नारायण ढकालको बहुचर्चित उपन्यास "प्रेतकल्प" पढेर सकेँ । सय वर्षअगाडिको राणाकालीन नेपाली समाज, विशेषगरी काठमाडौं उपत्यकाको काँठ क्षेत्र, को चित्रण गरिएको छ यसमा । सुधारवादी पण्डित बालकृष्णका आर्यसमाजी आन्दोलनले राणाहरूको चैन लुटेपछि उनीहरूले गरेको दमनको कथा बोकेको यो उपन्यास बहुआयामी पात्रका विभिन्न कथा उपकथामा कलात्मक पारामा बुनिएको छ । अल्लि संस्कृतनिष्ठ भाषाको प्रयोग यसमा भएको छ तर स्थानीय भाषालाई पनि दुरुस्तै उतारिएको छ, पात्रहरूको संवादका माध्यमले । विदेशबाट आयातित राजनीतिक सिद्धान्तले ल्याउने विखण्डन र मार्गभ्रष्टताको बारेमा अभिज्ञ भएकाले उपन्यासकारले यो कृतिमा आफ्नै प्राचीन सभ्यताका धरोहरका आधुनिक व्याख्याताको मार्गदर्शन पछ्याउने पण्डितलाई उपन्यासको नायक बनाएका छन् । जातपात, छुवाछूत, विधवाप्रतिको अमानवीय व्यवहार, नारीको तुच्छीकरण लगायतका सामाजिक विकृतिका विरुद्ध आर्यसमाजी धावा बोल्ने पण्डित बालकृष्णका प्रयास सार्थक पनि भएका छन् उपन्यासमा तर कतिपय चाहिँ अतिशयोक्ति पनि हुनपुगेका छन् । आधुनिक आदर्श समाजको परिकल्पनामा लेखक भावुक भएर बगेका जस्ता देखिन्छन् । तर समग्रतामा हेर्दा उपन्यासका धेरैजसो घटनाक्रम विश्वासयोग्य नै देखिन्छन् । चाकरीलाई योग्यताको सबभन्दा ठूलो कसी मानिने तत्कालीन निरंकुश शासनमा विद्रोहको झिल्को निकाल्ने पात्र तारिफयोग्य छन् । सबै पात्रप्रति पाठकको सहानुभूति जाग्छ र खलपात्रका रूपमा रहेका केही साधारण जनतासमेतले सहानुभूति जगाउँछन् । उपन्यासका वास्तविक खलपात्र त राणा शासक हुन् । भलै ती दुष्टहरू विजयी हुन्छन् उपन्यासमा तर उनीहरूविरुद्धको संघर्षको बीजारोपण भैसकेको छ जनतामा, उपन्यास सकिएपछि पाठकको मनमा यस्तै विचार पैदा हुन्छ । उपन्यासका बीचबीचमा आउने कथाकारको टिप्पणी भने मलाई खासै चित्त बुझेन, लीलावादी व्यर्थता जस्तो लाग्यो । अनि उपन्यासमा आउने संस्कृत श्लोक र तिनका अर्थमा केही अशुद्धि भेटिए भने कुनै घटनाक्रममा तार्किकताको अभाव पाइयो । यी सानातिना कमजोरीलाई छोडेर हेर्दा उपन्यास उत्कृष्ट छ ।
Subscribe to:
Post Comments (Atom)
1 comment:
वाराहकल्पमा भूतप्रेतको चलखेल बढेको र प्रेतकल्प भएको भनी लेखकले आत्माको मोटिफलाई उपन्यासमा प्रस्तुत गरेको बडा चित्त बुझ्यो !
Post a Comment