ज्ञान भएकाहरूले बुझ्छन् यसलाई, मैले त बुझिँन र मलाई राम्रो लागेन ।
Subscribe to:
Posts (Atom)