ब्रजेशको "यायावर"
पुरुष यौन मनोविज्ञानको कलाविहीन प्रस्तुतियुक्त साधारण उपन्यास लाग्यो । वैकुण्ठ भन्ने मूलपात्रले जीवन भोगाइका क्रममा सँगालेका अनुभूतिलाई कम्प्युटरमा लिपिबद्ध गरेकोमा उसको दुर्घटनामा मृत्यु भएपश्चात् प्रहरी निरीक्षक प्रतापले उसबाट पेनड्राइभ फेला पारेर पढेको देखाइएको छ । मिलनलाई फ्रेम स्टोरीमा राख्नुको औचित्य मैले चाहिँ देखिनँ । यो पात्र नभएको भए पनि उपन्यासलाई केही फरक पर्दैन । रह्यो वैकुण्ठको कुरा : धादिङ जिल्लाको कुनै गाउँको साधारण परिवारको यो मानिसको बाल्यकालका घटना, उसका एकतर्फी प्रेम, यौन भावनाको जागरण, उसमाथि थोपरिएको विकृत यौनको अनुभवको वर्णन गरिएको छ । कालो राम भन्ने खलपात्रले वैकुण्ठको मनोविज्ञानमा पारेको आघातमय अनुभवले वैकुण्ठलाई जीवनपर्यन्त पच्छ्याइरहन्छ । यसैकारण उ यौनको मामलामा सधैं चुक्छ । यौन तृप्तिको अभावका साथसाथै वित्ताभावमा भौंतारिएको वैकुण्ठ शीर्षकको यायावर हो । तर उसको यायावरी अस्तित्व खासै करुणोत्पादक देखिँदैन किनकि लेखकले कथानकमा दु:खको मूलका रूपमा रहेको यौनको प्रस्तुतिमा शिल्प प्रदर्शन गर्न सकेका छैनन् । अल्लि भद्दा बनेको छ यो । रक्सी र यौनका अनगिन्ती दृश्यावली पढ्दा घरिघरि त दिक्क लाग्यो मलाई । अनि कथामा विप्लवोन्मुख पंचायती राजनीतिक विकासक्रम देखाइएको छ तर त्यसको सान्दर्भिकता कथाले प्रस्ट्याएको जस्तो लागेन र समकालिकताको अभावले उपन्यास कमजोर भएको जस्तो लाग्यो मलाई (बहुदल, जनयुद्ध, गणतन्त्र एउटै अनुच्छेदमा टुंग्याइदिएका छन् लेखकले) । सम्राट उपाध्यायले
"बुद्धज अर्फन्स"
मा साधारण मानिसको कथा देशको राजनीतिक विकासक्रमसँग जोड्न गरेको असफल प्रयासकै झझल्को यसमा पनि देखिन्छ । उपन्यासका केही प्रसंग भने बलिया छन् । वैकुण्ठले केशरको घरमा भान्से भएर काम गर्दा भोगेका तीता अनुभवलाई यथार्थपरक रूपमा संवेदनालाई झंकृत गर्दै वर्णन गर्न लेखक सफल भएकै हुन् । जीवन धान्न उसले गरेका जागिरका सन्दर्भ राम्रै लागे । केही प्रश्नको उत्तर भने पाइएन । वैकुण्ठ काठमाडौंमा बस्दा उसकी पत्नी जुनेलीले कसरी जीवनयापन गरिन् भन्ने कुरा उपन्यासमा खुल्दैन । हिन्दी फिल्मी शैली घुसेको छ कथामा, खलपात्रलाई चुटेको दृश्यलगायतमा । फ्ल्यासब्याकका दोहोरिएका वाक्यमा त ठ्याक्कै बलिउडी झलक पाइन्छ । उपन्यास पठनीय भने छ । भाषा सुललित नै लाग्यो । हास्य प्रसंगहरू मन परे । सानो कलेवर पनि उचित छ । उपन्यास मैले एकदिनमै पढिसिध्याएँ । अझै मेहनत गरेर परिमार्जन गरेको भए उपन्यास अब्बल बन्नसक्थ्यो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment