अमर न्यौपानेको नयाँ कृति "सेतो धर्ती" लाई उपन्यासभन्दा पनि काव्यात्मक अनुभवन्यास भन्नु अधिक उपयुक्त ठहर्ला । एउटी बालविधवा तारा भन्ने पात्रको जीवनानुभवको एकालाप हो यो पुस्तक । तारा जन्मेको समयदेखि मृत्युनिरको समयसम्म खिचिएको यो कथा पढ्नका लागि असीम धैर्य आवश्यक हुन्छ । बालविधवाको बिस्तारै बित्ने जीवन देखाउनका लागि लेखकले कथाको गतिशीलतामा अंकुश लगाएका हुन् कि भन्ने लाग्छ । ताराको बाल्यकालीन विवाह खेल, विधवा अवस्थाका घटना, सौतेनी आमाका तिरस्कार, देवघाटका एक्ला बसाइ, शारीरिक इच्छाका आँधीले ल्याएका पीडाले भरिएको छ पुस्तक ।
भाषा भने उत्कृष्ट छ । कविताको आत्मा छ भाषामा । अहिले नेपालीमा पत्रकारहरू साहित्यकार भएका छन् र तिनले साहित्यमा समेत अखबारी सपाट भाषा भित्र्याएका छन् । तर अमर साहित्यिक भाषाका राम्रा प्रयोक्ता हुन् र उनको प्रतिभाको कदर गर्नैपर्छ । बेलायती प्रख्यात उपन्यास लेखिका जर्ज इलियटको जस्तो कवितात्मक भाषा छ अमरको । जस्तो, उनले मूर्त र अमूर्त कुरालाई एकै ठाउँमा ल्याएर वर्णन गरेका छन्: "उनी मनको झोलाभरि पीर बोकेर फर्किइन् ।" यसले पुस्तकलाई सुललित बनाएको छ ।
यसका बाबजुद पुस्तकमा प्रशस्त कमजोरी छन् । सर्वप्रथम त यसको शैलीमै समस्या छ । प्रथम व्यक्ति कथावाचक शैली अपनाइएकाले उपन्यासमा तारा मात्र छाएकी छिन् र उनले बोल्ने संवादमा लेखक नै आरोपित छन् । जसरी तारा विभिन्न पुरुषमा तथा भगवान् कृष्णमा आफ्नो बालसखा गोविन्दलाई आरोपित गर्छिन्, लेखक पनि तारामा आफैँलाई आरोपित गरिदिन्छन् । ताराजस्ती अपठित नारीले अभिव्यक्त गर्न नसक्ने भारीभरकम शब्द लेखकले हालिदिएका छन् । अझ "एम्पायर" र "सुनामी" जस्ता अंग्रेजी शब्द पनि घुसेका छन् ताराका सोचाइमा जुन पूरै अयथार्थापरक देखिन्छ । बरु लेखकले तृतीय व्यक्ति वाचकको शैली अपनाएर यस्ता शब्द हालेको भए सुहाउँथ्यो । अनि जस्तो, ताराले आफ्ना विगत सम्झिदैँ गर्दा बाल्यकालका एक एक घटना मसिनो गरी सम्झिने अनि अल्लि बुढी भएपछि ती घटना बिर्सने देखाएको त मिलेन किनकि ताराले डायरी राखेकी छैनन् ।
गहिराइ भने पाइन्छ चिन्तनमा । नारी र पुरुषको अन्योन्याश्रित सम्बन्ध छ र एकको अभावमा अर्कोको जीवन नीरस हुन पुग्छ भन्ने विचार निहित छ यहाँ । दार्शनिक कुरा पनि राम्रोसँग आएका छन् । ताराले शारीरिक सन्तुष्टि नपाएकीले गर्दा उनको सन्यास दृढ नभएको तर उनका साथी यमुना र पवित्राको भने पाएकाले भएको भन्ने कुरा विश्वासयोग्य छ । पुस्तकमा छोटा छोटा अध्याय छन् जसको विन्यास ठीकै लाग्यो मलाई । तर कुनै कुनै अध्यायको औचित्य देखिएन, जस्तै हवाइजहाजवाला अध्याय ।
पुनरावृत्ति दोषको सिकार छ पुस्तक । अब यानाफोरिक फन्क्सनका रूपमा दोहोरिएका वाक्य त ठीकै हो तर अन्य दोहोर्याइलाई पुस्तकको कमजोरी नै मान्नुपर्छ । लेखकलाई त आनन्द आउला कुरा दोहोर्याइरहँदा तर पाठकलाई झ्याउ लाग्छ । यसबाट सम्पादनको कमी देखिन्छ । भाषा सम्पादन पनि राम्ररी नगरिएको देखियो । पुस्तकमा मुद्राराक्षस भरमार छन् । पुस्तक निकाल्न हतार गरेको जस्तो देखियो । चैतमा धेर पुस्तक निस्कन्छन् किनकि वर्षको अन्तमा निकाल्दा पुरस्कारको दौडमा हल्ला गर्न पाइन्छ । कतै यो पुस्तकको हतार त्यही मनोविज्ञानबाट त निर्देशित छैन ?
तार्किकताको पनि अभाव देखियो कुनै प्रसंगमा । जस्तो, पवित्रा भारतबाट देवघाट आउँदा उनकी छोरीको के भयो त ? उपन्यासको अन्त्य अल्लि दह्रो लागेन । अमर न्यौपानेले बुझ्नु जरुरी छ, राम्रो भाषाले मात्र उपन्यास उच्चकोटिको बन्दैन । कथोपकथन, हास्यचेत, गतिशीलता लगायतका अन्य औपन्यासिक सीपलाई पनि तिखार्नु जरुरी छ । उपन्यास भनेको महासागर हो, सानो तलाउ हैन । यत्तिको उच्चस्तरीय भाषाका धनी लेखकले यी पक्षमा मेहेनत गरे उनी नेपाली आख्यान साहित्यका धरोहर नै हुनेछन् भविष्यमा भन्ने मेरो विश्वास छ ।