बुद्धिसागरको पहिचान "कर्नाली ब्लुज" उपन्यासले दह्रो गरी स्थापित गरिदियो र उनका कविता पनि उत्तिकै सशक्त छन् । "बुद्धिसागरका कविता" पुस्तकमा संग्रहित उनका कविताहरूमा रहेको शाब्दिक कोमलता, सरलता तथा सुरम्यताले मलाई छोयो ।
पहिलो कविता "यसपालिको सपना" को अन्त्यतिरको बिम्ब सबल छ ।
यसपालि आसुँझै तप्कियो भने सपना
म मुठीमा कसेर राख्नेछु,
जब मुठी खोल्नेछु -
सपना मोती बनेर खस्नेछ ।
यहाँ खलिल जिब्रानको हल्का प्रभाव देखें मैले ।
राजनीतिक चेतका कविता पनि बलिया छन् । "के के चाहिन्छ देश हुन?" कवितामा राष्ट्र (नेसन) र राज्य (स्टेट) को सूक्ष्म भिन्नतालाई केलाइएको छ ।
एउटा आफ्नै लिपिमा कोरिएको कानुन
आफ्नै विद्रोही अनुहारहरू
आफ्नै लयको एउटा राष्ट्रियगान
र, सीमा छुट्याइएको एउटा मधुरो धर्को
- भन्नुस् न मास्टर साप,
देश हुनलाई के यत्ति भए पुग्छ ?
जनताको विश्वासलाई शोषण गर्ने भ्रष्ट नेताहरूलाई चुनौती दिइएको "राष्ट्रगीत" को अन्तिम पंक्ति "अब सबै हिसाब-किताब हुन्छ" ले मनमा चीसो लहर दौडाउँछ ।
आशावादी कविता "यस्तो दिन आउनेछ" मा निहित यो पंक्ति "टुक्रा टुक्रा देश गाँसिएर नेपाल बन्नेछ" मा खंडित गराइएका हृदयलाई गाँस्ने परिकल्पना मर्मस्पर्शी छ र झन् अहिलेको सन्दर्भमा समयसापेक्ष पनि ।
प्रेमका कवितामा रहेका कोमलताले मुटुमा दह्रो डेरा जमाउछँन् ।
तिमी छ्यौ
र त छु म पनि
ले प्रेमीहरूबीचको अन्योन्याश्रित सम्बन्धलाई सरलतापूर्वक देखाएको छ ।
आमा र बालाई सम्झेर लेखिएका कविता पनि मीठा छन् ।
आनन्दको सरोवरमा डुबाउँछन् भावकलाई यी कविताले !
No comments:
Post a Comment